आधुनिक जीवनशैलीले मानिसको जीवनलाई सहज र सुविधाजनक बनाएको छ। प्रविधिको विकाससँगै काम गर्ने तरिका, खानपान र दैनिक जीवनका गतिविधिमा पनि ठूलो परिवर्तन आएको छ। तर सुविधासँगै शारीरिक निष्क्रियता, मानसिक तनाव, असन्तुलित दिनचर्या र स्वास्थ्यसम्बन्धी चुनौतीहरू पनि बढ्दै गएका छन्। यस्तोअवस्थामा हजारौँ वर्ष पुरानो योग परम्पराले आज पनि मानिसलाई शरीर र मनबीच सन्तुलन कायम गर्ने एउटा महत्वपूर्ण बाटो देखाइरहेको छ।
योगका विभिन्न अभ्यासमध्ये योगासन विशेष महत्वको अभ्यास हो। शरीरलाई विभिन्न निश्चित मुद्रामा राखेर गरिने अभ्यासलाई योग आसन भनिन्छ। सामान्य अर्थमा हेर्दा यो शारीरिक अभ्यासजस्तो देखिए पनि यसको उद्देश्य शरीरलाई मात्र चलायमान बनाउनुमा सीमित छैन। शरीरलाई स्थिर, स्वस्थ र लचिलो बनाउँदै मनलाईशान्त र एकाग्र बनाउन सहयोग गर्नु योगासनको महत्वपूर्ण पक्ष हो।
योग दर्शन छ वटा पूर्वीय आस्तिक दर्शनमध्ये एक महत्वपूर्ण दर्शन मानिन्छ। यसको विकास प्राचीन समयदेखि हुँदै आएको पाइन्छ। महर्षि पतञ्जलिले योगसूत्रमार्फत योगलाई व्यवस्थित रूपमा प्रस्तुत गरेका छन्। पतञ्जलिको अष्टाङ्ग योगमा आसनलाई तेस्रो अंग मानिएको छ।
नियमित रूपमा योग आसन गर्दा शरीर स्वस्थ, बलियो र लचिलो हुनुका साथै मनलाई शान्त र एकाग्र राख्न पनि मद्दत गर्छ। त्यसैले योग आसनले मानिसको शारीरिक र मानसिक स्वास्थ्य सुधार गर्न महत्वपूर्ण भूमिका खेल्छ। आधुनिक जीवनको व्यस्तता, लामो समयसम्म बसिरहने बानी र मानसिक दबाबका बीच योगासनको यो
पक्ष अझ सान्दर्भिक देखिन्छ।
त्यसैगरी, स्वामी स्वात्मारामले आफ्नो प्रसिद्ध ग्रन्थ हठयोग प्रदीपिका मा हठयोगका सप्तसाधनमध्ये आसनलाई दोस्रो अंगका रूपमा राखेका छन्। उनका अनुसार आसनको अभ्यासले शरीरलाई स्वस्थ, स्थिर र बलियो बनाउन सहयोग गर्छ। यसरी हेर्दा योग दर्शन र हठयोग दुवैमा आसनको विशेष महत्व रहेको देखिन्छ।
प्राचीन योगग्रन्थहरूमा आसन
योगको इतिहासलाई हेर्दा आसन कुनै आधुनिक अवधारणा होइन। प्राचीन ऋषिमुनिहरूले शरीरलाई साधनाको माध्यमका रूपमा बुझ्दै शरीरलाई स्थिर, स्वस्थ र सक्षम बनाउने विभिन्न अभ्यासको विकास गरेका थिए। त्यही परम्पराको महत्वपूर्ण अंगका रूपमा आसन विकसित भएको देखिन्छ।
