नेभिगेशन
शिक्षा तथा खेलकुद

१ सय ३० विद्यार्थीलाई विद्यालय पोशाक वितरण

भीरकोट नगरपालिकाको वडा नं ८ मा अवस्थित पब्लिक एकेडेमी माध्यमिक विद्यालयका १ सय ३० जना विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरिएको छ। चिकित्सक एवं युवा  समाजसेवी डा. मनोर दिन सैयदको पहलमा विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको हो । सैयदले मानवीय परोपकारी संस्था नेपाल मार्फत विद्यार्थीहरूलाई पोशाक वितरण गर्नुभएको हो।

आइतबार विद्यालयमा आयोजित पोशाक वितरण कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले डा. सैयदले भीरकोटको स्वास्थ्य र शिक्षाको क्षेत्रमा दिल खोलेर सहयोग गरेको बताउँदै उहाँको सहयोगप्रती आभार व्यक्त गर्नुभयो।उहाँले विद्यार्थीहरूलाई अध्ययनप्रती प्रतिबद्ध रहेर डा. सैयद जस्तै असल र उदाहरणीय बन्न अनुरोध गर्नुभयो।

पोशाक वितरण गर्दै डा. सैयदले विद्यार्थीको अनुहारमा खुशी र उत्साह भर्न मायाको चिनो स्वरूप पोशाक वितरण गरिएको बताउनुभयो। भीरकोटको शैक्षिक र सामाजिक विकासका लागि सक्दो सहयोग गर्ने डा. सैयदले प्रतिबद्धता व्यक्त गर्नुभयो। शिक्षा विकासको मेरूदण्ड भएकाले विद्यालय र विद्यार्थीलाई सहयोग गरिएको बताउनुभयो।

निवर्तमान नगर प्रमुख छायाराम खनालले डा. सैयदले गरेको जन्मभूमि भीरकोटको मायाको प्रशंसा गर्दै विद्यालय र बालबालिकालाई सबैले माया गर्नुपर्ने बताउनुभयो ।

नगर प्रवक्ता दिपेन्द्र के.सी., वडा नं ८ का अध्यक्ष नन्दलाल खनालको अनुरोधलाई सहर्ष स्वीकार गरेर डा. सैयदले विद्यालयमा अध्ययनरत जनजाति , दलित र विपन्न समुदायका विद्यार्थीहरूलाई  पोशाक वितरण गर्नुभएको विद्यालयका प्रधानाध्यापक गीता रोका क्षेत्रीले जानकारी दिनुभयो। 

कार्यक्रममा  बोल्दै वडा अध्यक्ष नन्दलाल खनालले वडा नं ८ मा स्वस्थ्य शिविर संचालन गर्न सहजीकरण गर्न डा. सैयदलाइ अनुरोध गर्नुभएको थियो। बालमैत्री वातावरण सृजना गर्न र शैक्षिक गुणस्तर सुधार्न पोशाक वितरणले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै उहाँले डा. सैयदलाई धन्यवाद दिनुभयो।

विद्यालयमा बालमैत्री वातावरण सृजना गर्न गरेको सहयोगप्रती आभार व्यक्त गर्दै विद्यालयले डा. सैयद र उहाँका बुवा नसिवदिन मियालाई सम्मान गरेको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर भुजेलले विद्यालय र बालबालिकाको हितमा सहयोग गर्नुहुने डा. सैयद र उहाँको परिवारलाई धन्यवाद दिनुभएको थियो।स्त्री रोग विशेषज्ञ डा. सैयद मनमोहन मेमोरियल अस्पताल काठमाडौंमा कार्यरत हुनुहुन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्