नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाज

भीरकोटमा ३ करोड ५० लाखको कृषि परियोजना

कृषि क्षेत्रको व्यवसायिक विकास गर्ने लक्ष्य

स्याङ्जाको भीरकोट नगरपालिकामा कृषि तथा पशुपालन व्यवसायको प्रवर्धन र विकासका लागि  ‘ भीरकोट कृषि  तथा पशु विकास परियोजना’ सुरु गरिएको छ ।  हेफर र भीरकोटकाको साझेदारीमा संचालन हुने यो परियोजना मार्फत कृषकहरूलाई उद्यमशील र व्यवसायिक बनाउने लक्ष्य राखिएको छ।

कृषि र पशुपालन व्यवसायको विकास गरी सामाजिक पूँजी निर्माण गर्न, साना किसानहरूको वित्तीय पहुँचमा अभिवृद्धि गर्न, कृषकहरूले उत्पादन गरेका कृषि तथा  पशुजन्य उत्पादनको बजारीकरण गर्न र युवाहरूलाई कृषि क्षेत्रमा रोजगारी सृजना गर्न सहयोग गर्न परियोजना संचालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदयबहादुर पराजुलीले जानकारी दिनुभयो।

कृषि तथा पशु  क्षेत्रको दिर्घकालिन एवं व्यवसायिक विकास गरी नगरवासीको आर्थिक स्तरमा सुधार ल्याउने गरी पालिकाले साझेदार संस्था हेफरसँगको सहकार्यमा  परियोजना संचालन गरिएको  नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ,“समथर भन्दा धेरै पहाडी क्षेत्र भएको भीरकोटमा  कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेका छौं ।” 

हेफर प्रोजेक्ट नेपालका सचिव निर्मला क्षेत्रीले नगरपालिका भित्रका  महिला तथा पछाडि परेका समुदायलाई परियोजनाले उद्यमशीलतामा जोड्ने जानकारी दिनुभयो । संविधानले दिएको अधिकारलाई स्थानीय सरकारले प्रयोग गर्न जरुरी रहेको भन्दै क्षेत्रीले परियोजना  कार्यक्रम महिलाहरुको आर्थिक उन्नतीमा सहयोगी हुने स्पष्ट पार्नुभयो ।

परियोजना नगरपालिकाभित्रका ९ वटै वडामा संचालन हुनेछ। सबै   वडाका निम्न आय घर परिवार पहिचान गरी तत्काल काम अगाडि बढाइने हेफरका वरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम साम्बयुले जानकारी दिनुभयो । विपन्न तथा न्यून आय भएका महिला तथा युवा लक्षित कार्यक्रम सञ्चालन हुने उहाँको भनाइ छ ।

हस्ताक्षर कार्यक्रममा वडा अध्यक्ष तथा नगर प्रवक्ता दिपेन्द्र केसी, वडा अध्यक्ष नन्दलाल खनाल, लक्ष्मण खत्री क्षेत्री, हेफर प्राजेक्टका वित्तिय निर्देशक चैतन्य गोपाल डंगोल, वरिष्ठ कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डे, दियालो संस्थाका कार्यबाहक अध्यक्ष विष्णु सुवेदी लगायतले कार्यक्रमको बारेमा बोल्नु भएको थियो । 

भीरकोट नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थाको सहकार्यमा परियोजना सञ्चालन गर्न जेठ २० गते मंगलबार हस्ताक्षर गरिएको हो । परियोजनाले बैङ्कसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहका लागि समेत काम गर्ने पालिकाले जनाएको छ । हेफरले परियोजनामा भीरकोट नगरपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत साझेदारी रहने पालिकाले जनाएको छ ।

२०८२ जेठ २० गतेबाट सुरू भएको परियोजना परियोजनाका  २०८३ पुस १६ गतेसम्म संचालन हुनेछ। २० महिने परियोजनाको कूल बजेट  तीन करोड ५० लाख रुपियाँको बजेट रहेको भीरकोट नगरपालिकाका योजना अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिनुभयो। परियोजनाका कार्यक्रमहरू संचालन गर्न नगरपालिकाले २ करोड ४५ लाख खर्च गर्नुपर्ने छ र यो सबै लक्षित समुदायको हितमा खर्च हुनेछ। यसैगरी परियोजनामा  साझेदार संस्था हेफरले १ करोड ५ लाख ५० हजार रूपैयाँ खर्च गर्ने छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्