नेभिगेशन
शिक्षा तथा खेलकुद

शिक्षक संगठनको मूल  नेतृत्वमा त्रि-पक्षीय भिडन्त 

नेपाल  राष्ट्रिय शिक्षक संगठनको  १४ औं राष्ट्रिय महाधिवेशन ललितपुरमा  जारी छ। यहि असार ५ गते समुद्घाटन भएको अधिवेशनको  ६ गतेदेखि बन्दसत्र सुचारु अवस्थामा छ। यहि बन्द सत्रले असार ७ गतेसम्म शिक्षक  संगठनको राष्ट्रिय  नेतृत्व चयन  गर्नेछ,जसले शिक्षक र शिक्षा क्षेत्रमा रहेका कयौं समस्या समाधानको अगुवाइ गर्ने विश्वास लिइएको छ । देशभरका शिक्षकहरूको एउटा ऎतिहासिक र महत्त्वपूर्ण शिक्षक संगठन भएको कारण यस अधिवेशन र आउने मूल नेतृत्वलाई सर्वत्र चासोको रुपमा हेरिएको छ। 

अधिवेशनमा राष्ट्रिय अध्यक्षको प्रतिस्पर्धामा वर्तमान उपाध्यक्ष कमला थापा , महासचिव  हंस बहादुर शाही र गण्डकी प्रदेश इन्चार्ज याम बहादुर कुंँवर देखिनु भएकोले  सहमतिको कुनै सम्भावना कमै रहेको आंकलन गरिएको छ। प्रतिस्पर्धाको सम्भावना बढदै  गएको  शिक्षक संगठनका अग्रज नेताहरू बताउँछन ।

यस अधिवेशनमा शिक्षक संगठनका पूर्व राष्ट्रिय अध्यक्ष बाबुराम थापा सर्वसम्मत रुपमा आफ्नी श्रीमती तथा शिक्षक नेता कमला थापालाई अध्यक्ष पदमा चयन गराउन लागी परेको भएपनि उहाँ सरकारी विद्यालयको शिक्षक नभएको  कारण अध्यक्ष पदमा थापाको पक्षमा सर्वसम्मत हुन कठिन  देखिन्छ । यस्तो अवस्थामा थापा कडा प्रतिस्पर्धामा उत्रने निश्चित छ । श्रीमान् बाबुराम थापाको संगठनमा राम्रो प्रभाव रहेको र लामो समयसम्म शिक्षक संगठन एवम् अन्तर्राष्ट्रिय फोरममा समेत क्रियाशिल कमला थापा आफैमा सक्षम र योग्य नेतृ भएको कारण  उहाँ शिक्षक संगठनको प्रथम महिला अध्यक्ष  हुनेमा कुनै शंका नरहेको वहाँ निकटतम शिक्षक नेताहरू बताउछन् ।

अर्का प्रतिस्पर्धी कालिकोट जिल्लाका हंस वहादुर शाही, हाल नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिको महासचिव हुनुहुन्छ ।यसभन्दा अगाडिको संगठनमा उहाँको  क्रियाशिलतालाई हेर्दा गर्दा २ कार्यकाल संगठनको कालिकोट जिल्ला अध्यक्ष वि.स. २०५८-२०६२ सम्म, श्री कालिका मा.वि. कालिकोटको प्रधानाध्यापक २०६०-२०७५ सम्म, शिक्षक यूनियन कालिकोटको अध्यक्ष २०६०-२०७० सम्म, केन्द्रिय सदस्य २०६२-२०६५ सम्म, केन्द्रिय उपाध्यक्ष २०७०-२०७५ सम्म राष्ट्रिय  समिति महासचिव २०७६ देखि हाल सम्म २ कार्यकाल रहेको देखिन्छ।

शिक्षक संगठन र शिक्षक महासंघको समेत  नेतृत्वको लामो अनुभव भएका शाही संघर्ष, साहस र निष्ठाका प्रतिकको रूपमा आफुलाई अध्यक्षको प्रत्यासीको रुपमा अगाडि बढाइरहनुभएको  छ। आफ्नो कार्यशैली, योगदान, साहस र शिक्षकहरुबिचको लोकप्रियता ले नै आफ्नो जीत सुनिश्चित रहेको उहाँको दाबी छ।

यसरी नै  अध्यक्ष पदमा स्याङ‌जाका याम वहादुर कुँवर पनि प्रतिस्पर्धामा हुनुहुन्छ।उहाँ हाल श्री सरस्वती मा. वि. वालिङ का प्रधानाध्यापक र संगठनको गण्डकी प्रदेश इन्चार्ज हुनुहुन्छ। यसभन्दा अगाडीको जिम्मेवारी हेर्दा नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङजाको अध्यक्ष २ कार्यकाल वि.स. २०६५-२०७५ सम्म, राष्ट्रिय सदस्य १ कार्यकाल वि.स. २०७५-२०७८ सम्म रहेको ,हाल प्राध्यापक संघ, वालिङ बहुमुखी  क्याम्पसको अध्यक्ष समेत रहेका कुँवर एक सशक्त र जुझारू नेता मानिनु हुन्छ । कुशल, र सक्रिय नेतृत्व, अनुभव, जुझारुपन, लोकप्रियता र शिक्षकहरुको व्यापक समर्थन नै आफ्नो जितको आधार भएकोले जित सुनिश्चित रहेको उहाँको  दाबी  छ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय अध्यक्षका प्रतिस्पर्धामा रहेका कुन शिक्षक नेता लाइ पार्टीका कुन नेता, सिंगो पार्टी वा  पक्षको समर्थन रहेको छ?भन्ने खुलि सकेको नभएता पनि पार्टी नेताको समर्थन प्राप्त गर्ने दौडमा प्रतिस्पर्धामा रहेका तिनवटै शिक्षक नेताहरू  रहेको विश्वस्त स्रोत बताउँछ।

महासचिवमा पनि प्यानलगत उम्मेदवारी दर्ता भएका छन्। कमलाको थापाको प्यानलबाट सुर्य बराल, हंस बहादुर शाहीको प्यानलबाट प्रकाश खनाल याम बहादुर कुँवरको प्यानलबाट सुरेन्द्र घिमिरेले महासचिवमा उम्मेदवारी दर्ता गराउनुभएको छ।

नेपाल  राष्ट्रिय शिक्षक संगठनका अधिकांश शिक्षक नेताहरू  १४ औं राष्ट्रिय महाधिवेशनबाट आन्दोलनका सहमति पुर्णतः कार्यन्वयन गराउन सक्ने, क्षमतावान अनुभवबाट खारिएको, समग्र देशभरिका शिक्षकको समस्या बुझ्न सक्ने,  शैक्षिक समस्या समाधान गर्ने मार्गचित्र तथा एजेन्डा सहित सबल र सक्षम योग्य "नेतृत्व" चयन हुनुपर्ने  अडानमा रहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्