युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको पहिलो कृतिको रूपमा प्रकाशित मगर (ढूट) भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण तथा विमर्श कार्यक्रम- २०८३ सम्पन्न भएको छ ।
नेपाल मगर लेखक सङ्घ स्याङ्जाको आयोजनामा मगर (ढूट) भाषा साहित्यको इतिहासमै ऐतिहासिक महत्त्वको विशेष अर्थ राख्ने पुस्तकको रूपमा प्रकाशित भएको आखरहील्मा (अक्षराङ्क) को लोकार्पण तथा विमर्श कार्यक्रम- २०८३ शनिवार वालिङ बहुमुखी क्याम्पसको सभाकक्षमा सम्पन्न भएको हो ।
नेपाल मगर लेखक सङ्घ स्याङ्जाका अध्यक्ष युवा स्रष्टा जी.बी. रानाको अध्यक्षतामा सम्पन्न भएको समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा नेपाल मगर सङ्घका केन्द्रीय उपाध्यक्ष हर्क आले मगरको उपस्थिति रहेको थियोे । नेपाली लेखक सङ्घका केन्द्रीय सचिव युवा स्रष्टा तथा साहित्यिक अभियन्ता एवम प्रस्तुत पुस्तकका नेपाली भाषा सम्पादक मिलन समीर, प्रस्तुत पुस्तकका भूमिका लेखक नेपाल मगर लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष रुद्र श्रीस मगर, प्रगतिशील लेखक सङ्घ स्याङ्जाका अध्यक्ष अग्रज स्रष्टा अनन्त अर्याल र नेपाल मगर सङ्घका केन्द्रीय सदस्य गीता रखाली मगरले समीक्षा गरेका थिए।
कार्यक्रममा नेपाल मगर सङ्घ स्याङ्जाका सचिव धनबहादुर थापा, मगर लेखक सङ्घ गण्डकी प्रदेशका अध्यक्ष खड्क पामी आले, नेपाल मगर सङ्घ गण्डकी प्रदेश अध्यक्ष दानबहादुर थापा र नेपाल मगर सङ्घका केन्द्रीय सदस्य लक्ष्मी थापा मगर लगायतले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।
बुवा लोकबहादुर राना र आमा स्वर्गीय नैकली रानाको कोखबाट वि.सं. २०४० फागुन १२ गते हालको गल्याङ नगरपालिका- १, सारङ्ज्ञा, याँकीह्या, स्याङ्जामा जन्मिएका जी.बी. रानाले जनसङ्ख्या विषयमा स्नातकोत्तर गरेका छन् ।
२०६२ जेठ १३ देखि शिक्षण सहजकर्ताको भूमिकामा क्रियाशील राना हाल दिसिङकोट आधारभूत विद्यालय, चापाकोट नगरपालिका- ३, कमिरे, स्याङ्जामा प्रधानाध्यापकको रूपमा सेवारत रहेर सिर्जना कर्ममा क्रियाशील छन् । उनी गल्याङ प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद सदस्य र नेपाली लेखक सङ्घ स्याङ्जाको सदस्यको रूपमासमेत क्रियाशील छन् ।
बुवा इन्द्रबहादुर थापा र आमा ज्ञानकुमारी थापाको कोखबाट २०४४ बैशाख १० गते हालको चापाकोट नगरपालिका- ५, साहान्दी, स्याङ्जामा जन्मिएकी सावित्रा थापाले अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेकी छन् । २०६५ पुस १३ देखि शिक्षण सहजकर्ताको भूमिकामा क्रियाशील थापा हाल महेन्द्र माध्यमिक विद्यालय, चापाकोट नगरपालिका- ३, दिसिङ्कोट, स्याङ्जामा माध्यमिक तह अङ्ग्रेजी भाषा विषय शिक्षकको रूपमा सेवारत छन् । उनी मगर लेखक सङ्घ स्याङ्जाको सहसचिवको रूपमा समेत क्रियाशील छन् ।
लेखकद्वयको यो पहिलो कृति हो । प्रस्तुत कृति नेपाल मगर लेखक सङ्घ, स्याङ्जाले प्रकाशन गरेको हो । पुस्तकको नेपाली भाषा सम्पादन मिलन समीर गरेका हुन् । मगर (ढूट) अक्खालिपि र भाषा शिक्षणलाई सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको प्रस्तुत पुस्तकमा सिकारुको उमेर र सिकाइको स्तरअनुसारका सामग्री समावेश गरिएको छ ।
नेपाल मगर लेखक सङ्घ स्याङ्जाकी सहसचिव सावित्रा थापाद्वारा सहजीकरण गरिएको समारोहमा आयोजकको तर्फबाट प्रमुख आमन्त्रित व्यक्तित्व र वक्ताहरूलाई मायाको चिनोसहित सम्मान गरिएको थियोे ।