नेभिगेशन
समाचार

प्रहरी दिवसको अवसरमा रक्तदान

७१औँ प्रहरी दिवस २०८३ को अवसरमा स्याङ्जामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, स्याङ्जा जिल्ला शाखाको प्राविधिक सहयोगमा बिहीबार  रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा २१ जना प्रहरी कर्मचारी र १ जना सर्वसाधारण गरी जम्मा २२ जनाले रक्तदान गरेका थिए।

कार्यक्रमको शुभारम्भ नेपाल रेडक्रस सोसाइटी, स्याङ्जा जिल्ला शाखाका सभापति दिनेश अर्यालले जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरलाई ब्लड ब्याग हस्तान्तरण गरेर गरेका थिए।

कार्यक्रममा सहभागी रक्तदाताहरूलाई प्रहरी उपरीक्षक राठौरले धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र वितरण गरेका थिए। उनले रक्तदानको महत्त्व र मानवीय सेवामा यसको योगदानलाई आत्मसात् गर्नुपर्ने सन्देश दिएका थिए।

“आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको सहज उपलब्धताका लागि सहकार्य गर्दै मानवजीवनको रक्षा तथा सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने” उद्देश्यले कार्यक्रमको  आयोजना गरिएको प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले बताए। उक्त कार्यक्रमले आवश्यक परेको समयमा रगतको अभाव हुन नदिन सहयोग पुग्ने विश्वास लिइएको छ।

साथै, यसले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्न र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्