नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
कृषि

भीरकोटबाट सात टन अकबरे खुर्सानी निकासी

व्यावसायिक खुर्सानी खेतीको परीक्षण सफल

स्याङ्जाको भीरकोट नगरपालिकामा सुरु गरिएको अकबरे खुर्सानीको व्यावसायिक खेतीको परीक्षण सफल देखिएको छ। बाँदरबाट पीडित किसानलाई वैकल्पिक खेतीतर्फ आकर्षित गर्ने र व्यवसायिक बनाउने उद्देश्यले भीरकोट कृषि विकास परियोजना अन्तर्गत अकबरे खुर्सानी खेती  सुरु गरिएको थियो। कार्यक्रमअन्तर्गत उत्पादन भएको अकबरे खुर्सानीमध्ये हालसम्म करिब सात टन बुटवल र पोखरा बजारमा पठाइएको छ। उत्पादन राम्रो हुनुका साथै परियोजनाले नै बजार व्यवस्थापन गरिदिएपछि किसानमा व्यावसायिक खुर्सानी खेतीप्रति उत्साह बढेको छ।

भीरकोट कृषि तथा पशु विकास परियोजनाअन्तर्गत नगरपालिकाका नौवटै वडामा अकबरे खुर्सानी खेती विस्तार गरिएको हो। वैशाखमा  रोपिएका खुर्सानीका बिरुवाबाट उत्पादन सुरु भएसँगै परियोजनाले नियमित रूपमा खुर्सानी संकलन गरी बजार पठाउने व्यवस्था मिलाएको छ। हरेक हप्ता शनिबार र मंगलबार किसानले आफ्नो  बारीमा  उत्पादित खुर्सानी संकलन केन्द्रसम्म  ल्याउँछन् । संकलित खुर्सानी आइतबार र बुधबार बुटवल तथा पोखरा बजारमा पठाउने गरिएको भीरकोट कृषि विकास परियोजना प्रमुख पिताम्बर बस्यालले जानकारी दिए ।

परियोजनाले उत्पादनसँगै बजारीकरणलाई प्राथमिकता दिएपछि किसानले आफ्नो उत्पादन कहाँ बेच्ने भन्ने चिन्ता लिनुपरेको छैन। किसानले बारीमा उत्पादन गर्ने र परियोजनाले संकलन, बजार व्यवस्थापन तथा ढुवानीको सहजीकरण गर्ने भएपछि अकबरे खुर्सानी खेतीमा किसानको आकर्षण बढेको हो।

बाँदरपीडित किसानका लागि नयाँ विकल्प

भीरकोटका किसानका लागि बाँदरको समस्या लामो समयदेखि खेतीको प्रमुख चुनौती बन्दै आएको थियो। मकै, कोदो, तरकारीलगायतका बालीमा बाँदरले क्षति पुर्‍याएपछि किसानले वर्षभरि गरेको मेहनत खेर जाने अवस्था थियो। बाली जोगाउन दिनभर बाँदर धपाउनुपर्ने र त्यसो गर्दा पनि उत्पादन सुरक्षित गर्न नसकिने भएपछि कतिपय किसानले खेतीयोग्य जमिनसमेत बाँझो राख्न थालेका थिए।

यही समस्याको वैकल्पिक समाधानका रूपमा अकबरे खुर्सानी खेती अघि सारिएको हो। अन्य परम्परागत बालीको तुलनामा अकबरे खुर्सानीमा बाँदरले कम क्षति पुर्‍याउने भएकाले किसानलाई यसतर्फ आकर्षित गरिएको परियोजनाले जनाएको छ।

भीरकोट नगरपालिकाका मेयर गोविन्दकुमार कर्माचार्यले किसानलाई आत्मनिर्भर बनाउने र व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गर्न सकिने सम्भावना परीक्षण गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको बताए।

‘किसानलाई आत्मनिर्भर बनाउने र व्यावसायिक रूपमा खुर्सानी खेती गर्न सकिने सम्भावना परीक्षण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो,’ उनले भने, ‘उत्पादन राम्रो भएको छ। बजार व्यवस्थापनमा पनि परियोजनाले सहजीकरण गरिरहेको छ। यसले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न सहयोग पुगेको छ।’

उनका अनुसार कृषि क्षेत्रलाई उत्पादन र आम्दानीसँग जोडेर किसानको जीवनस्तर सुधार्न र रोजगारी सिर्जना गर्न नगरपालिकाले परियोजनामार्फत  व्यवसायिक खेतीलाई प्राथमिकता दिएको छ । अकबरे खुर्सानी खेती त्यसैको एउटा प्रयोगका रूपमा अघि बढाइएको हो।

किसानले बजार खोज्नुपर्दैन

व्यावसायिक खेतीमा उत्पादनसँगै बजारीकरण सबैभन्दा महत्वपूर्ण पक्ष मानिन्छ। उत्पादन गरे पनि बजार नपाउँदा किसानले उचित मूल्य नपाउने समस्या रहँदै आएको छ। भीरकोटमा भने अकबरे खुर्सानी खेती सुरु गर्दादेखि नै बजार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।

परियोजनाले किसानका बारीमा उत्पादित खुर्सानी नियमित रूपमा  संकलन गरी बुटवल र पोखरा पठाउने गरेको छ। शनिबार र मंगलबार संकलन हुने खुर्सानी आइतबार र बुधबार बजारमा पठाइन्छ। नियमित संकलन र बजार पठाउने प्रणाली बनेपछि किसानलाई उत्पादन बिक्रीका लागि व्यापारी खोज्दै हिँड्नुपर्ने अवस्था छैन।

परियोजनाले किसानबाट संकलित खुर्सानी प्रतिकेजी दुई  सयका थोक दरले थोक मूल्यमा निकासी  गर्दै आएको छ।किसानहरूले फुटकर बेच्दा भने दोब्बर मूल्यमा बेच्दै आएका छन् ।किसानहरूले आफ्नो खुशी अनुसार थोक तथा खुद्रा मूल्यमा बिक्री गर्दै आएका छन् ।   

परियोजना प्रमुख पीताम्बर बस्यालका अनुसार किसानलाई बिरुवा वितरणदेखि उत्पादन, प्राविधिक सहयोग र बजारीकरणसम्म सहजीकरण भइरहेको छ। स्थानीयस्तरमा स्थापना गरिएका नर्सरीबाट उत्पादन गरिएका अकबरे खुर्सानीका बिरुवा किसानलाई वितरण गरिएको थियो।

परियोजनाका प्राविधिकले मल व्यवस्थापन, सिँचाइ, जैविक विषादी निर्माण, रोग तथा किराको नियन्त्रण र बाली व्यवस्थापनसम्बन्धी प्राविधिक परामर्श दिँदै आएका छन्। उत्पादनको गुणस्तर कायम राख्न किसानलाई नियमित रूपमा आवश्यक सुझावसमेत दिइने गरिएको छ।

धेरै उत्पादन गर्ने किसानमा बढ्यो उत्साह

भीरकोटमा ७० भन्दा बढी किसानहरूले व्यावसायिक खुर्सानी खेती गरिरहेका छन् । खुर्सानी खेतीबाट राम्रो उत्पादन लिन सफल किसानहरूमा आगामी वर्ष खेती विस्तार गर्ने उत्साह देखिएको छ। केही किसानले सानो क्षेत्रफलबाट सुरु गरेको खेतीबाट राम्रो उत्पादन र आम्दानीको सम्भावना देखेपछि क्षेत्रफल बढाउने तयारी गरेका छन्।

भीरकोट–७ का किसान भीमबहादुर केसीले तीन रोपनी क्षेत्रफलमा करिब एक हजार पाँच सय अकबरे खुर्सानीका बिरुवा लगाएका छन्। यसअघि मकै, कोदो र मौसमी तरकारी खेती गर्दै आएका उनले बाँदरका कारण पटक–पटक क्षति व्यहोर्नुपरेपछि खुर्सानी खेती रोजेका हुन्।

उनले यो वर्ष खुर्सानी  उत्पादन राम्रो भएको र ५ सय केजी बिक्री गरिसकेको बताए । हालससम्म एक लाख रुपैयाँसम्म आम्दानी गरिसकेको र खुर्सानी उत्पादन भैरहेको बताए ।

‘पहिले बाली पाक्ने बेलासम्म जोगाउनै मुस्किल हुन्थ्यो। अहिले खुर्सानीमा खेती गरेपछि बाँदरको चिन्ता छैन । उत्पादन पनि राम्रो देखिएको छ, दैनिकजसो आम्दानी भइरहेको छ’ उनले भने, ‘बजारको चिन्ता पनि छैन, सकेको आफैले बेचेको छु नसके परियोजनाले बेचिदिन्छ ।’

भीरकोट ९ का किसान भेमराज रेग्मीले १.५ रोपनीमा खुर्सानी खेती गरेका छन् ।उनले हालसम्म ३सय ५० केजी खुर्सानी बिक्रि गरिसकेका छन् ।उनी भन्छन्, ‘एक महिनामै करिब ७० हजार आम्दानी भयो खुर्सानी बिक्रीबाट, संकलन र बिक्रीको जिम्मा नगरपालिकाले लिएको छ , आगामी वर्ष खेती विस्तार गर्ने सोचमा छु ।’

‘बारीदेखि संकलन केन्द्रसम्मको ढुवानीमा अलिकति समस्या भएको छ, उनले भने ‘उत्पादन अनुसार ढुवानीको जिम्मा नगरपालिकाले लिने हो भने किसानलाई थप सहज हुन्छ ।’

भीरकोट–६ का नरेशबहादुर केसीले बाँदरको समस्याका कारण लामो समयदेखि आफ्नो बारीको केही हिस्सा बाँझो राख्दै आएका थिए। यस वर्ष एक रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरेका उनले पहिलोपटक उत्पादनबाट उत्साहजनक परिणाम पाएको बताए।

उनका अनुसार थोरै क्षेत्रफलबाटै राम्रो उत्पादन लिन सकिएपछि आगामी वर्ष थप जग्गामा खुर्सानी लगाउने योजना छ।

‘बाँदरका कारण बारी बाँझो राख्नुपर्ने अवस्था थियो। अहिले खुर्सानी खेती गर्दा बारीको उपयोग पनि भएको छ र आम्दानीको सम्भावना पनि देखिएको छ,’ उनले भने।

भीरकोट ७ का किसान ननिता अर्यालले ४ रोपनी क्षेत्रफलमा खुर्सानी खेती गर्नुभएको छ । अन्य किसानको तुलनामा ठूलो क्षेत्रफलमा खेती गरेका उनी व्यावसायिक उत्पादनतर्फ केन्द्रित छन्।

यस वर्ष ३ सय ५०  केजी खुर्सानी बिक्री उनले  ७० रूपैयाँ आम्दानी गरिसकेकी छन् । उत्पादित खुर्सानी मध्ये घरमै सुकाएर राखेकी छन् भने उनले खुर्सानीको अचार उत्पादन समेत सुरू गरेकी छन् ।

अकबरे खुर्सानीको अचार प्रतिकेजी १ हजार देखी १२ सयसम्म बिक्री हुने गरेको उनले बताइन् । ‘अहिले परीक्षणका रूपमा अचार उत्पादन गरेका हौँ, अब निश्चित ब्रान्डसहित व्यवसायिक रूपमै अचार उत्पादन गर्ने सोचमा छौं।’

‘खुर्सानी खेतीलाई व्यावसायिक रूपमा गर्न सकिने रहेछ भन्ने यस वर्षको उत्पादनले देखाएको छ,’ उनले भनिन्, खाद्यान्न बालीको तुलनामा खुर्सानी खेती र यसको आम्दानीबाट म खुसी छु, उत्पादन भैरहेको छ राम्रो आम्दानी हुनेमा आशावादी छु ।’

सात टन बजारमा

भीरकोट नगरपालिका र हेफर नेपालको संयुक्त लगानीमा संचालन भैरहेको परियोजनाका अनुसार भीरकोटबाट हालसम्म करिब सात टन अकबरे खुर्सानी बुटवल र पोखरा बजारमा पठाइसकिएको छ। उत्पादन बढ्दै जाँदा बजारमा पठाउने परिमाण पनि थपिने अपेक्षा गरिएको छ।

परियोजनाले नियमित संकलन र बजार व्यवस्थापन गरिरहेकाले किसानले उत्पादनमा ध्यान दिन पाएका छन्। बुटवल र पोखरामा अकबरे खुर्सानीको माग रहेकाले स्थानीय किसानले आगामी दिनमा थप उत्पादन गर्न सक्ने सम्भावना देखिएको परियोजनाको भनाइ छ।