प्राचीन योगग्रन्थहरूमा आसनलाई योग अभ्यासको एउटा महत्वपूर्ण भागका रूपमा लिइएको छ। विभिन्न योगग्रन्थमा आसनको अर्थ र यसको अभ्यासबारे फरक–फरक तरिकाले चर्चा गरिएको पाइन्छ। पतञ्जलि योगसूत्रमा “स्थिरसुखमासनम्” भनिएको छ, जसको अर्थ शरीरलाई स्थिर र सहज अवस्थामा राख्नु हो। त्यस्तै हठयोग प्रदीपिका, शिवसंहिता र घेरण्डसंहिता जस्ता महत्वपूर्ण योगग्रन्थहरूमा पनि विभिन्न आसनहरू र तिनको महत्वबारे उल्लेख गरिएको छ।
यी ग्रन्थहरूलाई हेर्दा आसन शरीरलाई स्वस्थ र स्थिर राख्नुका साथै योग अभ्यासका लागि शरीरलाई तयार बनाउने माध्यमका रूपमा बुझ्न सकिन्छ। यस अर्थमा आसन शरीर र मनबीचको सम्बन्धलाई व्यवस्थित गर्ने अभ्यास पनि हो।
पतञ्जलि योगसूत्रमा आसन
महर्षि पतञ्जलिले योगसूत्रको साधनपादको ४६औँ सूत्रमा आसनको स्वरूपलाई अत्यन्त छोटो तर गहिरो अर्थमा
प्रस्तुत गरेका छन्।
“स्थिरसुखमासनम्”
यसको अर्थ स्थिर र सहज रूपमा बस्न सकिने अवस्था नै आसन हो भन्ने हुन्छ। पतञ्जलि योगसूत्रमा कुनै विशेष शारीरिक आसनको नाम वा त्यसको अभ्यास गर्ने विस्तृत विधि भने वर्णन गरिएको छैन। त्यसैले आसनलाई मुख्य रूपमा शरीरलाई स्थिर र सहज अवस्थामा राख्ने साधनका रूपमा बुझिन्छ।
जुनसुकै आसनमा बसे पनि लामो समयसम्म सुखपूर्वक र स्थिर भएर बस्न सकिने अवस्थालाई नै आसन भनिन्छ। यहाँ ‘स्थिरता’ र ‘सुख’ दुई महत्वपूर्ण पक्ष हुन्। शरीर असहज वा तनावग्रस्त अवस्थामा रहेमा मनलाई पनि लामो समयसम्म एकाग्र राख्न कठिन हुन्छ। त्यसैले पतञ्जलिको दृष्टिमा शरीरको स्थिरता योगसाधनाको महत्वपूर्ण आधार हो।
यो अवधारणा आजको जीवनमा पनि उत्तिकै अर्थपूर्ण देखिन्छ। शरीरलाई केही समय स्थिर राखेर श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्ने अभ्यासले मानिसलाई आफ्नै शरीर र मनप्रति सचेत बन्न सहयोग गर्न सक्छ।
घेरण्डसंहितामा आसन
घेरण्डसंहितामा मुनि घेरण्डले आसनलाई शरीरलाई दृढ, स्वस्थ र बलियो बनाउने महत्वपूर्ण साधनका रूपमा प्रस्तुत गरेका छन्। यस ग्रन्थमा उनले ३२ प्रकारका आसनको उल्लेख गरेका छन्। मुनि घेरण्डका अनुसार आसनको नियमित अभ्यासले शरीरमा स्थिरता, बल र स्वास्थ्य कायम गर्न सहयोग गर्छ। उनले विभिन्न आसनहरूको नाम तथा तिनको अभ्यासबारे पनि वर्णन गरेका छन्।
मुनि घेरण्डले घेरण्डसंहितामा आसनको महत्व स्पष्ट गर्दै संसारमा ८४ लाख प्रकारका आसन रहेको उल्लेख गरेका छन्। तीमध्ये ८४ आसनलाई विशेष र ३२ आसनलाई मानवका लागि उपयोगी तथा शुभ मानिएको छ। यसबाट घेरण्डसंहितामा आसनको व्यावहारिक पक्षलाई विशेष महत्व दिइएको देखिन्छ।
घेरण्ड संहितामा भनिएको छ,
