नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाचार

मर्यादित र अनुशासित रूपमा देउसी खेल्न प्रशासनको अपिल

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले  शान्ति–सुरक्षा कायम राख्दै मर्यादित र अनुशासित रूपमा पर्व मनाउन अनुरोध गर्दै  नौ बुँदे सचेतना अपिल सार्वजनिक गरेको छ । प्रशासनले राति ९ बजेपछि तिहार पर्वको देउसी–भैलो नखेल्न अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक विज्ञप्ति जारी गर्दै नागरिकहरूलाई अपिल गरेको हो।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार देउसी, भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलाप धर्म, संस्कृतिलाई ठेस नपुग्ने गरी मर्यादित रूपमा राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध गरिएको छ । सार्वजनिक यातायातमा असर पर्ने, होहल्ला र अशान्ति सृजना गर्ने गतिविधि तत्काल रोकिने पौडेलले बताउनुभयो ।

दीपावलीको समयमा विद्युत् र मैनबत्तीजस्ता सामग्रीको प्रयोगमा सावधानी अपनाउन, सम्भावित आगलागीमा तुरुन्त सुरक्षा निकायलाई खबर गर्न, मादक पदार्थ सेवन गरेर होहल्ला वा झगडा नगर्न पनि आग्रह गरिएको छ ।

साथै, सवारीसाधनको छतमा झुण्डिएर यात्रा नगर्न, यात्रुबाट बढी भाडा असुल्नेलाई कारबाही गरिने चेतावनी दिइएको छ । दीपावली मनाउने क्रममा भुईँचम्पा, पटाका, आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग, अवैध आयात वा बिक्री वितरण गर्नेलाई पनि कडा कानूनी कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ ।विज्ञप्तिमा अखाद्यवस्तु, रङ मिसाइएका मिठाइ, म्याद गुज्रेका मसला तथा प्लास्टिकका फूलमाला प्रयोग र बिक्री वितरण नगर्न समेत अनुरोध गरिएको छ ।

त्यस्तै, जुवाजन्य खेल, कृत्रिम अभाव सिर्जना वा अन्य अवैध गतिविधि भएको खण्डमा तत्काल नियन्त्रणका लागि प्रहरी कन्ट्रोल नम्बर १०० मा सम्पर्क गर्न आग्रह गर्दै, प्रशासनले सचेत र जिम्मेवार नागरिकको रूपमा पर्व मनाउन सबैलाई आह्वान गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्