नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाचार

स्याङ्जाको भीरकोटमा फल्यो स्याउ

स्याङ्जाको भीरकोट नगरपालिका – ९ चराङ गहतेमा स्याउ उत्पादन थालिएको छ । यहाँ दुई वर्ष अगाडि परीक्षणका लागि स्याउ लगाउन सुरु गरिएको थियो ।भीरकोट नगरपालिका – ९ का वडा सदस्यसमेत रहेका चराङ गहतेका ललित गुरुङ र ईमानप्रसाद गुरुङले परीक्षणका लागि लगाएको स्याउ यसवर्ष लटरम्म फलेको छ ।

'दुई वर्ष अघि स्याउका बेर्ना किनेर परीक्षणका लागि लगायौँ', ललितले भन्नुभयो, 'फल्छ की फल्दैन भन्ने अन्योल थियो । अहिले लटरम्म फलेको छ ।' गत वर्ष ५/७ वटा दाना मात्र फलेको उहाँले  बताउनुभयो । स्याउका लागि यहाँको हावापानी अनुकुल रहेको पाइएको छ । समुन्द्री सतहदेखि झण्डै एक हजार ५०० मिटर उचाइमा रहेको चराङ गहतेमा परीक्षणका लागि लगाइएको स्याउले राम्रो उत्पादन दिन थालेपछि अब व्यावसायिक रूपमा स्याउ उत्पादन गर्न थालेको उहाँले बताउनुभयो।

'अब स्याउका बेर्ना ल्याएर व्यावसायिक रूपमा अगाडि बढ्ने तयारीमा छौँ', ललितले भने । स्याउको व्यावसायिक उत्पादनबारे कृषि प्राविधिकसँग समन्वय छलफल गरिरहेको उहाँले बताउनुभयो।

चराङ गहतेमा स्याउ उत्पादन सफल भएसँगै अहिले त्यहाँका स्थानीय खाली रहेका जमिनमा व्यावसायिक रूपमा  स्याउ खेती गर्नेतर्फ आकर्षित हुन थालेका छन् ।

कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले यसबारे जानकारी प्राप्त नभएको बताउनुभयो । 'उत्पादन भएको स्याउको गुणस्तर पत्ता लगाउँदै छौँ', हमालले भन्नुभयो ।  रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्