नेभिगेशन
समाचार

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह

स्याङ्जामा ट्राफिक सप्ताह सुरू भएको छ।सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि जनसचेतना जगाउने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको आयोजनामा ट्राफिक सप्ताह -२०८२ आइतबारदेखी सुरु भएको हो। 

ट्राफिक सप्ताहको अवसरमा आइतबार बिहान बाजागाजासहित स्याङ्जा सदरमुकाममा प्रभातफेरी गरिएको थियो । पुतलीबजार नगरपालिका -१ प्रगतिनगरदेखी सुरु भएको प्रभातफेरी विभिन्न चोकहरु हुँदै सिटीहलसम्म र्‍याली निकाली औपचारिक कार्यक्रममा परिणत गरिएको थियो ।

स्याङ्जाको सदरमुकामस्थित सिटीहलमा परिणत ट्राफिक सप्ताहको औपचारिक कार्यक्रममा स्याङ्जा प्रमुख जिल्ला अधिकारी, स्याङ्जा प्रहरी प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी, सरकारी कर्मचारी, विभिन्न पालिकाका प्रमुख/उपप्रमुख, शिक्षक, विद्यार्थी, सर्वसाधारण, यातायात व्यवसायी, सवारी चालकलगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसहित करिब ६०० जनाको उपस्थितिमा पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले  उद्घाटन गर्नुभएको  थियो ।

उक्त ट्राफिक सप्ताहको शुभारम्भ गर्दै रेग्मीले सानो गल्ती र लापरबाहीले ठूलो जोखिम र क्षति निम्त्याउने भन्दै सरोकारवाला सम्पूर्णलाई ट्राफिक नियमको पालना गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले ट्राफिक नियमको पालना गरेर सभ्य नागरिकको परिचय दिन आग्रह गर्दै सरोकारवाला सबैले सामुहिक प्रयास गरे सडक दुर्घटना न्यूनीकरण हुने बताउनुभयो।

सप्ताह व्यापी ट्राफिक सचेतना अभियानको शुभारम्भ कार्यक्रममा आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेल, निमित्त प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, स्याङ्जा प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपाने, स्याङ्जा-गण्डकी बस यातायात प्रालिका प्रबन्ध निर्देशक महेश बहादुर थापा 'गणेश'लगायतका वक्ताले सवारी चालक, सवारी यात्रु, पैदल यात्रुहरुले अनुशासन कायम गरे सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो।

ट्राफिक सप्ताहलाई सफल पार्न ट्राफिक प्रहरीलाई आवश्यकता अनुसार जनशक्ति उपलब्ध गराउनुपर्ने, आधुनिक प्रविधिका प्रयाप्त उपकरणसहित प्रविधिमैत्री सेवाका लागि आवश्यक सामाग्री उपलब्ध गराउनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले प्रदेशभर एकैसाथ सुरु भएको ट्राफिक सप्ताह सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको बारेमा व्यापक जनचेतना जगाउने गरी स्याङ्जाका ११ वटै पालिकामा पुगेर विभिन्न सचेतनामूलकलगायतका कार्यक्रम गरि मनाइने बताउनुभयो ।

यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक भुपेन्द्र प्रसाद गौलीले ट्राफिक सप्ताहमार्फत दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालनालाई प्रभावकारी बनाइने बताउनुभयो । सप्ताहलाई यात्रु, चालक र प्रहरीबीचको सम्बन्धलाई नजिक बनाउने, सडक यात्रालाई सुरक्षित बनाउने र दुर्घटना न्यूनीकरणमा केन्द्रित गरिएको कार्यालय प्रमुख गौलीको भनाइ छ ।

उहाँले सप्ताहमा लामो/छोटो दुरीका यात्रुवाहक बसहरुमा सचेतनामूलक स्टिकर टाँस गर्ने, जनचेतनामूलक पर्चा/पम्पलेट वितरण गर्ने, चोकचोकमा स्वयंसेवक परिचालन गरी सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउनेलगायतका कार्यक्रम हुने बताउनुभयो।

बजार क्षेत्रमा पार्किङ व्यवस्थापनमा सहजीकरण गर्ने, ग्रामीण सडक लक्षित प्रशिक्षण, सवारीसाधनको भाडा अनुगमन गर्ने, यात्रु आरक्षण सिटको कार्यान्वयनबारे अनुगमन गर्ने, सडक प्रयोग सम्बन्धी चालक, यात्रु, सर्वसाधारण र सरोकारवालालाई प्रशिक्षण, रक्तदानलगायतका कार्यक्रम ट्राफिक सप्ताहमा तय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्