नेपाल विविधतायुक्त संस्कृति, परम्परा र धार्मिक सद्भावले भरिएको देश हो । यहाँका प्रत्येक चाडपर्वहरूले नेपाली समाजमा एकता, सद्भाव र राष्ट्रिय पहिचानको भाव जागृत गर्छन् । अहिले तिहार र छठजस्ता महत्वपूर्ण पर्वहरूको उत्साह देशभर छाएको छ । तर, यस्ता चाडपर्वहरू मनाउने क्रममा अमर्यादित कृयाकलाप, कानुन उल्लंघन र सुरक्षासम्बन्धी चुनौतीहरू देखिनु दुःखद पक्ष हो । यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय, स्याङ्जाले जारी गरेको अत्यावश्यक सूचना समयोचित, जिम्मेवार र सराहनीय कदम हो, जसले नागरिकलाई आफ्नो कर्तव्यप्रति सचेत बनाउने सन्देश दिएको छ ।
प्रशासनले चाडपर्वमा मर्यादित, सुरक्षित र सभ्य आचरण अपनाउन सबै नागरिकलाई अपिल गरेको छ । राति ९ बजेपछि देउसी–भैलो नगर्न, सार्वजनिक यातायात र सर्वसाधारणको जीवनमा असर पर्ने कार्य नगर्न, पटका र आतिशबाजीको प्रयोग रोक्न, कृत्रिम मूल्यवृद्धि नगर्न, सवारी साधन सावधानीपूर्वक चलाउन र आपसी सद्भाव कायम राख्न निर्देशन दिइएको छ । यी सबै निर्देशन नागरिकको सुरक्षाको हितमा हुन् । साथै, प्रशासनले कानुन पालना र सामाजिक मर्यादाको सम्मान गर्नु हरेक नागरिकको साझा जिम्मेवारी हो भन्ने सन्देश स्पष्ट रूपमा दिएको छ ।
वास्तवमा, प्रत्येक नागरिक ‘विना बर्दीको प्रहरी’ हो । समाजमा अनुशासन, शान्ति र सभ्यता कायम गर्न हरेक नागरिकको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । चाडपर्वमा रमाइलो गर्नु हाम्रो संस्कृतिको अङ्ग हो, तर त्यो रमाइलो अरूको असुविधा, डर वा क्षति हुने गरी हुनु हुँदैन । पटका पड्काउने, सवारीको दुरुपयोग गर्ने, मादक पदार्थ सेवन गरेर अशान्ति फैलाउने कार्यहरूबाट हामी सबैले सचेत रहनुपर्छ । यस्ता कार्य रोक्न प्रशासन मात्र होइन, हरेक नागरिकको सक्रिय सहभागिता आवश्यक छ ।
साथै, बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, अत्यधिक मूल्य लिने वा नाफामुखी सोचले काम गर्ने व्यवसायीहरूलाई पनि जिम्मेवार बन्नु आवश्यक छ । चाडपर्वको अवसरमा ग्राहकको विश्वास जित्ने, सामाजिक उत्तरदायित्व पूरा गर्ने र इमानदारीपूर्वक व्यापार गर्ने बानी विकास गर्नुपर्छ ।
देश निर्माण केवल सरकार वा प्रशासनको जिम्मेवारी होइन । नागरिकले आफ्नो ठाउँबाट कानुनको पालना गर्ने, अरूलाई सहयोग गर्ने, स्वच्छ, मर्यादित र अनुशासित समाज निर्माणमा योगदान दिने कार्य नै सच्चा देशभक्तिको परिचायक हो ।
यस वर्षका चाडपर्वहरूलाई हामी सबैले संयमित, सभ्य र जिम्मेवार नागरिकका रूपमा मनाऔं । जिल्ला प्रशासनको अपिललाई आत्मसात् गर्दै, कानुनको सम्मान र सामाजिक सद्भाव कायम राख्दै अनुशासित र मर्यादित चाडपर्व मनाउनु नै हाम्रो साँचो नागरिक कर्तव्य हो । आखिर, सुशासन र समृद्ध राष्ट्र निर्माणको बाटो नागरिकको सचेत अनुशासनबाटै सुरु हुन्छ ।