बुटबल पावर कम्पनी लिमिटेडको जोखिमपूर्ण सेवा प्रवाह र चरम लापरबाहीले गर्दा भीरकोटमा करेन्ट लागेर गम्भीर घाइते भएका मनि खनाललाई नगरपालिकाले उपचार खर्च दिने भएको छ।नगर प्रवक्ता दिपेन्द्र के.सी. नगरपालिकाले खनाललाई ५० हजार उपचार खर्च दिने निर्णय गरिएको बताउनुभयो। थप क्षतिपूर्तिका र जोखिमपूर्ण तार व्यवस्थापनका लागि बिपिसिलाई पत्रचार समेत गरिने उहाँले बताउनुभयो। वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्रीको प्रस्तावमा नगरपालिकाले क्षतिपूर्ति दिने निर्णय गरेको हो।
भीरकोट नगरपालिकाका सूचना अधिकारी एवं प्रशासन शाखा प्रमुख सिताराम खनालले १३४ औं कार्यपालिका बैठकले क्षतिपूर्तिका विषयमा निर्णय गरेको बताउनुभयो।
वडा नं ६ को चाप्टारीमा रूखको घाँस काट्ने क्रममा रूखमा करेन्ट प्रवाह भै करेन्ट लाग्दा ५६ वर्षीय खनाल पुस १२ गते शनिबार गम्भीर घाइते हुनुभएको थियो। दुर्घटनामा खनालको दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो। भीरकोट नगर अस्पतालमा प्राथमिक उपचार गरि उहाँलाई थप उपचारका लागि पोखरा गण्डकी मेडिकल कलेज लगिएको थियो। खुट्टा आंशिक रूपमा जलेको हुँदा थप उपचारका लागि उहाँलाई किर्तिपुर अस्पताल , काठमाडौं लगिएको र अस्पतालमा उपचार भैरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।
सेवा प्रदायक बिपिसीले भने हालसम्म कुनै क्षतिपूर्ति दिएको छैन। दुर्घटना र क्षतिपूर्तिको विषयमा आँधिखोला जलविद्युत केन्द्र, गल्याङका प्रमुख डोल प्रसाद खरेललाई सम्पर्क गर्दा दुर्घटनाको विषयमा जानकार रहेको तर उपचार खर्च वा क्षतिपूर्ति दिने कानुनी व्यवस्था नै नभएको बताउनुभयो। तर मानवीय हिसाबले भएपनि कम्पनीले क्षतिपूर्ति दिन सक्ने भन्दै उहाँले बिपिसिको मुख्यालयमा घटनाको विस्तृत विवरण सहित पत्रचार गरेको बताउनुभयो।