नेभिगेशन
कृषि

वालिङमा अफ्रिकन स्वाइन फिभरको त्रास

स्याङ्जाको वालिङ नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको त्रास   देखिएको  छ। अफ्रिकन स्वाइन फिभर संक्रमणले वालिङका बङ्गुरपालक किसान चिन्तित बनेका हुन्।

वालिङ नगरपालिका–८ निवासी पदमबहादुर सोती मगरको मासु पसल र बङ्गुर फार्ममा प्रारम्भिक लक्षण देखिएपछि परीक्षणको लागि संकलित नमुना काठमाडौंस्थित केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला पठाइएको थियो । 

प्रयोगशालाले अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखाएपछि सो फर्म र पसलबाट बिक्रीमा ल्याइएको मासु तुरुन्त नष्ट गरिएको नगरपालिकाले जनाइएको छ । मगरको मासु पसलबाट १४० केजी संक्रमित मासु नष्ट गरिएको हो । 

यो संक्रमण देखिएपछि नगरपालिकाले खोर आसपासको क्षेत्रमा सचेतना  कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको उपप्रमुख कविता तिवारी (गैरे) ले जानकारी दिनुभयो । 

उहाँका अनुसार, “एक पटक खोरमा संक्रमण पसिसकेपछि सबै बङ्गुर मर्ने सम्भावना धेरै हुन्छ । त्यसैले, बाँकी क्षेत्रलाई जोगाउन अब सजगता आवश्यक छ ।”  

स्वास्थ्य मापदण्ड पूरा नगरी बिक्रीमा ल्याइएका मासुजन्य उत्पादनले उपभोक्ताको स्वास्थ्यमा असर पुर्‍याउने खतरा रहँदै आएकोमा तिवारीले गुणस्तरहीन मासु वितरण रोक्न र स्वस्थ बङ्गुर आयात गर्न नियमित निगरानी गरिने गैरेले बताउनुभयो ।

मगरको खोर र मासु पसललाई निसंक्रमण गरी कम्तीमा चालिस दिनसम्म पशु पाल्न रोक लागाईएको प्रमुख प्रशासकीय अधिकृत गांगाल सुवेदीको भनाई छ  । 

“अब हामीले पशु आयातको विषयमा कडाई गर्छौं । कागज मिलाएर ल्याइने होइन, प्रमाणसहितको स्वच्छ प्रक्रियालाई मात्रै मान्यता दिनेछौं,”सुवेदीले बताउनुभयो । 

संक्रामक रोग देखिएपछि  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङजाले निसंक्रमणको औषधी वितरण अभियान सुरु गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख डा. रुपेश श्रेष्ठ का अनुसार, अफ्रिकन स्वाइन फिभर विरुद्ध अहिलेसम्म न त खोप उपलब्ध छ, न त ठोस उपचार । “नियन्त्रणको एउटै उपाय भनेको रोग भित्रिन नदिनु, संक्रमित खोरमा पूर्ण निसंक्रमण गर्नु, र अन्य खोरसँग सम्पर्क रोक्नु हो,” श्रेष्ठले भन्नुभयो ।

बजारमा बङ्गुरको मासुको अभाव हुँदा बाह्य जिल्लाबाट आयात गरिन्छ, तर ती बङ्गुरमा रोगको जोखिम अत्यधिक हुन्छ । स्वास्थ्य परीक्षणबिना आयात, प्रमाणपत्रको कमजोरी, र सरकारको निरीक्षण प्रणालीको फितलोपन नै हालको संकटको जड हो ।

विशेषगरी व्यापारीहरूले सस्तो मूल्यमा अस्वस्थ बच्चा ल्याएर उत्पादन बढाउने लोभले गर्दा रोग फैलिने सम्भावना अझ बढ्छ । विज्ञहरू भन्छन् , “कानुन त छ तर कार्यान्वयन कमजोर छ, त्यसैले व्यापारीले पनि जोखिम मोल्न थाल्छन् ।” “किसान आफैं पनि सचेत हुनुपर्छ। नयाँ ल्याइएका बङ्गुरहरूलाई केही हप्ता पृथक राख्नुपर्छ । एउटै खोरमा सिधा मिसाउँदा यो रोग तुरुन्त फैलिन्छ ,”डा. श्रेष्ठको सुझाव छ । 

वालिङमा देखिएको हालको संक्रमणको स्रोत पाल्पाबाट ल्याइएको बङ्गुरको बच्चा भएको , श्रेष्ठको भनाई छ । “त्यसले खोरमा पस्नासाथ अन्य बङ्गुर संक्रमित बनायो ।  गत वर्ष पनि पुतलीबजारमा दाङबाट ल्याइएको बच्चाबाट यही रोग भित्रिएको थियो , ” श्रेष्ठको भनाई छ । 

अफ्रिकन स्वाइन फिभरको असर केवल स्वास्थ्यको मात्र होइन, कृषि व्यवसायमै विनाशकारी सावित भएको छ । विगत ३ वर्षमा स्याङ्जामा मात्रै एक हजारभन्दा बढी बङ्गुर मरेका छन् । दर्जनौं फर्म बन्द भएका छन् । कतिपय किसान ऋणमै डुबेका छन् ।

वालिङमा देखिएको अफ्रिकन स्वाइन फिभर एउटा सामान्य घटना होइन। यसले स्थानीय कृषि प्रणाली, बजार संरचना, र जनस्वास्थ्य समेतमा असर पार्ने संकेत दिएको छ । जबसम्म नियमन, अनुगमन र चेतनाको त्रिकोण बलियो बनाइँदैन, यस्ता संकटले वर्षेनी किसान विस्थापित र उपभोक्ता त्रसित बनाउँदै जानेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्