नेभिगेशन
राजनीति

आँधीखोलामा एमालेको प्रशिक्षण कार्यक्रम, संगठन सुदृढीकरणमा जोड

नेपाल कम्युनिष्ट पार्टी (एमाले) आँधीखोला गाउँपालिका कमिटीको आयोजनामा शनिबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पार्टीको वैचारिक पक्ष, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी एमाले नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टीको विचार, संगठन निर्माण तथा समसामयिक राजनीतिक विषयमा प्रशिक्षण तथा मार्गदर्शन दिएका थिए।

आँधीखोला गाउँपालिका कमिटीका अध्यक्ष शिवप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य सीता सुन्दास र प्रदेश कमिटी सचिव धनञ्जय दवाडी विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

त्यस्तै कार्यक्रममा प्रदेश कमिटी सचिवालय सदस्य देवेन्द्र गुरुङ, प्रदेश कमिटी सदस्य सुधीरकुमार पौडेल, जिल्ला कमिटी अध्यक्ष सूर्यप्रसाद गैरे लगायत जिल्ला कमिटीका उपाध्यक्ष, उपसचिव, सचिवालय सदस्य तथा जिल्ला कमिटी सदस्यहरूको उपस्थिति थियो।

प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने, पार्टीको नीति तथा विचारलाई जनस्तरसम्म पुर्‍याउने तथा संगठनात्मक गतिविधिलाई सुदृढ बनाउने विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।

कार्यक्रममा वक्ताहरूले पार्टी संगठनलाई जनमुखी र प्रभावकारी बनाउन स्थानीय तहदेखि नै संगठनात्मक गतिविधिलाई सक्रिय बनाउनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले पार्टीको संगठन सुदृढीकरण तथा आगामी गतिविधिका विषयमा छलफलसमेत गरेका थिए।कार्यक्रमको स्वागत मन्तव्य गाउँपालिका कमिटीका उपाध्यक्ष विष्णुबहादुर खत्रीले गरेका थिए भने सञ्चालन गाउँपालिका कमिटीका सचिव दीपेन्द्र पौडेलले गरेका थिए।

प्रशिक्षण कार्यक्रमले स्थानीय तहमा पार्टी संगठनका गतिविधि, वैचारिक प्रशिक्षण र कार्यकर्ताबीचको समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै