प्रहरी कार्यालय पुगेपछि कुन फाँटमा जाने, कसलाई भेट्ने वा प्रक्रिया कसरी सुरु गर्ने भन्ने अन्योल धेरै सेवाग्राहीले भोग्ने समस्या हो । यही समस्या हटाउन जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नयाँ अभ्यास सुरु गरेको छ ।
प्रहरीले सेवाग्राहीलाई सहज र छिटो सेवा दिने उद्देश्यसहित ‘नागरिक सहजकर्ता’ सेवा सञ्चालनमा ल्याएको हो । कार्यालयको मूल गेटमै स्थापना गरिएको नागरिक सहायता कक्षमा विशेष पोसाकसहित प्रहरी कर्मचारी खटाइएका छन् । ‘नागरिक सहजकर्ता’ लेखिएको पोसाकमा रहेका उनीहरूले कार्यालयमा आउने नागरिकलाई आवश्यक जानकारी दिने, सम्बन्धित शाखासम्म पुर्याउने र सेवा लिन सहजीकरण गर्ने काम गरिरहेका छन् ।
प्रहरी कार्यालयमा आउने सेवाग्राहीले अनावश्यक सास्ती नपाउन् र कार्यालयभित्र भौतारिनु नपरोस् भन्ने उद्देश्यले सेवा सुरु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।
‘धेरै नागरिक पहिलो पटक प्रहरी कार्यालय आउँदा अलमलमा पर्नुहुन्थ्यो । कतिपयलाई कुन फाँटमा जाने भन्ने नै थाहा हुँदैनथ्यो,’ उहाँले भन्नुभयो, ‘अब गेटमै आवश्यक जानकारी पाएपछि सेवा लिन सहज भएको छ ।’
प्रहरी नायब निरीक्षकको कमाण्डमा सञ्चालन गरिएको सहायता कक्षले निवेदन लेखिदिने, उजुरी दर्ता प्रक्रियाबारे जानकारी गराउने, आवश्यक कागजातबारे बुझाउने तथा लाइन व्यवस्थापनमा समेत सहयोग गरिरहेको प्रहरी निरीक्षक अमृत त्रिपाठीले जानकारी दिनुभयो ।
यो व्यवस्थाबाट विशेषगरी वृद्धवृद्धा, अशिक्षित तथा पहिलो पटक प्रहरी कार्यालय पुग्ने सेवाग्राही लाभान्वित भएका छन् । कार्यालयमा पुगेर अन्योलमा पर्ने अवस्था घटेको भन्दै सेवाग्राहीले समेत सकारात्मक प्रतिक्रिया दिन थालेका छन् ।
स्थानीय व्यवसायी तथा सेवाग्राही शम्भु गुरुङले पहिले प्रहरी कार्यालय पुग्दा कुन शाखामा जाने भन्ने समस्या हुने गरेको अनुभव सुनाउनुभयो । अहिले भने गेटमै सहायता कक्षबाट जानकारी पाइने भएकाले काम गर्न सहज भएको उहाँको अनुभव छ ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सेवा प्रवाहलाई थप पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउन विभिन्न सुधारात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रहरीप्रति नागरिकको विश्वास बढाउने अपेक्षासहित सुरु गरिएको ‘नागरिक सहजकर्ता’ सेवा अहिले जिल्लामा चर्चाको विषय बनेको छ ।