नेभिगेशन
राजनीति

महाधिवेशन प्रतिनिधिमा इन्जिनियर शर्माको उम्मेदवारी

सूचना तथा सञ्चार इन्जिनियरिङमा स्नातकोत्तर तहमा विशिष्ट श्रेणी हासिल गरेका इन्जिनियर सुदर्शन शर्माले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा स्याङ्जा प्रतिनिधि सभा क्षेत्र नं. १ बाट पेशागत विज्ञ समूहअन्तर्गत महाधिवेशन प्रतिनिधिका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

विद्यार्थी राजनीति, इन्जिनियरिङ शिक्षा, सामाजिक सेवा, प्रविधि तथा संस्थागत नेतृत्वमा लामो समयदेखि सक्रिय शर्माले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको विषयभन्दा पेशागत ज्ञान, सामाजिक अनुभव र राजनीतिक कर्मलाई व्यापक सार्वजनिक हितसँग जोड्ने प्रयासका रूपमा प्रस्तुत गरेका छन्।

शर्मा इन्जिनियरिङ साहित्यिक समाजका पूर्व अध्यक्ष तथा नेपाल विद्यार्थी संघ, पुल्चोक क्याम्पसका पूर्व सभापति हुन्। हाल उनी सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (CDEN) का महासचिवका रूपमा कार्यरत छन्। उनले सूचना प्रविधि तथा डिजिटल रूपान्तरणको क्षेत्रमा नौ वर्षभन्दा बढी व्यावसायिक अनुभव हासिल गरेको जनाएका छन्। उनी Khalti IME Pay का पूर्व Business Development Manager तथा Institute of Chartered Accountants of Nepal (ICAN) का पूर्व IT System Consultant समेत हुन्।

विद्यार्थी आन्दोलनदेखि सामाजिक सेवासम्म

शर्माको राजनीतिक यात्राको एउटा महत्वपूर्ण अध्याय करिब १५ वर्षअघि पुल्चोक क्याम्पसमा भएको विद्यार्थी आन्दोलनसँग जोडिएको छ। नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पसको सभापति रहेका बेला इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षाको प्रश्नपत्र समयअगावै बाहिरिएको घटनापछि उनले पुनः परीक्षा गराउनुपर्ने मागसहित २२ दिनसम्म आन्दोलनको नेतृत्व गरेको बताएका छन्।

आर्थिक तथा सामाजिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूले निष्पक्ष प्रतिस्पर्धामार्फत इन्जिनियरिङ शिक्षा हासिल गर्ने अवसर सुनिश्चित हुनुपर्ने उनको तत्कालीन माग थियो।

त्यस संघर्षपछि एक कपडा व्यवसायीले आफ्नो छोराले आर्किटेक्चरमा भर्ना पाएको खुसीमा आफूलाई अंकमाल गरेको प्रसंगलाई शर्माले आफ्नो राजनीतिक जीवनको अविस्मरणीय अनुभवका रूपमा सम्झिएका छन्।

“एउटा राजनीतिक निर्णय र संघर्षले सामान्य परिवारका छोराछोरीको जीवनमा प्रत्यक्ष प्रभाव पार्न सक्छ भन्ने कुरा त्यही घटनाले गहिरोसँग बुझायो,” उनले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आत्मकथ्यमा उल्लेख गरेका छन्।

इन्जिनियरिङ लाइसेन्स प्राप्त गर्न नसक्ने परिस्थितिमा परेका विद्यार्थी तथा साथीहरूको पक्षमा समेत उनले संघर्ष गरेको र त्यसक्रममा आमरण अनशनसम्मका कार्यक्रमको नेतृत्व गरेको बताएका छन्।

भूकम्पपछि राहतदेखि रसुवाको बाढीसम्म

विसं २०७२ को भूकम्पपछि शर्माले आफ्नै पहलमा गोरखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रेलगायतका प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका काममा सहभागी भएको उल्लेख गरेका छन्। उक्त समयमा सुदन गुरुङलगायतका सहयात्रीसँग मिलेर प्रभावित क्षेत्रमा काम गरेको उनको भनाइ छ।

