नेभिगेशन
समाचार

कालिगण्डकीमा सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा

कालीगण्डकी गाउँपालिकाले निःशुल्क नागरिक स्वास्थ्य बीमा गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ ।     गत आर्थिक बर्षबाट पालिकाका हरेक नागरिकको एक लाख सम्मको स्वास्थ्य बिमा गर्ने नीति लिएकोमा आर्थिक वर्ष २०८२/८३ को १७औं अधिवेशनको नीति तथा कार्यक्रममा समेत गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले निरन्तरता दिनु भएको हो । 

घर घरमा स्वास्थ्य परिक्षण, विद्यार्थीको निःशुल्क परीक्षण, गर्भवतीलाई अस्पतालसम्म आउन निशुल्क एम्बुलेन्स सेवा लगायतका नीति पालिकाले लिएको छ ।  सरकारी तलब भत्ता लिने सबैका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने नीतिलाई कडाइ गरेको छ । विद्यालय वरिपरि मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्री वितरणलाई पूर्णरूपमा रोक लगाउने नीति तथा कार्यक्रममा भनिएको छ । 

टोलटोलमा खेल मैदान निर्माण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई मासिक भत्ताको व्यवस्था यहाँ गरिने छ । मगर भाषालाई गाउँपालिकाको दोस्रो कामकाजीको भाषाको रूपमा विकास गरिने भएको छ । 

बाँझो जमिन राख्ने कार्यलाई निरुत्साहित गर्न भूमि बैंकको स्थापना गरि सो मार्फत रोजगारी सिर्जना गर्ने नीतिलाई थप व्यवस्थित बनाइने छ भने बाँझो जमिन राख्दा जरिवाना तिर्नुपर्ने छ । कृषक वर्गीकरण गरी कृषक पेन्सन कार्यक्रम लागू गरिने छ भने सुक्ष्म जैविक मलको कार्यक्रम सबै वडामा सुरुवात गरिनेछ ।

आँधीखोलामा गाउँगाउँमा कालोपत्रे

आँधीखोला गाउँपालिका गाउँसभाको १७ औं अधिवेशनले गाउँ गाउँमा कालोपत्रे मोटरबाट पुर्‍याउने नीति लिएको छ । गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले वडाको केन्द्रमा कालोपत्रे पुगेको बताउँदै अब हरेक टोलमा कालोपत्रे लगिने नीति तथा कार्यक्रममा बताउनु भएको हो । 

सडक निर्माणका काममा कम्तीमा ५० प्रतिशत स्टक्चरको काम गर्ने नीति अवलम्बन गरिने र उपभोक्ता समितिद्वारा संचालन गरिने आयोजनाहरु हरेक वर्षको फाल्गुन मसानभित्रै सम्पन्न गराउने नीतिलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा भनिएको छ ।

यहाँ आर्थिक विकासको लागि कृषि क्षेत्रमा प्राथमिकता रहने छ भने कृषकको जीवनस्तरलाई समुन्नत बनाउनको लागि कृषिजन्य उत्पादन, उत्पादकत्व वृद्धि, विविधीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायीकरण एवं बजारीकरणका लागि “उत्पादनमा यान्त्रीकरण सहकारीमार्फत बजारीकरण” कार्यक्रम सञ्चालन गरिने छ । 

उत्पादित कृषि उपजहरुलाई हरेक वडामा संकलन केन्द्र बनाई सहकारीसंगको साझेदारीमा बजारीकरण गर्ने नीति गाउँपालिकाले लिएको छ । पर्यटन मार्फत पालिका प्रबद्र्धनका लागि अन्धाअन्धी र श्रवणकुमार क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रबद्र्धनलाई टेवा पु¥याउन धार्मिक पर्यटनको माध्यममार्फत आँधीखोलाको पहिचान अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्न पहल गरिनेछ ।  

महिनाको अन्तिम शुक्रबारलाई “हेप्पी फ्राइडे“को रुपमा अवलम्बन गरी विद्यार्थीको व्यावहारिक सीप र क्षमता विकासका क्रियाकलापहरु सञ्चालन गरिनेछ ।

 

 बिरुवामा पूर्वाधार तथा कृषिमा प्राथमिकतामा

बिरुवा गाउँपालिकाको १७ औं अधिवेशनमा पूर्वाधार तथा कृषिलाई पहिलो प्राथमिकतामा राखेको छ । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले पूर्वाधार विकासमा स्थानीय सडक तथा झोलुङ्गे पुल निर्माण र भवन तथा शहरी विकास, उर्जा, सञ्चारलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिनु भएको हो । 

उद्योग तथा पर्यटन, कृषि तथा पशुपंक्षी, सहकारी, गरिवी निवारण तथा रोजगारीका क्षेत्र नीति तथा कार्यक्रममा समेटिएको छ भने शिक्षा, संस्कृति, युवा तथा खेलकुुद लैङ्गिक समानता र सामाजिक समावेशिकरण, स्वास्थ्य, खानेपानी तथा सरसफाई, महिला, बालबालिका, अपाङ्ग, जेष्ठ नागरिक सम्मानलगायत समावेश गरिएको छ ।

कृषि तथा पशुपंक्षी, स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यटन एवम् उद्यमशीलता लगायतका विषय समेटेर आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । 

पुतलीबजारमा शिक्षा क्षेत्रलाई प्राथमिकता 

पुतलीबजार नगरपालिकाको १७ औं अधिवेशनले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ । 

नगरप्रमुख तुलसीराम रेग्मीले नगरपालिकाको पाँच वर्षे शैक्षिक रणनीति सहित नगर शिक्षा योजना तयार गर्ने, विद्यार्थीहरुमा पठन तथा लेखन शैली विकास गर्न शिक्षण सिकाइमा सुधारका लागि रियल प्लान तथा आवधिक परीक्षाहरुमा जोड दिनु भएको छ ।      आवश्यकताका आधारमा लोकसेवा/शिक्षक सेवा आयोग तयारी कक्षा, कम्प्युटरलगायत ज्ञान सीपको विकास, करियर काउन्सिलिङ तथा सूचना प्रविधि सम्बन्धी आधारभूत तालिम सञ्चालन गर्ने नीति रहेको छ ।

नगरभित्रका लक्षित वर्ग कुमाल, बोटे, माझी, गन्धर्व र नगरपालिकाबाट ग वर्गको अपाङ्गताको परिचयपत्र भएका नगरबासी, वादी, महिला स्वयंसेविका, सरसफाइकर्मीहरुको निःशुल्क स्वास्थ्य बीमा गर्ने नीति अगाडि सारेको छ ।

 दुई वर्षसम्मका बालबालिकालाई पोषण प्रवद्र्धन, जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँचसहित औषधि वितरण, निःशुल्क आँखा शिविर, मोतियाबिन्दु शल्यक्रिया, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने नीति छ ।

नगरपालिकामा हुने कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन प्राथमिकताका साथ अगाडि बढ्ने, कृषि उत्पादनलाई कृषि पर्यटन साथै पर्यापर्यटनको विकास गर्ने नीति अवलम्बन गरिनेछ । 

भीरकोटमा पूर्वाधारलाई प्राथमिकता

भीरकोट नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा पूर्वाधारलाई प्रथामिकता राखेको छ । 

नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले रणनीतिक महत्त्वका मुख्य सडकहरू बयरघारी– सुन्दर बजार– मोहनडाँडा– हातेमालोचोक सडक र बयरघारी बिरुवा सडकको स्तरोन्नतिलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिनु भएको हो । सबै वडाका ग्रामीण सडकलाई स्तरोन्नति र सरसफाई गरि बाह्रै महिना सवारी  चल्ने बनाउने लक्ष्य नीति तथा कार्यक्रममा लिइएको छ ।

आँधीखोला तटबन्धन, कृषि औजार र सिंचाइमा ५० प्रतिशत अनुदान,  भीरकोट पार्क, गडहरे गुफा, सुन्दरचौर , स्वरेक मैदान जस्ता पर्यटकीय स्थलको व्यवस्थापन, भीरकोट कृषि विकास परियोजनालाई नीति तथा कार्यक्रममा समेटिएको छ । 

यस्तै विपद् व्यवस्थापन, बालमैत्री स्थानीय शासनको दिगोपना,  फोहरमैला व्यवस्थापन,  शैक्षिक गुणस्तर वृद्धि , गाई संरक्षण तथा गौशाला व्यवस्थापनलाई नीति तथा कार्यक्रममा समेटिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्