“आसनानि समस्तानि यावन्तो जीव जन्तवः।
चतुरशीति लक्षाणि शिवेनाभिहितानि च।।
तेषां मध्ये विशिष्टानि षोडशोनं शतं कृतम्।
तेषां मध्ये मर्त्यलोके द्वात्रिंशदासनं शुभम्।। ”
यस श्लोकमा आसनको विशाल परम्परागत अवधारणा प्रस्तुत गरिएको छ। संसारमा विभिन्न प्रकारका जीवजन्तु भएजस्तै विभिन्न प्रकारका आसन रहेको परम्परागत मान्यता यसमा व्यक्त गरिएको छ। तीमध्ये ८४ आसनलाई विशेष र मानव जीवनका लागि ३२ आसनलाई उपयोगी तथा शुभ मानिएको छ। घेरण्ड संहितामा उल्लेख गरिएका ३२ आसनसम्बन्धी अर्को श्लोक यस्तो छ–
“सिद्धं पद्मं तथा भद्रं मुक्तं वज्रञ्च स्वस्तिकम्।
सिंहञ्च गोमुखं वीरं धनुरासनमेव च।।
मृतं गुप्तं तथा मात्स्यं मत्स्येन्द्रासनमेव च।
गोरक्षं पश्चिमोत्तानमुत्कटं सङ्कटं तथा।।
मयूरं कुक्कुटं कूर्मं तथाचोत्तानकूर्मकम्।
उत्तानमण्डूकं वृक्षं मण्डूकं गरुडं वृषम्।।
शलभं मकरं चोष्ट्रं भुजङ्गं योगमासनम्।
द्वात्रिंशदासनानि तु मर्त्ये सिद्धिप्रदानि च।। ”
सिद्धासन, पद्मासन, भद्रासन, मुक्तासन, वज्रासन, स्वस्तिकासन, सिंहासन, गोमुखासन, वीरासन, धनुरासन, मृतासन, गुप्तासन, मत्स्यासन, मत्स्येन्द्रासन, गोरक्षासन, पश्चिमोत्तानासन, उत्कटासन, सङ्कटासन, मयूरासन, कुक्कुटासन, कूर्मासन, उत्तानकूर्मासन, उत्तानमण्डूकासन, वृक्षासन, मण्डूकासन, गरुडासन, वृषासन, शलभासन, मकरासन, उष्ट्रासन, भुजङ्गासन र योगासन गरी ३२ आसनको उल्लेख गरिएको छ।
यी नामहरू केवल आसनको सूची मात्र होइनन्। प्राचीन योगपरम्परामा शरीरका विभिन्न अवस्था, स्थिरता, लचकता र साधनाका आवश्यकतालाई ध्यानमा राखेर आसनको विकास गरिएको देखिन्छ। यस दृष्टिले घेरण्ड संहिताले आसनलाई व्यावहारिक योगसाधनासँग जोडेको पाइन्छ।
शिवसंहितामा आसन
शिवसंहितामा आसनलाई योगसाधनाको महत्वपूर्ण आधारका रूपमा उल्लेख गरिएको छ। यस ग्रन्थमा विभिन्न प्रकारका ८४ आसन रहेको बताइएको छ। तीमध्ये सिद्धासन, पद्मासन, उग्रासन र स्वस्तिकासन गरी चार आसनलाई विशेष रूपमा अपनाउनुपर्ने कुरा उल्लेख गरिएको छ। शिवसंहितामा भनिएको छ–
“चतुरशीत्यासनानि सन्ति नानाविधानि च।
तेभ्यश्चतुष्कमादाय मयोक्तानि ब्रवीम्यहम्।।
सिद्धासनं ततः पद्मासनं चोग्रं च स्वस्तिकम्।। ”
यस श्लोकले विभिन्न प्रकारका ८४ आसनको परम्परागत अवधारणा प्रस्तुत गर्दै तीमध्ये चार आसनलाई विशेष
महत्व दिएको देखाउँछ। ती हुन्– सिद्धासन, पद्मासन, उग्रासन र स्वस्तिकासन।
