नेभिगेशन
राजनीति

भीरकोटको राजनीति : कार्यकर्ताको  नाम तोकेर  बजेट

भीरकोट नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरेको छ। असार २९ गते आइतबार बसेको नगर सभाले आर्थिक वर्ष २०८२/८३ को लागि   बजेट पारित गरेको हो। नगरपालिकाको आन्तरिक बजेट चालू तर्फ १५ करोड ९७ लाख २ हजार १ सय ८९ र पूँजीगत तर्फ १३ करोड ८७ लाख ५० हजार गरि कूल २९ करोड ८४ लाख ५२ हजार १ सय ८९ रूपैयाँ रहेको छ।

१६ औं नगर सभाले पारित गरेको बजेटमा कार्यकर्ताको नामै किटान गरेर विनियोजन गरिएको छ। वडा नं ४ का स्थानीय कार्यकर्ता बाबुराम अर्यालको नामै किटान गरेर बजेट खर्च नं ३१११२ मा " बाबुराम अर्यालको घर जाने बाटो वडा नं ४" शिर्षकमा २ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ। यसैगरी बजेट खर्च नं ३१११२ मा नै "गोदीखोला कृषि सडक नारायण रेग्मीको घर जाने बाटो वडा नं ५" शीर्षकमा ३ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।

नगरपालिकाले किन व्यक्तिका नाममा बजेट विनियोजन गरेको हो भनी स्मार्ट अखबारले नगर प्रवक्ता दिपेन्द्र के.सी. लाई सोधेको थियो। जवाफमा उहाँले जनताका माग र  आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको तर   प्रुफ रिडिङ राम्रोसँग नहुँदा केही योजनामा व्यक्तिको नाम जोडिएको  बताउनुभयो।

तर योजनाका नाम र शीर्षक हेर्दा कार्यकर्तालाई खुशी बनाउन व्यक्तिगत मागका आधारमा व्यक्तिलाई नै सम्बोधन गरेर बजेट छुट्याइएको देखिन्छ। नगर सभामा प्रस्तुत गरिएका करिब आधा दर्जन योजनामा व्यक्तिका नाम उल्लेख गरिएका थिए।  वडा नं ६ का कार्यकर्ता बद्री अर्याल, वडा सभापती हिम बहादुर खत्रीको नामै तोकेर बजेट छुट्याइएको थियो। पारित हुने समयमा  केहीको नाम संशोधन भएपनि केही छुटेको देखिन्छ। नत्रभने ग्रामीण सडक जोखिमपूर्ण रहेको अवस्थामा सिद्धार्थ राजमार्ग सँगै जोडिएको एवं सहज पहुँच भएको बाबुराम रेग्मीको नाममा बजेट विनियोजन हुने थिएन। यस्तै वडा नं ५ को ग्रामीण/ कृषि सडकको नाममा  बजेट छुट्याउँदा पनि व्यक्तिको नाम तोकेर नारायण रेग्मीको घर जाने बाटो भनी बजेट विनियोजन हुनुले पनि स्थानीय सरकारले सार्वजनिक महत्त्वका भन्दा पनि व्यक्तिगत महत्त्वका योजनालाई प्राथमिकता दिएको प्रष्ट हुन्छ। 

महालेखाको निर्देशन विपरीत अवण्डा बजेट 

भीरकोट नगरपालिकाको हरेक वर्षको प्रतिवेदनमा महालेखापरीक्षकको कार्यालयले अवण्डा बजेट नराख्न निर्देश दिएको छ। नगर सभाले महिलासँग उपमेयर कार्यक्रमका नाममा विवरण नखुलाई १५ लाख बजेट अवण्डा राखेको छ। यसैगरी मेयर संबोधन अन्तर्गत योजनाहरूको बारेमा प्रष्ट विवरण नराखी सुरक्षित आवास सहयोग अन्तर्गत २५ लाख, कृषि तथा साना सिंचाई अन्तर्गत ११ लाख, भौतिक पूर्वाधार मर्मत तर्फ ३० लाख, अनुदान सहयोग अन्तर्गत १५ लाख , खानेपानी मर्मत संभार अन्तर्गत १५ लाख, आकस्मिक तथा विभिन्न खर्च अन्तर्गत १० लाख रकम  गरि १ करोड ६ लाख रूपैयाँ छुट्याइएको छ।

अवण्डा बजेटका विषयमा समेत हामीले प्रवक्ता के.सी. लाई किन प्रष्ट योजना वा कार्यक्रम विना शिर्षक मात्रै राखेर बजेट पारित गर्नुभएको भनेर सोधेका थियौं। जवाफमा उहाँले स्थानीय सरकार जनताको घरदैलोको सरकार भएकाले जुनसुकै बेला समस्या वा गुनासो लिएर आउने भएकाले मेयर/ उपमेयर सम्बोधन अन्तर्गत बजेट छुट्याइएको बताउनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्