नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाचार

जन्मभूमिको स्थानीय पाठ्यक्रममा सन्दीप लामिछानेको जीवनकथा

विश्व क्रिकेटमा चम्किएको सन्दीप लामिछानेको प्रेरणादायी जीवनकथा अर्जुनचौपारी गाउँपालिकाको स्थानीय पाठ्यक्रममा समावेश गरिएको छ । अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरको तालपोखरीमा वि.सं. २०५७ साउन १८ गते जन्मिएका सन्दीप अहिले विश्व क्रिकेटमा नेपालको चम्किलो पहिचानका रूपमा परिचित हुनुहुन्छ ।

बाल्यकालमा ‘सन्दे कान्छा’ उपनामले चिनिने उहाँ पाँच सन्तानमध्ये कान्छा छोरा हुनुहुन्छ । भारतीय रेल्वे सेवामा कार्यरत पितासँगै भारतमा बाल्य शिक्षा प्राप्त गर्नुभएका सन्दीपले त्यहीँ क्रिकेटसँग पहिलो परिचय पाउनु भएको थियो। कक्षा चारपछि नेपाल फर्किनुभएका  उहाँले चितवन क्रिकेट एकेडेमीमा पूर्व कप्तान राजु खड्कासँग प्रशिक्षण लिनुभएको थियो।

सन् २०१६ (वि.सं. २०७३ वैशाख ४) मा नामिबिया विरुद्धको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका सन्दीपले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय ख्याति कमाउनु भयो। विशेषगरी दायाँहाते स्पिन बलिङमा निपुण उहाँले ४२ खेलमै ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने विश्व कीर्तिमान राख्न सफल हुनुभएको थियो।

सन्दीप नेपालका मात्र होइन, अन्तर्राष्ट्रिय क्रिकेट लिगहरूमा पनि चर्चित हुनुहुन्छ। उहाँ आईपिएलमा खेल्ने पहिलो नेपाली खेलाडीका रूपमा दिल्ली क्यापिटल्सबाट खेल्नुभयो। साथै, बङ्गलादेश, पाकिस्तान, आयरल्यान्ड, युएई लगायतका टिमसँगको खेलमा निर्णायक भूमिका निर्वाह गर्दै उहाँले नेपाललाई विश्व क्रिकेट नक्सामा स्थापित गराउनु भएको  छ।

नेपाललाई विश्वसामु चिनाउने सपना बोकेर क्रिकेट रोज्नु भएका सन्दीपको खेल यात्रा अझै ऊर्जावान र आशालाग्दो देखिन्छ। क्रिकेटमार्फत नाम र दाम कमाउनु भएका उहाँ वातावरण र अवसर मिलेमा क्षमता कस्तो चम्किन्छ भन्ने जीवन्त उदाहरण हुनुहुन्छ।

अर्जुनचौपारी गाउँपालिकाले उहाँको यो अद्वितीय यात्रा र योगदानलाई स्थानीय पाठ्यक्रममा आधारित कक्षा ४ को "हाम्रो अर्जुनचौपारी" भन्ने पाठ्यपुस्तकमा समावेश गरिएको गाउँपालिका अध्यक्ष तिवारीले बताउनुभयो । स्थानीय पाठ्यपुस्तकमा समावेश गरिएको क्रिकेटर लामिछानेको जीवनकथा गाउँपालिका अध्यक्ष तिवारीले नै लेख्नु भएको हो।

साथै, गाउँपालिका अध्यक्ष तिवारीले सन्दीप लामिछानेको सम्मानमा उहाँं जन्मिएकै वडाको थाप्लेमा गाउँपालिकाले रङ्गशाला बनाउन सुरू भएको जानकारी दिनुभयो । डाँडाको टुप्पो तर समथर रहेको सार्वजनिक गौचरनलाई क्रिकेट मैदान बनाउने गरी आर्थिक वर्ष २०८१/८२ देखि गाउँपालिका कार्यालयको लगानी तथा अगुवाइमा स्थानीयहरूको जनश्रमदानसहित रङ्गशाला निर्माण गर्न थालिएको छ ।

समुद्री सतहदेखि १९०७ मिटरको उचाइमा रहेको यो निर्माणाधीन मैदानलाई ‘नाइन्टिन ओ सेभेन अरिना’ नाम दिएर क्रिकेट रङ्गशाला निर्माण सुरू गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

रोकाहा स्याङ्गजाका सक्रिय पत्रकार हन् ।