नेभिगेशन
शिक्षा तथा खेलकुद

भाग्योदय मा.वि. को स्वर्ण महोत्सव माघ १२ देखि १४ सम्म

स्याङ्जाको भीरकोट नगरपालिका -६ उजेलीडाँडामा अवस्थित श्री भाग्योदय माध्यमिक विद्यालयले यही माघ १२ देखि १४ गतेसम्म स्वर्ण महोत्सव मनाउने भएको छ । वि.सं. २०३३ सालमा एउटा समीको चौपारीको नाङ्गो चौरमा खरको छाना मुनिबाट सुरु भएको भाग्योदय माध्यमिक विद्यालयले ५० औं वर्ष प्रवेश गरेको अवसरमा विविध शैक्षिक, सांस्कृतिक कार्यक्रम , स्वर्ण स्मारक निर्माण, शैक्षिक मेला , बालप्रतिभा प्रदर्शनी र अतिरिक्त क्रियाकलापसहित स्वर्ण जयन्तीलाई शैक्षिक महोत्सवका रूपमा मनाउन लागिएको विद्यालयका प्रधानाध्यापक रेशमलाल खनालले जानकारी दिनुभयो। महोत्सवको उद्घाट्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने उहाँले बताउनुभयो।

स्वर्ण महोत्सवका लागि ५०१ सदस्यीय मूल समिति गठन गरिएको छ । महोत्सवलाई व्यवस्थित गर्न एवं सफल बनाउन ८ वटा विषयगत उपसमितिहरू गठन गरिएको विद्यालयका प्रधानाध्यापक रेशमलाल खनालले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छायाराम खनालको नेतृत्वमा स्वर्ण महोत्सव मूल आयोजक समिति गठन गरिएको छ। उहाँकै संयोजकत्वमा आर्थिक समिती गठन गरिएको छ। अध्यक्ष खनालले महोत्सव संचालनमा २० लाख खर्च हुने अनुमान गरिएको बताउनु भएको छ।

1000047130-1769138448.jpg
महोत्सवको प्रचारप्रसारको लागि ढाकाराम खनालको नेतृत्वमा स्वर्ण महोत्सव प्रचारप्रसार समिती बनाइएको छ। खनालको नेतृत्वमा रहेको पूर्व विद्यार्थीहरूको संस्था भाग्योदय पूर्व विद्यार्थी समाजले महोत्सव प्रचारप्रसारको काम गरिरहेको छ। स्वर्ण महोत्सव विशेष स्मारिका प्रकाशनका लागि पूर्व विद्यार्थी डा. तुलसीराम खनालको नेतृत्वमा स्मारिका प्रकाशन समिती गठन गरिएको छ। यसैगरी सांस्कृतिक कार्यक्रम व्यवस्थापन समितिको संयोजकमा नारायण प्रसाद अर्याल, अतिथि सत्कार समितिको संयोजकमा मुक्ति चापागाईं, मञ्च व्यवस्थापन समितिको संयोजकमा खडानन्द खनाल, खाजा व्यवस्थापन समितिको संयोजकमा तुलसी प्रसाद अर्याल, स्वयंसेवक, खेलकुद तथा अतिरिक्त कार्यक्रम व्यवस्थापन समितिको संयोजकमा भोज बहादुर थापालाई जिम्मेवारी दिइएको छ। भीरकोटमा नमूना विद्यालय विकास कार्यक्रम कार्यान्वयन गरिरहेको विद्यालयमा साधारण शिक्षातर्फ  ४ सय ६४ जना र प्राविधिक शिक्षा तर्फ २५ जना  विद्यार्थी अध्ययनरत रहेको सहायक प्रधानाध्यापक पूण्य प्रसाद अर्यालले जानकारी दिनुभयो। विद्यालयमा  ३५ जना शिक्षकहरू कार्यरत छन्। पूर्व प्राथमिक तहदेखि १२ कक्षा सम्म अंग्रेजी र नेपाली दुबै माध्यममा पढाइ हुने यो विद्यालयमा प्राविधिक शिक्षातर्फ १८ महिने कृषि प्राविधिक पढाइ भैरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्