नेभिगेशन
समाचार

अर्जुनचौपारीमा वार्षिक ३ लाख पर्यटक भित्र्याउने लक्ष्य

अर्जुनचौपारी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नीति तथा कार्यक्रममा पर्यटनलाई प्रवर्धनलाई विशेष प्राथमिकता दिइएको छ।गाउँपालिकामा रहेका धार्मिक तथा  पर्यटकीय स्थलको  विकास र प्रचारप्रसार र खेलकुद गतिविधी मार्फत  गाउँपालिकाले ३ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्य राखेको छ।

गड्यौलीखोलामा निर्माणाधिन अर्जुनचौपारी म्याथम्याटिकल तथा बोटानिकल पार्कलाई विद्यार्थीहरुको शैक्षिक गन्तव्यका साथसाथै पिकनिक स्पटको रुपमा व्यवस्थित गर्ने लक्ष्य राखिएको छ। नेपालकै पहिलो नवग्रह मन्दिर, साउन्ड हिलिङ सेन्टर, अर्जुनचौपारी म्याथम्याटिकल तथा बोटानिकल पार्कलाई र थाप्ले खेल मैदानलाई पूर्वाधार विस्तार, सशक्त प्रवर्द्धन, स्तरीय सेवा र स्थानीय संलग्नता मार्फत पालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। युवालाई खेलप्रति आकर्षित गर्न, प्रतिभाको पहिचान गर्न र खेल क्षेत्रमार्फत् पर्यटनको प्रवर्द्धन गर्न आगामी वर्ष अर्जुनचौपारी गाउँपालिका वडा नं ५ स्थित थाप्ले क्रिकेट मैदानमा प्रदेशस्तरिय Gandaki T-10 Cricket League को आयोजना गरिने छ।

1000032197-1750265364.jpg
नीति तथा कार्यक्रममा प्रथम वर्षमा विद्यार्थी र आन्तरिक तथा बाह्य गरी कम्तिमा पनि ३ लाख पर्यटक भित्र्याउने गरी प्रचारात्मक र प्रबर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने र  जलवराह धार्मिक वन क्षेत्रलाई नेपालकै उत्कृष्ट धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गरिने लक्ष्य राखिएको छ।

धार्मिक पर्यटन प्रवर्धनका लागि अर्जुनचौपारी- आग्रीखर्क- पर्वतको कुश्मा देखि बाग्लुङ हुँदै मुक्तिनाथसम्म जोड्ने सबैभन्दा छोटो दुरीको सडक मार्गलाई नेपालकै पहिलो नवग्रह मन्दिर र मुक्तिनाथधाम जोड्ने धार्मिक सडकका रुपमा विकास गर्न नेपाल सरकार र गण्डकी सरकारसँग समन्वय गरी आवश्यक स्तरोन्नति र प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

नीति तथा कार्यक्रममा सबैका लागि सुरक्षित र सहज खानेपानी पहुँच सुनिश्चित गर्दै जीवनस्तरमा सुधार गर्ने, सेवा प्रवाह सुदृढ गर्न संस्थागत क्षमता अभिवृद्धि गर्दै पारदर्शिता र जवाफदेहिता कायम गर्ने, विकास निर्माणलाई व्यवस्थित र वस्तुनिष्ठ बनाउन आयोजना बैंकको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने, धार्मिक, शैक्षिक र खेल पर्यटनको प्रवर्द्धनमार्फत आर्थिक समृद्धिको नयाँ आधार तयार गर्ने, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र पूर्वाधार संरक्षण एवम् सुदृढिकरण गर्ने  विषयहरूलाई प्राथमिकता दिइएको छ।

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पूर्वाधार विकास र संरक्षण दुबैलाई महत्त्व दिइएको छ। पूर्वाधारको दिगोपना र गुणस्तर सुनिश्चित गर्न प्रत्येक योजनाको स्वीकृत बजेटको १ प्रतिशत रकम “पूर्वाधार मर्मत-सम्भार कोष”मा स्वतः विनियोजन गरिनेछ । कोषको प्रभावकारी व्यवस्थापनका लागि “मर्मत-सम्भार कोष व्यवस्थापन समिति” गठन गरी प्राथमिकताका आधारमा मर्मत कार्यको सुचीकरण गरी, समयनिष्ठ उपयोग सुनिश्चित गरिनेछ ।

२०७९ सालसम्म १ मिटर पनि कालोपत्रे सडक नभएको अर्जुनचौपारी गाउँपालिकामा ३ वर्षको अवधिमा   करिब २३ किलोमीटर  सडक निर्माण सम्पन्न हुने भएको छ।  सबै वडा कार्यालयलाई पालिका केन्द्रसँग पक्की सडकमार्फत जोड्ने नीति लिएको पालिकामा  यो आर्थिक वर्षसम्म २२.५ किलोमिटर पक्की सडक निर्माण भैसक्ने बताइएको छ। १० किमी सडक पक्की भैसकेको र   चालु आर्थिक वर्षमा थप १२.५ कि.मी. सडक निर्माण कार्य कार्यान्वयनको चरणमा रहेको बताइएको छ।  यस  आर्थिक वर्षमा वडा नं १, २, ३ र ४ पालिका केन्द्रसँग जोडिनेछन्, र आगामी आ.ब.मा वडाहरू ५ र ६ समेत कालोपत्रे सडकमार्फत जोडिने नीत  तथा कार्यक्रममा उल्लेख छ।

अर्जुनचौपारी गाउँपालिकाको नीति तथा कार्यक्रमको पूर्ण पाठ पढ्न नीति - Final Copy.docx लाई क्लिक गर्नुहोस्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्