नेभिगेशन
समाचार

चराङ–धोवादीखोला साउन्दी पुलको पहिरो हटाउन पूर्वाधार विकास कार्यालयको निर्देशन

भीरकोट नगरपालिका–९ मा निर्माण भएको चराङ–धोवादीखोला साउन्दी झोलुङ्गे पुलमा खसेको पहिरो हटाएर आवतजावत सहज बनाउन पूर्वाधार विकास कार्यालय स्याङ्जाले निर्माण कम्पनीलाई निर्देशन दिएको छ।

साउन मसान्तातिर  पहिरो खसेपछि पुलको आवतजावत प्रभावित भएको थियो।  पहिरोले पुल कोल्टिएको छ भने स्थानीयवासीलाई आवतजावतमा समेत  कठिनाइ भएको छ। सामाजिक संजालमार्फत भदौ ३ गते समस्याको बारेमा थाह पाएपछि   कार्यालयले निर्माण कम्पनी कर्णाली कन्स्ट्रक्सन एण्ड सप्लायर्स, काठमाडौंलाई पहिरो हटाउन निर्देशन दिएको हो।

पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख गुरुदत्त अधिकारीका अनुसार कार्यालयले भदौ ४ गते नै पत्राचार गर्नुका साथै फोनमार्फत निर्माण कम्पनीलाई पहिरो हटाएर आवागमन सहज बनाउन निर्देशन दिएको थियो।

इन्जिनियर पोषराज पौडेलका अनुसार पुलमा खसेको पहिरो सामान्य प्रकृतिको भएकाले करिब १० देखि १२ हजार रुपैयाँ खर्चमा नै हटाउन सकिने अवस्था छ।निर्माण कम्पनीले कार्यालयको निर्देशन पालना नगरेमा कम्पनीको धरौटी रकम जफत गरी कार्यालय आफैंले पहिरो हटाएर आवतजावत सहज बनाउने पौडेलले बताए। निर्माण कम्पनीको १ लाख ८० हजार रुपैयाँ धरौटी कार्यालयमा रहेको उनले जानकारी दिए। इन्जिनियर पौडेलले निर्माणको गुणस्तर र डिजाइनिङमा कुनै समस्या नभएको र भित्ताको ढिस्को खसेर पुलमा आवतजावतमा अवरोध पुगेको दाबी गरेका छन्। 

चराङदेखि धोवादीखोला साउन्दीसम्मको उक्त झोलुङ्गे पुल निर्माणका लागि ५६ लाख ६१ हजार ४४२ रुपैयाँ लागत अनुमान गरिएको थियो। पुल ४० लाख ४२ हजार ५७० रुपैयाँमा निर्माण सम्पन्न भएको हो।पूर्वाधार विकास कार्यालयसँग २०८२ जेठ २५ गते निर्माण सम्झौता भएको पुलको निर्माण कार्य २०८३ जेठ १० गते सम्पन्न भएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्