नेभिगेशन
धर्म संस्कृति

सरस्वती पूजाको महत्त्व

सरस्वती पूजा हिन्दू धर्ममा ज्ञान, बुद्धि, विद्या, कला र वाणीकी देवी सरस्वतीको आराधना गर्ने महत्वपूर्ण पर्व हो। यो पूजा प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा मनाइन्छ। यही कारणले यस पर्वलाई वसन्त पञ्चमी पनि भनिन्छ। यस दिनबाट वसन्त ऋतुको औपचारिक प्रारम्भ भएको मानिन्छ।


सरस्वती पूजा  ज्ञान, विवेक र सृजनशीलताको प्राप्ती गर्ने उद्देश्यका साथ मनाइन्छ। विद्याकी देवी सरस्वतीलाई प्रशन्न पारेर विद्या, सद्बुद्धि र असल वाणी प्राप्त होस् भन्ने कामना गरिन्छ। विशेष गरी विद्यार्थीहरूले पढाइमा सफलता, एकाग्रता र अनुशासन प्राप्त गर्नका लागि यो पूजा श्रद्धापूर्वक गर्ने चलन छ। शिक्षक, कलाकार, लेखक, संगीतकार र सिर्जनात्मक क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि पनि यो पर्व विशेष महत्वको मानिन्छ।

यो पर्व नेपालका विभिन्न स्थानमा श्रद्धा र उत्साहका साथ मनाइन्छ। विशेष गरी विद्यालय, कलेज, पुस्तकालय, संगीत विद्यालय तथा घरघरमा सरस्वतीको पूजा गरिन्छ। यो पर्व नेपाल भारत, बङ्गलादेश लगायत हिन्दू संस्कृति मानिने अन्य देशहरूमा पनि  धूमधामका साथ मनाइन्छ।

वसन्त पञ्चमीले नयाँ जीवन, आशा, उत्साह र सृजनशीलताको संकेत गर्दछ। वसन्त ऋतु प्रकृतिमा हरियाली, फूलफूल र सौन्दर्यको आगमनको समय हो। यसले मानिसको मनमा पनि सकारात्मक सोच, नयाँ ऊर्जा र कर्मशीलताको भावना जगाउँछ। यस दिन पहेंलो रंगको विशेष महत्व हुन्छ, जसले ज्ञान, प्रकाश र आशाको प्रतीक मानिन्छ।

यसरी सरस्वती पूजा केवल धार्मिक पर्व मात्र नभई ज्ञानको सम्मान, संस्कृतिको संरक्षण र जीवनमा सकारात्मक परिवर्तनको प्रेरणा दिने महत्वपूर्ण पर्व हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप धर्म संस्कृति