नेपालको राजनीतिक यात्रा फेरि एउटा निर्णायक मोडमा पुगेको छ। अभूतपूर्व सफलता प्राप्त गरेको जेनजी आन्दोलनले दिएको सन्देश स्पष्ट छ—पुराना पार्टीहरूप्रति जनता मोहभंग भएका छन्। आन्दोलन केवल सडक तताउने वा सत्ता पल्टाउने साधन होइन, यो चेतावनी हो : अब दलहरूले समयमै आत्मसुधार नगरे भने जनताले वैकल्पिक बाटो रोज्नेछन्।
पुराना पार्टीहरूप्रति आक्रोश हुनुका धेरै कारण छन्। दलहरूले सधैं जनताको भन्दाभन्दा सत्ता र पदलाई प्राथमिकता दिएका छन्। सांसद पद गुम्दा, सरकारबाट हट्दा वा व्यक्तिगत स्वार्थ पूरा नहुँदा सुरु गरिएका आन्दोलनहरूले जनताको विश्वास जित्न सक्दैनन्। आन्दोलन बदला लिनको निम्ति होइन, सुधार र अग्रगमनका लागि हुनुपर्छ भन्ने कुरा राजनीतिक नेतृत्वले बुझ्नैपर्छ।
आज देशलाई आवश्यक छ—सुशासन, शान्ति र अग्रगमन। तर यसको सुरुवात शीर्ष तहबाट नभई आधारभूत संरचनाबाट हुनुपर्छ। वडास्तरदेखि नै पार्टीको पुनर्गठन गरेर सक्षम, इमानदार र जनप्रतिनिधि बन्न सक्ने नेतृत्व तयार गर्नु आजको आवश्यकता हो। दलहरूले पुराना अभ्यासलाई निरन्तरता दिने हो भने, नयाँ पुस्ता र जागरूक नागरिकले त्यसलाई स्वीकार्ने छैनन्।
यस सन्दर्भमा, शीर्ष नेताहरूको भूमिका महत्वपूर्ण हुन्छ। दशकौंसम्म पद र जिम्मेवारी सम्हालेर पनि जनअपेक्षा पूरा गर्न नसक्ने नेताहरूले अब नैतिकताको आधारमा राजीनामा दिनुपर्छ। नेतृत्व त्याग्ने संस्कारलाई कमजोरी होइन, दलभित्र नयाँ पुस्तालाई अवसर दिने सकारात्मक कदमका रूपमा लिनुपर्छ।
समग्रमा, अहिलेको समय सत्ता मोहको आन्दोलन होइन, दलभित्रको पुनर्गठन र आत्मसुधारको अभियान हो। जनताले चाहेको कुरा सरल छ—पार्टी होस् वा सरकार, सञ्चालन जनचाहनाअनुसार होस्। यही बाटो समात्न सके मात्र दलहरूले जनताको विश्वास पुनः जित्न सक्छन्। अन्यथा, इतिहासले देखाइसकेको छ—जनता जाग्छन्, र नयाँ विकल्प रोज्छन्।