कृषि प्राविधिकका अनुसार भीरकोटको हावापानी र भौगोलिक उचाइ अकबरे खुर्सानी खेतीका लागि उपयुक्त छ। करिब ७०० देखि १,४०० मिटर उचाइसम्म यसको उत्पादन गर्न सकिने प्राविधिकहरूको भनाइ छ। उचित मल व्यवस्थापन, सिँचाइ, रोग–किरा नियन्त्रण र नियमित हेरचाह गर्न सके एक बोटबाट चारदेखि आठ किलोसम्म उत्पादन लिन सकिने अनुमान गरिएको छ।

नगरपालिकाको कृषि शाखा प्रमुख श्रवण कुमार विष्टले खुर्सानी खेतीको परीक्षण सफल भएको बताए । कृषकहरूलाई प्राविधिक सेवा परियोजनाकै कृषि प्राविधिकहरूले दिएको बताउंदै उनले भने, कृषि शाखाले अनुगमनको काम मात्रै गरिरहेको छ ।,

‘ट्रायलका रूपमा गरिएको खुर्सानीको  उत्पादन राम्रो भएको छ ।बजारमा अन्य खुर्सानीको तुलानामा अकबरे खुर्सानीको माग बढी भएकाले यसको खेती गरिएको हो । आगामी वर्षहरूमा खेती विस्तार गर्ने र दिगोपना कायम गर्नेगरी नगरपालिका अगाडि बढेको छ ।‘ उनले भने  ‘फागुन चैत्रमा खुर्सानी रोपेको भए उत्पादन अझ राम्रो हुने हाम्रो परीक्षणले देखाएको छ, कहीकतै ढुसी रोगको समस्या पनि छ तर समग्रमा परीक्षण सफल भएको छ ।’

व्यावसायिक खेतीको सम्भावना देखियो

अकबरे खुर्सानीलाई परियोजनाले नगदे तथा व्यावसायिक बालीका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। पहिलो चरणमा गरिएको खेती र बजार परीक्षणबाट उत्साहजनक परिणाम आएपछि आगामी वर्ष खेती विस्तार गर्ने सम्भावना बढेको छ।

परियोजनाले किसानलाई केवल बिरुवा वितरण गरेर छाडेको छैन। किसान समूह गठन, क्षमता अभिवृद्धि, उत्पादन योजना, प्राविधिक परामर्श र बजारसँग जोड्ने कामलाई पनि प्राथमिकता दिएको छ। यसले किसानलाई परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक कृषितर्फ लैजान सहयोग पुगेको परियोजनाको भनाइ छ।

तर व्यावसायिक खेतीलाई दीर्घकालीन रूपमा सफल बनाउन उत्पादन मात्रै पर्याप्त हुँदैन। बजार मूल्यमा हुने उतारचढाव, ढुवानी खर्च, भण्डारण, प्रशोधन, रोग–किरा नियन्त्रण तथा गुणस्तर कायम राख्ने विषयमा पनि ध्यान दिनुपर्ने चुनौती छ।

हालसम्मको उत्पादन बजारमा पठाउन सफल भएकाले किसानमा भने उत्साह बढेको छ। नियमित बजारको व्यवस्था भइरहेमा किसानले खेतीको क्षेत्रफल बढाउने सम्भावना देखिएको छ।

भीरकोट नगरपालिकाले कृषि क्षेत्रलाई स्थानीय आर्थिक विकासको आधारका रूपमा अघि बढाउने नीति लिएको छ। दूध, तरकारी तथा मासु उत्पादनमा आत्मनिर्भर बन्ने योजनासँगै किसानको आय वृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकता दिइएको छ। अकबरे खुर्सानी खेती पनि यही योजनाको महत्वपूर्ण हिस्सा बनेको छ।

बाँदरका कारण परम्परागत बालीमा क्षति व्यहोर्दै आएका किसानका लागि अकबरे खुर्सानी अहिले वैकल्पिक आम्दानीको माध्यम बन्न थालेको छ। सात टन उत्पादन बजारमा पठाइसकिएको र किसानले बजार खोज्न नपर्ने गरी परियोजनाले बजारीकरणको जिम्मेवारी लिएको अवस्थामा यो अभ्यासले व्यावसायिक खेतीको सम्भावना देखाएको छ।

यदि उत्पादन, बजार र मूल्यले आगामी दिनमा पनि साथ दिए अकबरे खुर्सानी भीरकोटका किसानका लागि मात्र नभई बाँदरपीडित अन्य पहाडी क्षेत्रका किसानका लागि समेत नयाँ व्यावसायिक बाटो बन्न सक्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्