संस्कृत भाषामा जनैलाई यज्ञ पवित्र भनिन्छ। यसको अर्थ हो नयाँ दृष्टि वा पवित्र दृष्टि। व्रतबन्ध गरेपछि यज्ञ पवित (जनै )लगाउने गरिन्छ। यसपछि पिता पुर्खालाई गरिने क्रिया तर्पण दिन योग्य मानिन्छ। श्रावण शुक्ल पूर्णिमालाई जनै पूर्णिमा भनिन्छ यो ब्राह्मणहरूको मुख्य पर्व हो। हाम्रा संस्कार सनातनदेखि चल्दै आएका छन्। जसमा यस प्रकार छन्। १) गर्भधारण२) भ्रुणको रक्षा गर्ने (पुंसवन), ३) गर्भवतीको रक्षा गर्ने ४)बौद्धिकताका लागि कर्म गर्ने (जातकर्म )५)बच्चाको नाम राख्ने(न्वारन) ६) बच्चालाई कोठाबाट बाहिरी संसार देखाउने (निष्कर्मण)७) भात खुवाउने(अन्न प्रासन) ८) कपाल काटिदिने केश (मुण्डन) ९)कान छेडिदिने (कर्णवेध)१०) यज्ञपवित धारण गर्ने।
यस पछाडि जीवनको छुट्टै पाटो सुरु हुन्छ। अध्ययन सुरु गर्ने वेदारम्भ अध्ययन पुरा गरिसकेपछि (सामवर्तन )बिहे गर्ने सर्वसंस्कार गृह त्यागका लागि तयार र अन्त्यमा मृत्युमा गर्ने कर्म अन्त्यष्ठी हुन्। जन्मेदेखि मर्ने बेलासम्म गरिने यो कर्मलाई वेदमा १६ संस्कार भनिएको छ।
धार्मिक विश्वास
भविष्य पुराणको उत्तर पर्वका अनुसार जसले विधिविधानसम्मत रक्षाबन्धन गर्दछ , उसलाई प्रेत पिसाचबाट डर नहुने रोगव्याधि नहुने, विघ्नबाधा हट्ने सुख आरोग्य धन पुत्रलाभ हुन्छ भनिएको छ। रक्षाबन्धनमा गाई बाँधिएको धागोलाई गाई तिहारमा गाईको पुच्छरमा बाँधिदिनाले अकाल मृत्यु नहुने र गाई मार्फत स्वर्गसम्म पुग्न सकिने बैतरणि तारिने भनाइ छ। यसै दिनमा ऋषिमुनिहरूको पूजा गरिन्छ। ऋषिमुनिहरू हाम्रा पूर्वज हुन्। यिनीहरूकै नामबाट हाम्रा थर गोत्र राखिएका हुन्। भारद्वाज ,वशिष्ठ, गौतम, अत्रि, विश्वमित्र आदि नाम गरिएका ऋषिमुनिहरू हुन्। यिनीहरूकै सम्मानस्वरूप तर्पण दिने प्रचलन सुरु गरिएको हो । रक्षाबन्धनमा गरिने पूजा विधि ब्रह्माण्ड पुराणमा दिइएको छ।
जनै ब्राह्मण, क्षेत्री ,वैश्यले पनि लगाउने गर्दछन्। मनुस्मृतिको अध्याय दुईले बताए अनुसार क्षेत्रीले धारण गर्ने जनै सनपाट र वैश्यले धारण गर्नेछ नै भेडाको उनबाट निर्मित भनिएको छ। तर आजभोलि ब्राह्मणहरूले समेत सर्वसुलभता र स्वास्थ्यका लागि सबैले काँचो धागोबाट निर्मित जनाइने लगाउने गर्दछन्।
जनै पूर्णिमाका दिन रक्षाबन्धन पनि लगाइन्छ। पौराणिक कथन अनुसार प्राचीनकालमा दैत्य र देवताहरूबीच घमासन युद्ध भयो। त्यस युद्धमा दैत्यले विजय प्राप्त गर्दै आए परिणामत इन्द्रले आफ्नो राज्य गुमाए। यस अवस्थामा इन्द्रले आफ्ना गुरु बृहस्पति कहाँ पुगेर गुरुको आज्ञाअनुसार इन्द्रकी पत्नी इन्द्रयाणीले रक्षासूत्र दाहिने हातमा बाँधिदिइन्। यसैको प्रभावले इन्द्र बलवान भए र दैत्यमाथि विजय प्राप्त गरे भन्ने शास्त्रीय भनाइ छ। तसर्थ विजय र दुःख कष्टबाट मुक्तिको अर्थमा रक्षाबन्धनको परम्परा चलि आएको हो।
जनैको धागो बनाउने केही नियमहरू छ्न्। जस अन्तर्गत जनै आफैँले बनाएको हुनुपर्छ। चार औँलामा ९६ अङ्गुल आफ्नै शरीर बराबरको बेर्नुपर्छ। तीन टुक्रा धागोलाई एकै ठाउँमा मिलाएर तेब्बर बनाउनुपर्छ र तेब्बर पारेको एक सरामा नौवटा धागा मिलाइएको हुनुपर्छ।
यो अङ्कले सबैले आफ्नै अर्थ राख्दछन्। सामुद्रिक विज्ञानअनुसार हरेक व्यक्ति ८४ देखि सरदर १०८ अंगुलसम्म उचाइका हुन्छन्। यही धागोको नाप जनैमा प्रयोग गरिन्छ। जसमा ९६ अङ्गुल लिनु भनेको ८४ देखि १०८ को बीच भागलाई लिइएको हो। अर्को अर्थ शरीरका २५ तत्त्व, प्रकृतिका ३ गुण , १५ तिथि ,७ वार, १२ महिना २७ नक्षत्र ,३ काल, ४ वेद कुलयोग ९६ हुन्छ। त्यसैको आधारमा जनैको निर्माण गरिन्छ योग्य पवित्र हिन्दूहरूको हरेक कर्म गर्दा आवश्यक पर्दछ।