नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
कला - साहित्य

वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ बजारमा

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ प्रकाशित भएको छ । बजारमा उपलब्ध भैसकेको यो कृति उहाँको पहिलो कथा कृति हो। उहाँले कथाका अलावा निबन्ध, नियात्रा, कविता तथा गीत लेखनमा समेत कलम चलाउँदै आउनुभएको छ। 

पेज टर्नर प्रालिद्वारा प्रकाशित कथा–कृतिमा वियोगीले विशेषतः पश्चिम नेपाल अर्थात् गण्डकी पानीढलो, त्यसमा पनि स्याङ्जा जिल्लाभित्र प्रचलित भाषिक सौन्दर्यका तथा माओवादी द्वन्द्वको पृष्ठभूमिमा सिर्जित नेपाली समाजका अनेक पाटालाई उत्खनन् गरेको पेज टर्नरका कार्यकारी निर्देशक जयराम तिमल्सिनाले बताउनुभयो ।

तिमल्सिनाका अनुसार यथार्थवादी धारका कथाहरूमा सामाजिक विभेद, असमानता तथा जनयुद्धका त्रासदी समेटिएका छन् । बालवयका स्वरलहरीमा मिसिएर आएका अनेक लोकभाकाका मुर्छना र लोक–संस्कृतिको सुगन्ध पनि पाइन्छ । स्याङ्जाको टाकुरामा टेकेर उडेका भावना मध्यपश्चिम, सुदूरपश्चिम र पूर्वतिरसमेत डुल्न भ्याएका छन् । पर्यावरणीय चेत र वस्तुवादी धार कथाका मुख्य सार हुन् ।

करिब २ दशकदेखि पत्रकारितामा सक्रिय वियोगीसँग विगतमा नेपाल समाचारपत्र, नागरिक दैनिक लगायत विभिन्न दैनिक तथा साप्ताहिक पत्रिकामा काम गरेको अनुभव रहेको छ । हाल उहाँ नेपालको पहिलो ऊर्जा सम्बन्धी अनलाइन तथा अर्धवार्षिक पत्रिका ‘ऊर्जा खबर’को सम्पादकको जिम्मेवारीमा हुनुहुन्छ ।

साहित्य लेखनमा विशेष रुची राख्ने वियोगी विशेषतः कथा र निबन्ध विधामा कलम चलाउनुहुन्छ । ‘कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८’ मा उहाँको निबन्ध ‘कोरोनाको कर्खा’ प्रथम भएको थियो । त्यस्तै, ‘डिसहोम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता’को पहिलो संस्करणमा उहाँको ‘टाउको’ शीर्षकको कथा दोस्रो भएको थियो । उहाँको शब्द सिर्जनामा करिब एक दर्जन जति आधुनिक तथा लोक–आधुनिक गीत रेकर्ड भएका छन् ।

‘सत्यम्’ कथासङ्ग्रह यही जेठ २४ गते, शनिबार एक समारोहका बीच काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा लोकार्पण गरिने प्रकाशकले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्