भीरकोट नगरपालिकाले २ वटा महत्त्वपूर्ण कानुन निर्माण गरेको छ। नगरपालिकाको १७ औँ नगरसभाले भीरकोट नगरपालिकाको विज्ञापन (व्यवस्थापन एवं नियमन विधेयक -२०८२ र आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२ पारित गरेको हो ।
विधयेक पारित भए संँगै भीरकोट नगरपालिकामा कुनै वस्तु वा सेवाको बजार प्रवर्धन, बिक्रीवितरण वा प्रचारप्रसारको लागि गरिने बाह्य विज्ञापन र पालिकाबाट अनुमती प्राप्त गरि संचालनमा रहेका संचार माध्यमबाट गरिने विज्ञापन नियमित, व्यवस्थित र पारदर्शी हुने नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिनुभयो।
सभाले पारित गरेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२ मा स्थानीय संचित कोषको सञ्चालन तथा व्यवस्थापन, बजेट तर्जुमा, निकासा तथा खर्च, आर्थिक कारोबारको लेखाङ्कन तथा प्रतिवेदन , आन्तरिक नियन्त्रण , लेखापरीक्षण तथा अन्य आर्थिक क्रियाकलाप व्यवस्थित , पारदर्शी र नतिजामूलक हुने नगर उपप्रमुख भगवती रेग्मी अर्यालले बताउनुभयो।

पुस २५ गते शुक्रबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको नगरसभाले जनताको माग र आवश्यकता अनुसार नगरस्तरीय र वडास्तरीय योजना संशोधन र रकमान्तर समेत गरेको छ। यसैगरी ९७ जना करार सेवामा कार्यरत कर्मचारीको करार नविकरण गरेको छ। यस्तै नगरसभाले आन्तरिक आयतर्फ नदिजन्य पदार्थको बिक्रीवितरण मार्फत प्राप्त हुने राजस्व स्रोत रकम भएका १ करोड बजेट रकम रहेका योजना तथा कार्यक्रमको स्रोत संशोधन गरेको छ। चालू आर्थिक वर्षको श्रावण महिनाको १२९ औं कार्यपालिका बैठकदेखी हालसम्मको कार्यपालिकाले गरेका निर्णयहरू समेत अनुमोदन गरेको नगर प्रवक्ता दिपेन्द्र के.सी. ले जानकारी दिनुभयो।