शिवसंहितामा आसनलाई शरीरलाई स्थिर राख्ने तथा प्राणायाम र ध्यानजस्ता योगसाधनाका लागि उपयुक्त आधार तयार गर्ने माध्यमका रूपमा बुझ्न सकिन्छ। शरीर स्थिर र सहज अवस्थामा रहेपछि योगका अन्य अभ्यास गर्न सहज हुने भएकाले आसनलाई साधनाको आधार मानिएको देखिन्छ।
हठयोग प्रदीपिकामा आसन
हठयोग प्रदीपिका हठयोग परम्पराको महत्वपूर्ण ग्रन्थ हो। स्वामी स्वात्मारामले यस ग्रन्थमा आसनलाई विशेष महत्व दिएका छन्। भगवान् शिवले ८४ प्रकारका आसन बताउनुभएको उल्लेख गर्दै चार आसनलाई सारभूत मानिएको छ।
हठयोग प्रदीपिकामा भनिएको छ–
“चतुरशीत्यासनानि शिवेन कथितानि च।
तेभ्यश्चतुष्कमादाय सारभूतं ब्रवीम्यहम्।।
सिद्धं पद्मं तथा सिंहं भद्रं चेति चतुष्टयम्।
तत्रापि च सुखे तिष्ठेत्सिद्धासने सदा।। ”
स्वामी स्वात्मारामका अनुसार चार प्रमुख आसन सिद्धासन, पद्मासन, सिंहासन र भद्रासन हुन्। यीमध्ये पनि सिद्धासनमा सधैँ सुखपूर्वक र स्थिर भएर बस्न विशेष महत्व दिइएको छ। यसबाट हठयोग परम्परामा आसनको उद्देश्य शरीरलाई थकाउने वा केवल बाहिरी रूपमा आकर्षक बनाउने नभई शरीरलाई स्वस्थ, स्थिर र योगसाधनाका लागि सक्षम बनाउनु रहेको बुझिन्छ।
उपनिषद्हरूमा आसनको उल्लेख
प्राचीन उपनिषद्हरूमा पनि विभिन्न प्रकारका आसन र तिनको महत्त्वलाई वर्णन गरिएको पाइन्छ।
योगतत्त्व उपनिषद्: सिद्धासन, पद्मासन, सिंहासन र भद्रासनजस्ता प्रमुख ध्यानसाधनाका आसनहरूको उल्लेख
गर्दछ।
ध्यानबिन्दु उपनिषद्: लामो समयसम्म ध्यान गर्नका लागि उपयोगी आसनहरूको विशेष चर्चा गर्छ।
मण्डलब्राह्मण उपनिषद्: योगाभ्यासका क्रममा आसन र प्राणायामको महत्त्वलाई जोडेर व्याख्या गर्छ।
शाण्डिल्य उपनिषद्: परम्परागत रूपमा ८४ लाख आसनहरूको अवधारणालाई उल्लेख गर्दै केही मुख्य आसनहरूको वर्णन गर्छ।
उपनिषद्हरूमा आसनको चर्चा हेर्दा पनि यसको मूल उद्देश्य शरीरलाई साधनाका लागि स्थिर र योग्य बनाउनु रहेको देखिन्छ। शरीरको स्थिरता, श्वासको नियन्त्रण र मनको एकाग्रता एकअर्कासँग जोडिएका विषय हुन् भन्नेयोगपरम्पराको दृष्टिकोण यहाँबाट बुझ्न सकिन्छ।
सिद्धासन आध्यात्मिक विकासका लागि उत्कृष्ट आसन
सिद्धासन ध्यानका लागि उत्कृष्ट आसनमध्ये एक हो। यस आसनमा एउटा खुट्टाको एडीलाई मूलाधार चक्रको क्षेत्रमा राखिन्छ र अर्को खुट्टाको एडीलाई त्यसको अगाडितिर राखिन्छ। मेरुदण्ड, घाँटी र टाउकोलाई सीधा राखी शरीरलाई स्थिर र शान्त अवस्थामा राखिन्छ। यसले लामो समयसम्म ध्यान, प्राणायाम तथा योगसाधना गर्न उपयुक्त आधार प्रदान गर्छ।
