स्याङ्जाको भीरकोट नगरपालिकामा बुधबार मध्यरातमा ( २.३० बजे ) भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीरकोट नगरपालिका वडा नं २ निवासी अनिल गुरूङ रहेका छन्। वडा नं. १ प्रगतीटोल स्थित भीरकोट भिल्ला रेष्टुरेन्ट अगाडि भएको घटनामा धारिलो हतियार प्रयोग गरेर सुवर्ण लुइँटेललाई गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले २९ वर्षीय अनिल गुरूङलाई बयरघारीबाट पक्राउ गरेको हो।पिडितको किटानी जाहेरीका आधारमा घटनामा संलग्न गुरूङलाई वडा नं २ बयरघारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुमबाट खटिएको प्रहरी टोलीले गुरूङलाई बुधबार दिउसो पक्राउ गरेको थियो।
गम्भिर घाइते भएका लुइँटेल वालिङ नगरपालिका वडा नं १४ का स्थायी बासिन्दा हुन्। घटनामा ३४ वर्षीय सुवर्ण लुईटेलको टाउको, घाँटी लगायत अन्य सम्बेदनशिल अंगमा गम्भीर चोट लागेको छ। उनको चरक अस्पताल पोखरामा उपचार भैरहेको बताइएको छ।
घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका गुरुङलाई ज्यान मार्ने उद्योग कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान तथा कानूनी कारबाही प्रकृया अगाडी बढाईएको र अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो। आरोपी पक्राउ परेपनि प्रहरीले उनीहरूबिचको विवादको कारण भने खुलाएको छैन।