नेभिगेशन
समाचार

स्याङ्जामा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वको समयमा यात्रुहरूको यात्रा सहज, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले स्याङ्जामा तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको संयुक्त पहलमा पुतलीबजार नगरपालिका–१ स्थित ट्राफिक चोक, वालिङ नगरपालिका–८ स्थित वालिङ मोड र गल्याङ नगरपालिका–३ स्थित गल्याङ बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो।

चाडपर्वका बेला यात्रुको चाप बढ्ने तथा सवारी आवागमनसमेत बढी हुने भएकाले यात्रुहरूलाई आवश्यक सूचना, सहयोग तथा सुरक्षा प्रदान गर्न सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेश दत्त अवस्थीले जानकारी दिए।

उनका अनुसार यात्राका क्रममा कुनै समस्या, असहजता, आवश्यक सूचना वा गुनासो भएमा यात्रुहरूले नजिकैको यात्रु सहायता कक्षमा सम्पर्क गर्न सक्नेछन्। साथै, आपराधिक गतिविधि वा कुनै शंकास्पद गतिविधिबारे जानकारी पाएमा तत्काल प्रहरीलाई खबर गर्न प्रहरीले आम नागरिक तथा यात्रुहरूलाई अनुरोध गरेको छ।

यात्रुहरूले यात्रु सहायता कक्षको सम्पर्क नम्बर ९८५६०९०१६२, प्रहरी कन्ट्रोल १०० वा ट्राफिक प्रहरी १०३ मा सम्पर्क गर्न सक्ने जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
चाडपर्वलाई सुरक्षित, मर्यादित र दुर्घटनारहित बनाउन यात्रु, चालक तथा सर्वसाधारणले ट्राफिक नियमको पालना गर्दै प्रहरीलाई आवश्यक सहयोग गर्नसमेत प्रहरीले आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्