योग परम्पराअनुसार, सिद्धासनले शरीरका सात चक्र तथा ७२,००० नाडी ऊर्जा मार्गहरूको शुद्धीकरणमा महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने मान्यता छ। नियमित अभ्यासले प्राणशक्तिको सन्तुलन, मानसिक एकाग्रता र आन्तरिक चेतनाको विकासमा सहयोग पुर्याउने विश्वास गरिन्छ।
यस्ता विषयलाई आधुनिक वैज्ञानिक तथ्यका रूपमा भन्दा पनि योगपरम्परामा विकसित भएको मान्यता र साधनाको दृष्टिकोणका रूपमा बुझ्नु उपयुक्त हुन्छ। योगको परम्परागत भाषामा शरीर, श्वास, नाडी, चक्र र चेतनाबीचको सम्बन्धलाई विशेष महत्व दिइएको पाइन्छ।
यसरी, सिद्धासनले शरीरलाई स्थिर राख्नुका साथै मनलाई शान्त र एकाग्र बनाउन सहयोग गर्ने भएकालेन् आध्यात्मिक विकासका लागि आसनहरूमध्ये उत्कृष्ट आसन मानिन्छ। विशेषगरी ध्यान, प्राणायाम र गहिरो योगसाधनाका लागि यसको विशेष महत्त्व रहेको छ।
योग आसन कि व्यायाम?
आज योगासनलाई धेरै ठाउँमा शारीरिक व्यायामका रूपमा मात्र बुझ्ने गरिएको छ। शरीरलाई तन्काउने, मोड्ने वा विभिन्न मुद्रामा राख्ने अभ्यासका रूपमा यसको लोकप्रियता बढेको छ। यो पक्ष पनि महत्वपूर्ण छ। तर प्राचीन योगग्रन्थहरूको अध्ययन गर्दा आसनको अवधारणा त्यसभन्दा धेरै व्यापक रहेको देखिन्छ।
पतञ्जलिका लागि आसन शरीरको स्थिरता र सुखसँग सम्बन्धित छ। घेरण्डसंहिताले शरीरको दृढता र स्वास्थ्यलाई महत्व दिन्छ। शिवसंहिताले साधनाका लागि उपयोगी प्रमुख आसनलाई विशेष स्थान दिन्छ भने हठयोग प्रदीपिकाले शरीरलाई योगसाधनाका लागि तयार बनाउने दृष्टिले आसनलाई व्याख्या गर्छ।
यसरी विभिन्न ग्रन्थका दृष्टिकोण फरक भए पनि एउटा साझा पक्ष देखिन्छ– शरीरलाई योगसाधनाका लागि योग्य बनाउनु। यही कारणले आसनलाई योगको केवल बाहिरी अभ्यास नभई शरीर र मनबीच सन्तुलन कायम गर्ने माध्यमका रूपमा बुझ्न सकिन्छ।
आधुनिक जीवनशैलीमा योगासनको सान्दर्भिकता
आज मानिसको दैनिक जीवन प्रविधिमा धेरै निर्भर हुँदै गएको छ। लामो समयसम्म कम्प्युटरअगाडि बस्ने, मोबाइलमा समय बिताउने, शारीरिक गतिविधि घट्दै जाने र निरन्तर कामको दबाबमा रहने अवस्था सामान्य बन्दै गएको छ। यस्तो अवस्थामा नियमित शारीरिक गतिविधि र मानसिक विश्रामको आवश्यकता झनै बढेको छ।
योगासनले शरीरलाई सक्रिय राख्नुका साथै व्यक्तिलाई आफ्नो शरीर, श्वास र मानसिक अवस्थाप्रति सचेत हुन सिकाउँछ। नियमित अभ्यासले अनुशासन र आत्मचेतनाको विकासमा पनि सहयोग गर्न सक्छ। तर योगासनलाई सबै रोगको उपचार वा निश्चित स्वास्थ्य समस्याको विकल्पका रूपमा बुझ्नु उचित हुँदैन। व्यक्तिको स्वास्थ्य अवस्था र क्षमताअनुसार उचित विधिबाट योग अभ्यास गर्नु आवश्यक हुन्छ।
प्राचीन योगपरम्पराको यही व्यावहारिक पक्षलाई आधुनिक जीवनसँग जोड्न सक्ने हो भने योगासन केवल योग दिवस वा विशेष अवसरमा गरिने अभ्यासमा सीमित नरही दैनिक जीवनको स्वस्थ बानी बन्न सक्छ।
निष्कर्ष
समग्रमा हेर्दा, योगासनको परम्परा अत्यन्त प्राचीन रहेको र विभिन्न योगग्रन्थ तथा उपनिषद्हरूमा यसको विशेष महत्व रहेको देखिन्छ। पतञ्जलि योगसूत्रले आसनलाई स्थिर र सुखद अवस्थाका रूपमा व्याख्या गरेको छ भने हठयोग प्रदीपिका, घेरण्डसंहिता र शिवसंहिताले विभिन्न आसनहरूको प्रकार, संख्या र उपयोगिताबारे चर्चा गरेका छन्।
प्राचीन योगाचार्यहरूले आसनलाई शरीरलाई स्वस्थ, दृढ र स्थिर बनाउने साधनका रूपमा मात्र नभई ध्यान, प्राणायाम तथा उच्च योगसाधनाका लागि आवश्यक आधारका रूपमा पनि स्वीकार गरेका छन्। यही कारणले आसन योग परम्पराको एउटा महत्वपूर्ण अंगका रूपमा स्थापित भएको देखिन्छ।
आज योग विश्वभर फैलिँदै गर्दा यसको बाहिरी अभ्याससँगै यसको मूल दर्शन र उद्देश्य बुझ्नु पनि उत्तिकै आवश्यक छ। योगासनलाई केवल शरीर मोड्ने, तन्काउने वा शारीरिक आकर्षण बढाउने अभ्यासमा सीमित नगरी शरीर, श्वास, मन र अनुशासनबीचको सम्बन्धका रूपमा बुझ्न सके यसको वास्तविक महत्व अझ स्पष्ट हुन्छ।
प्राचीन योगग्रन्थहरूले दिएको ज्ञान आज पनि एउटा महत्वपूर्ण सन्देश दिन्छ– स्वस्थ जीवन केवल रोग नहुनु मात्र होइन शरीरमा स्थिरता, मनमा शान्ति र जीवनमा अनुशासन कायम गर्नु पनि हो। यही दृष्टिले योगासनलाई हेर्दा यसको महत्व प्राचीन समयदेखि आजसम्म निरन्तर रहनुको कारण स्पष्ट हुन्छ।
त्यसैले योगासनलाई केवल शारीरिक व्यायामका रूपमा मात्र नभई शारीरिक स्वास्थ्य, मानसिक शान्ति, आत्मअनुशासन र योगसाधनाको आधारका रूपमा बुझ्न आवश्यक छ। प्राचीन योगपरम्पराको ज्ञानलाई आधुनिक जीवनशैलीसँग विवेकपूर्ण रूपमा जोड्न सके योगासन स्वस्थ, सन्तुलित र सचेत जीवन निर्माणको महत्वपूर्ण माध्यम बन्न सक्छ।
लेखक त्रिभुवन विश्वविद्यालय योग विज्ञान स्नातकोत्तर तेस्रो समेस्टर का विद्यार्थी हुन् ।
प्रतिक्रियाका लागि : [email protected]