नेभिगेशन
समाचार

बयरघारीमै जापानी भाषा र ट्युसनको सुविधा

खुल्यो ‘स्मार्ट ल्याङ्ग्वेज एण्ड ट्युसन सेन्टर’

जापानी भाषा सिक्न चाहने विद्यार्थी तथा युवाका लागि अब बयरघारीमै नयाँ अवसर थपिएको छ। भीरकोट नगरपालिका–२, बयरघारी बजारमा ‘स्मार्ट ल्याङ्ग्वेज एण्ड ट्युसन सेन्टर’ सञ्चालनमा आएको छ। जापानी भाषा सिकाइसँगै विद्यालय तथा क्याम्पस तहका विद्यार्थीलाई आवश्यकताअनुसार ट्युसन कक्षा सञ्चालन गर्ने उद्देश्यसहित सेन्टर सञ्चालनमा ल्याइएको हो।

नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले एक कार्यक्रमबीच सेन्टरको उद्घाटन गरेका हुन्। भरत खड्का र रूद्र ढुङ्गानाको संयुक्त पहलमा सञ्चालनमा आएको सेन्टर बयरघारीमा जापानी भाषा सिकाउने पहिलो भाषा प्रशिक्षण केन्द्र भएको सञ्चालकहरूले बताएका छन्।

1000074717-1790000403.jpg

सेन्टरमा जापानी भाषाका विभिन्न तहका कक्षा सञ्चालन गरिनुका साथै विद्यार्थीको माग र आवश्यकताका आधारमा विद्यालय तथा क्याम्पस तहका विषयगत ट्युसन कक्षासमेत सञ्चालन गरिनेछ। स्थानीय विद्यार्थीलाई गुणस्तरीय शिक्षा र भाषा सिकाइका लागि अन्यत्र जानुपर्ने अवस्थालाई कम गर्ने लक्ष्य सेन्टरले लिएको छ।

पठनपाठनलाई समयसापेक्ष र प्रभावकारी बनाउन सेन्टरले परम्परागत शिक्षण पद्धतिसँगै आधुनिक सूचना प्रविधिको प्रयोग गर्ने जनाएको छ। डिजिटल सामग्री तथा प्रविधिमैत्री शिक्षण विधिको प्रयोगमार्फत विद्यार्थीलाई सहज, व्यावहारिक र प्रभावकारी सिकाइ वातावरण उपलब्ध गराउने तयारी गरिएको छ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख कर्माचार्यले स्थानीय तहमा भाषा तथा शैक्षिक सेवा विस्तार हुनु सकारात्मक भएको बताए। उनले विद्यार्थी तथा युवालाई सीप, ज्ञान र अवसरसँग जोड्न यस्ता शैक्षिक संस्थाको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

सञ्चालक भरत खड्का र रूद्र ढुङ्गानाले विद्यार्थीको आवश्यकता र रुचिलाई केन्द्रमा राखेर गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बयरघारीमै जापानी भाषा र ट्युसन कक्षाको सुविधा सुरु भएपछि स्थानीय विद्यार्थी तथा युवाका लागि अध्ययनको नयाँ विकल्प थपिएको छ। आधुनिक प्रविधि र प्रभावकारी शिक्षण विधिलाई प्राथमिकता दिएको सेन्टरले बयरघारीको शैक्षिक क्षेत्रमा नयाँ सुरुवात गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्