आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि स्याङ्जामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
शुक्रबार स्याङ्जा स्थित जिल्ला समन्वय समितिको कार्यालयमा क्षेत्र नं –१ अन्तर्गत मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको हो ।
जिल्ला अदालत स्याङ्जाका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमले ब्यानर तानेर कार्यालयको स्थापना गर्नु भएको हो । कार्यालय स्थापना भएसँगै कार्यालयमा निर्वाचन कार्यतालिका समेत टाँगिएको छ ।
यस्तै वालिङ नगरपालिकाको कार्यालयमा क्षेत्र नं –२ अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । क्षेत्र नं –२ को निर्वाचन अधिकृत ऋषि पौडेल रहनु भएको छ ।

दुई कार्यालय स्थापना भएसँगै उम्मेदवारी दर्ता, निर्वाचनका लागि कर्मचारी परिचालन, सामग्री व्यवस्थापन तथा भण्डारण, प्रशासनिक काम–कारबाही देखि मतगणना सम्मका सम्पूर्ण कार्य यहीबाट हुने जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिनुभयो ।
दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा एक लाख २२ हजार ४६४ पुरुष, एक लाख २६ हजार ३५१ महिला मतदाता र एक अन्यसहित कुल दुई लाख ४८ हजार ८१६ मतदाता रहेका छन् । क्षेत्र नं–१ मा ६४ हजार ७७५ पुरुष, ६६ हजार ११० महिला र एक जना अन्यसहित एक लाख ३० हजार ८८६ र क्षेत्र –२ मा ५७ हजार ६८९ पुरुष र ६० हजार २४१ महिला गरी एक लाख १७ हजार ९३० जना मतदाता रहेका छन् ।