समाजसेवालाई कुनै विशेष अवसर वा परिस्थितिसँग मात्र जोडेर नहेरेको बताउने शर्मा हालैको भोटेकोसी–त्रिशूली बाढीपछि रसुवाका उत्तरी दुर्गम क्षेत्रमा समेत पुगेका थिए। सडकमार्गको सहज पहुँच नभएको क्षेत्रमा घण्टौँ पैदल यात्रा गरेर करिब आठ दिन प्रभावित समुदायसँग बिताएको उनले बताएका छन्।

रसुवाबाट फर्किएपछि पनि त्यहाँ देखेका बाढीपीडितका पीडा, परिवार गुमाएका नागरिकका आँसु तथा अभिभावकविहीन बनेका बालबालिकाको भविष्यले आफूलाई निरन्तर सोच्न बाध्य बनाएको उनको भनाइ छ।

“हामीले गर्ने राजनीतिक निर्णय, बनाउने नीति र निर्वाह गर्ने नेतृत्वको अन्तिम अर्थ नागरिकको जीवनसँग जोडिनुपर्छ,” भन्ने विचार शर्माले आफ्नो उम्मेदवारीसँग जोडेर अघि सारेका छन्।

‘राजनीतिमा लागेर के पाइस्?’ भन्ने प्रश्नको आफ्नै उत्तर

व्यक्तिगत तथा व्यावसायिक जीवनमा विभिन्न अवसर आए पनि सामाजिक तथा राजनीतिक कर्मलाई निरन्तरता दिएको बताउँदै शर्माले आफन्त तथा हितैषीहरूले समेत पटक–पटक “राजनीतिमा लागेर के पाइस्?” भनेर प्रश्न गर्ने गरेको बताएका छन्।

तर, उनका अनुसार राजनीतिक कर्मबाट प्राप्त सबैभन्दा ठूलो अनुभूति व्यक्तिगत उपलब्धि नभई सार्वजनिक जीवनमा सकारात्मक प्रभाव पार्न सक्ने निर्णय निर्माणको सम्भावना हो।

उनले विद्यार्थीले निष्पक्ष परीक्षा दिन पाउनु, आर्थिक रूपमा कमजोर परिवारका छोराछोरीले आफ्नो क्षमताका आधारमा गुणस्तरीय शिक्षा प्राप्त गर्नु, विपद्मा परेका नागरिकसम्म राज्यको सेवा र प्राविधिक सहयोग पुग्नु तथा दुर्गम क्षेत्रको विकासका लागि प्रभावकारी नीति बन्नुलाई राजनीतिक निर्णयको वास्तविक अर्थका रूपमा व्याख्या गरेका छन्।

स्याङ्जामा प्रतिनिधिहरूसँग भेटघाट

१५औँ महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला शर्मा आफ्नो भूगोल स्याङ्जा फर्किएर क्षेत्रीय प्रतिनिधिहरूसँग भेटघाट र संवादमा छन्। नेपाली कांग्रेसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ। 

शर्माले आफ्नो उम्मेदवारी र विचारबारे क्षेत्रीय प्रतिनिधिहरूसँग गरेको संवादलाई सकारात्मक र उत्साहजनक पाएको बताएका छन्। उनका अनुसार आफूले प्रस्तुत गरेको इन्जिनियरिङ क्षेत्रको पेशागत अनुभव, विद्यार्थी आन्दोलनको नेतृत्व, सामाजिक सेवा, प्रविधि तथा डिजिटल रूपान्तरणसम्बन्धी अनुभव र सार्वजनिक हितमा आधारित राजनीतिक दृष्टिकोणलाई प्रतिनिधिहरूले चासोका साथ सुनेका छन्।

भेटघाटका क्रममा केही प्रतिनिधिहरूले शर्माको अनुभव र उम्मेदवारीप्रति सकारात्मक धारणा राख्दै आफूहरू सहयोग र समर्थनका लागि इच्छुक रहेको अभिव्यक्ति दिएको उनले बताएका छन्। यद्यपि अन्तिम निर्णय भने लोकतान्त्रिक प्रक्रियामार्फत प्रतिनिधिहरूले गर्ने विषय रहेको शर्माको भनाइ छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै