नेभिगेशन
सुरक्षा/अपराध

जनप्रिय मा.वि. मा सशस्त्र प्रहरीको विपद् सचेतना कार्यक्रम

सशस्त्र प्रहरी बल, गुल्म नं. ३० वालिङले  जनप्रिय माध्यमिक विद्यालय, भीरकोट–५  मा विभिन्न विपद् तथा जोखिम न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

सचेतना कार्यक्रममा विपद् व्यवस्थापन, बाढी तथा पहिरोबाट प्रभावित व्यक्तिको उद्धार, आत्महत्या रोकथाम, आगलागी नियन्त्रण तथा उद्धार, भूकम्पका समयमा अपनाउनुपर्ने सुरक्षा सावधानी, गहिरो खोँचमा खसेका व्यक्तिको उद्धारलगायतका विषयमा प्रशिक्षण तथा सचेतना प्रदान गरिएको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा सशस्त्र प्रहरीका प्रशिक्षकहरूले विभिन्न विपद्का अवस्थामा अपनाउनुपर्ने उद्धारका तरिका तथा प्राथमिक सुरक्षा उपायहरू प्रत्यक्ष प्रयोगात्मक रूपमा प्रदर्शन गरेका थिए। विद्यार्थी तथा सहभागीहरूले उद्धारका विभिन्न प्रविधि नजिकबाट अवलोकन गर्नुका साथै आवश्यक जानकारीसमेत हासिल गरेका थिए।

कार्यक्रमले विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकमा विपद्को समयमा अपनाउनुपर्ने सावधानी, उद्धारका आधारभूत विधि तथा मानवीय सुरक्षासम्बन्धी ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा  सशस्त्र प्रहरी बल, वालिङका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर बस्नेत तथा प्रशिक्षक परमबन्धु अर्यालसहित गुल्म नं. ३० का ११ जना सशस्त्र प्रहरीको सहभागिता रहेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चोलाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीरकोट–५ का वडाध्यक्ष कृष्णबहादुर थापाको पनि  उपस्थित थियो। शिक्षक–अभिभावक संघका अध्यक्ष राजेन्द्र अर्याल, विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार खाँण,वि.व्य.स. का वर्तमान तथा पूर्व प्रतिनिधिहरु,स्थानीय शैक्षिक तथा सामाजिक व्यक्तित्वहरु,लगायत विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा प्रधानाध्यापक राजेन्द्रकुमार खाँणले सुरक्षा निकायले विद्यार्थीहरूलाई सानै उमेरदेखी नै विपद् व्यवस्थापनका विषयमा महत्त्वपूर्ण जानकारी प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए। 

विद्यालय र सुरक्षा निकायबीचको सहकार्यमा सञ्चालन गरिएको यस्ता कार्यक्रमले समुदायस्तरमै विपद् जोखिम न्यूनीकरण र जनचेतना अभिवृद्धिमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्