नेभिगेशन
शिक्षा तथा खेलकुद

प्रचण्ड कप  महिला भलिबल प्रतियोगिता पोखरामा हुँदै, प्रथम पुरस्कार ६ लाख 

नेसनल स्पोर्ट्स एकेडेमी र अखिल नेपाल खेलकुद महासंघकोको आयोजनामा 'प्रचण्ड कप: राष्ट्रिय महिला भलिबल प्रतियोगिता -२०८२' पोखरामा हुने भएको छ । जेठ २७ गतेदेखि ३१ गतेसम्म पोखरा रंगशालास्थित मल्टिपर्पोज कभर्डहलमा हुने  प्रतियोगितामा राष्ट्रिय स्तरका ६ वटा प्रमुख टीम/क्लबको सहभागिता रहने नेसनल स्पोर्ट्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिनुभयो ।

नेपालका तीन विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल नेपालको नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लब प्रतियोगितामा सहभागी हुँदैछन् ।

प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने नेसनल स्पोर्ट्स एकेडेमीका अध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।

प्रतियोगितामा तेस्रो हुने टीम/क्लबले एक लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई तीस हजार रुपैयाँ र अन्य विधागततर्फका उत्कृष्ट खेलाडीहरुलाई जनही बीस हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष कोइरालाले जानकारी दिनुभयो।प्रतियोगिता नेपाल भलिबल संघ र एभआइभिवीको नियमअनुसार राउन्ड रोबिन लिगका आधारमा खेलाइनेछ भने सहभागी टिममा ३ जनासम्म  विदेशी खेलाडी खेलाउन पाउने व्यवस्था गरिएको छ ।

राष्ट्रिय खेल भलिबलको व्यवसायिक विकास  र   खेलाडीहरुको क्षमता विकास र प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको  बताउँदै कोइरालाले  तत्कालीन प्रचण्ड सरकारले वि.सं. २०७५ सालमा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको स्मरण गर्नुभयो। 

प्रतियोगिताको सह-आयोजक अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइरालाले वृहत् खेलकुद महोत्सव आयोजनाको तयारी गरिरहेको बताउनुभयो। प्रतियोगितामा प्रदेश खेलकुद परिषद् गण्डकी र जिल्ला खेलकुद विकास कास्कीको विशेष सहयोग रहने बताइएको छ । एकेडेमीले पोखरामा बुधबार दिउँसो पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल संघको स्वीकृतिमा संचालन हुने आयोजकले जानकारी दिएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्