नेभिगेशन
राजनीति

नेपाली कांग्रेसको १५औँ महाधिवेशन : पाँच पालिकामा सर्वसम्मत, छ पालिकामा निर्वाचनमार्फत नयाँ नेतृत्व

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका ११ स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएको छ । पाँच पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ भने छ  पालिकामा निर्वाचनमार्फत नयाँ नेतृत्व चुनिएको छ ।

नेपाली कांग्रेस स्याङ्जाका जिल्ला उपसभापति केदार काफ्लेका अनुसार गल्याङ नगरपालिका, बिरुवा गाउँपालिका, हरिनास गाउँपालिका, फेदीखोला गाउँपालिका र आँधीखोला गाउँपालिकामा पालिका समिति निर्विरोध चयन भएको हो ।

वालिङ, चापाकोट, पुतलीबजार, भीरकोट नगरपालिका, अर्जुनचौपारी र कालिगण्डकी गाउँपालिकामा भने निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ ।

११  पालिकामा को-को बने सभापति ?

आँधीखोला गाउँपालिकामा अनिल ढकाल, बिरुवा गाउँपालिकामा लालबहादुर हमाल, हरिनास गाउँपालिकामा बालकृष्ण सिग्देल, फेदीखोला गाउँपालिकामा महेन्द्र थापा र गल्याङ नगरपालिकामा श्यामप्रसाद बस्याल सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् ।

अर्जुनचौपारी गाउँपालिकाको सभापतिमा हरिप्रसाद काफ्ले निर्वाचित भएका छन् । उनले ९९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शालिग्राम काफ्लेले ५६ मत पाएका थिए । कुल प्रतिनिधि एक सय ६२ मा एक सय ५८ मत खसेको थियो ।

पुतलीबजार नगरपालिकाको सभापतिमा सुरजकुमार अधिकारी निर्वाचित भएका छन् । अधिकारीले २५९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी लेखनाथ शर्माले १९१ मत पाएका थिए ।

त्यस्तै, नगर सचिवमा ख्यामकान्त अर्याल निर्वाचित भएका छन् । उनले २४५ मत प्राप्त गर्दा प्रतिस्पर्धी रामप्रसाद लम्सालले १९१ मत पाएका थिए । सहसचिवमा पूर्णबहादुर गुरुङ दोर्जेले २९७ मत प्राप्त गरी निर्वाचित हुँदा गौतमसिंह ठकुरीले १४४ मत पाएका थिए । कुल प्रतिनिधि चार सय ९६ मा चार सय ५७ मत खसेको थियो ।

वालिङ नगरपालिकाको सभापतिमा पदमराज गुरुङ निर्वाचित भएका छन् । उनले २६९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बोधराज कुँवर ‘राजु’ ले २६६ मत पाए । गुरुङ तीन मतको झिनो अन्तरले नगर सभापतिमा निर्वाचित भएका हुन् । कुल प्रतिनिधि पाँच सय ५९ मा पाँच सय ४२ मत खसेको थियो ।

चापाकोट नगरपालिकाको सभापतिमा विक्रम सारु निर्वाचित भएका छन् । सारुले २४२ मत प्राप्त गर्दा प्रतिस्पर्धी विश्वास पुरीले ९८ र रामबहादुर श्रेष्ठले ५८ मत पाएका थिए ।

चापाकोटको सचिवमा विश्वप्रकाश भट्टराई निर्वाचित भएका छन् । उनले २२३ मत प्राप्त गर्दा प्रतिस्पर्धी दयाराम भण्डारीले ९१ र हरि डोटेलले ७१ मत प्राप्त गरेका थिए । कुल प्रतिनिधि चार सय २० मा चार सय ४ मत खसेको थियो ।

भीरकोट नगरपालिकाको सभापतिमा नन्दलाल खनाल निर्वाचित भएका छन् । खनालले १९४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ताराप्रसाद अर्यालले १६७ मत पाएका थिए । खनाल २७ मतको अन्तरले नगर सभापतिमा निर्वाचित भएका हुन् । कुल प्रतिनिधि तीन सय ८७ मा तीन सय ८५ मत खसेको थियो ।

कालीगण्डकी गाउँपालिकाको सभापतिमा नारायण भट्टराई निर्वाचित  भएका  छन् । सभापति पदको लागि भएको निर्वाचनमा भट्टराईले ११७ मत प्राप्त गरी विजयी भएका हुन्  ।  उनका प्रस्तिस्पर्धी  चक्रपाणी पाण्डेले १०१ मत प्राप्त गरेका थिए । कुल २४३ मतदाता रहेकोमा २२५ मत खसेको थियो  भने ७ मत बदर भएको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

रोकाहा स्याङ्गजाका सक्रिय पत्रकार हन् ।

भर्खरै