नेभिगेशन
सुरक्षा/अपराध

एक हप्तामा २ हजार प्याकेट पटका बरामद

प्रहरीले चाडपर्व लक्षित चेकजाँचमा कडाई गरेपनि अवैध रूपमा पटका ओसारपसार र बेचबिखन  भैरहेको पाइएको छ। कहिले राम्दी चेकपोस्टमा त कहिले स्याङ्जा सदरमुकाम पुतलीबजारमै । स्याङ्जा प्रहरीले एक हप्ताको अवधिमा तीन पटक ठूलो परिमाणमा पटका बरामद गरि नष्ट गरेको छ।प्रहरीले एक हप्तामा २ हजार ८ प्याकेट पटका बरामद गरेर नष्ट गरेको हो।

असोज २३ गते  गल्याङ नगरपालिका –१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले नियमित सवारी चेकजाँचका क्रममा विभिन्न ब्राण्डका १ हजार २८ प्याकेट पटका बरामद गरेको थियो। बुटवलबाट वालिङतर्फ आउँदै गरेको बीएए ७७०४ नम्बरको स्कर्पियो जीपमा लुकाइ–छिपाइ ल्याइएका पटका फेला पारिएको थियो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार रकेट बम चार प्याकेट, कमाण्डो ग्रीर बम एक प्याकेट, कलर कोटि दुई प्याकेट, ग्राउन्ड चक्कर ११ प्याकेट, मिनि बुलेट ७५ प्याकेट, माइट्टी एटम पाँच प्याकेट, हाइड्रोफोल्ड पचास प्याकेट, शिखा कलर तीस प्याकेट र चोइसा क्र्याकर्स ८ सय ५० प्याकेट पटका बरामद भएका थिए । 

प्रहरीले २६ गते दिउँसो सदरमुकाममा बेचबिखन भैरहेको ४९ प्याकेट पटका बरामद गरेको थियो।पुतलीबजार नगरपालिका वडा नं १ ट्राफिक चोक बस्ने २४ वर्षीय सजिता खातुनको घरबाट उक्त पटका बरामद गरिएको थियो।

यस्तै २७ गते सोमबार राम्दीमै चेकजाँचका क्रममा ९ सय ३१ प्याकेट पटका बरामद गरिएको छ। बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु २ ख ३३६ नम्बरको ट्रकमा लुकाइछीपाई ल्याइएको ट्रकी इलेक्ट्रीक क्र्याकर्स ९ सय ५ प्याकेट, ग्राउन्ड चक्कर ६ प्याकेट र लुम्बा बुलेट २०प्याकेट गरि ९ सय ३१ प्याकेट पटका बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

बरामद गरिएका पटकाहरू प्रहरीले स्थानीय जनप्रतिनिधि,भद्रभलादमी, पत्रकारहरू तथा स्थानीय व्यक्तिहरूको संलग्नमा नष्ट गरेको  प्रहरी नायब उपरीक्षक स्याङ्जाका प्रसन्न राज चौधरीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्