भीरकोट नगरपालिकामा व्यवसायिक तरभुजा खेती सुरु गरिएको छ । पालिकामा व्यवसायिक कृषिलाई प्राथमिकतामा राखेर करिब २० रोपनी क्षेत्रफलमा तरभुजाखेती सुरु गरिएको नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिनुभयो ।हेफर इन्टरनेशनलसँगको सहकार्यमा “भीरकोट कृषि तथा पशु विकास परियोजना” मार्फत तरभुजा खेतीको व्यवसायिक सम्भाव्यता परीक्षण गर्न लागिएको उहाँले बताउनुभयो । परीक्षण सफल भएमा व्यावसायिक तरभुजा खेती विस्तार गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो।
आँधिखोला किनारको हावापानी र माटो तरभुजा खेतीका लागि उपयुक्त देखिएकाले व्यावसायिक परीक्षणका लागि कृषकहरूलाई बीउ, बेर्ना, मल्चिङ प्लास्टिक र प्राविधिक सहयोग गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले किसानलाई उत्पादन र रोजगारीसँग जोड्न प्रयास गरिरहेका छौं ।आगामी २ वर्षमा भीरकोटमा व्यवसायिक कृषिको जग बस्नेछ ।मासु , दुध र तरकारी खेतीमा आत्मनिर्भर हुने तरिकाले हामीले काम गरिरहेका छौं ।”
भीरकोट नगरपालिका १मा भीरकोट खेलमैदान परिसर, वडा नं ४ को छाङछाङदी र झारुङखोला फाँट , वडा नं ५ को पकान, वडा नं ६ को एकुवार फाँटमा तरभुजा खेती सुरु गरिएको सामुदायिक सहजकर्ता माला थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ४ वटा वडाका १८ किसानले तरभुजा रोपेका छन् ।
परियोजना प्रमुख डा. दमन अधिकारीले पाइलट प्रोजेक्टका रूपमा तरभुजा खेती थालिएको बताउनुभयो। उहाँले लक्ष्मी र सरस्वती दुई जातका तरभुजा नमुना परियोजनाका रुपमा रोपिएको जानकारी दिनुभयो । भीरकोट कृषि विकास परियोजना अन्तर्गत सिमला मिर्च र अकबरे खुर्सानीको समेत व्यवसायिक खेती गरिने छ । बजारमा सिमला मिर्च र अकबरे खुर्सानीको माग र व्यवसायिक सम्भावना राम्रो भएकाले प्राथमिकता दिइएको उहाँले बताउनुभयो।सिमला मिर्च र खुर्सार्नीको बेर्ना उत्पादनको काम भैरहेको उहाँले बताउनुभयो।
परियोजनाका कृषि प्राविधिक अनिष अर्यालले ९ वटै वडामा अकबरे खुर्सानीको व्यवसायिक खेती गर्न लागिएको जानकारी दिनुभयो। करिब १०० रोपनी क्षेत्रफलको लागि बेर्ना उत्पादनको काम भैरहेको उहाँले बताउनुभयो । कृषकको माग भएमा क्षेत्र विस्तार गरिने उहाँले बताउनुभयो। न्युनतम १ रोपनी र अधिकतम ५ रोपनी क्षेत्रफलमा खेती गर्ने किसानलाई मल्चिङ प्लास्टिक प्रदान गरिएको बताउनुभयो। बीउ, बेर्ना र प्राविधिक सहयोग भने आवश्यकता अनुसार प्रदान गरिने उहाँले जानकारी दिनुभयो। वडा नं १,२ र ५ मा व्यवसायिक तरकारी उत्पादन गर्ने र अन्य वडामा बाख्रा पालन र भैसीपालन कार्यक्रम अगाडि बढाइने छ। पशुपालनको लागि घाँस उपलब्ध स्थापना गरिएको स्रोत केन्द्रमा काफलका १२ हजार बिरुवा उत्पादन भैरहेको उहाँले बताउनुभयो।