नेभिगेशन
समाज

बाढीपीडितलाई सेवा निवृत्त शिक्षक मञ्चको सहयोग

भोटेकोसी रसुवा बाढीपीडित  नागरिकको सहयोगका लागि स्याङ्जाका  सेवा निवृत्त शिक्षकहरूले अर्थ संकलन गरेका   छन्। भीरकोटमा क्रियाशील सेवा निवृत्त शिक्षक मञ्चमा आवद्ध ४५ जना सेवा निवृत्त शिक्षकबाट स्वस्फूर्त रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ४ हजार १४५ रूपैयाँ  जम्मा गरिएको मञ्चका अध्यक्ष जगन्नाथ अर्यालले जानकारी दिए।

1000074240-1789441250.jpg
सेवा निवृत्त शिक्षकहरूको तर्फबाट संकलित उक्त रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। सेवा निवृत्त शिक्षकहरूको तर्फबाट रकम संकलनको नेतृत्व गरेका अध्यक्ष जगन्नाथ अर्यालले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले रकम संकलन गरिएको जानकारी दिए। 

अर्यालका अनुसार नेपाल सरकारले सेवा निवृत्त शिक्षकहरूको पेन्सनबाट बाढीपीडितका लागि रकम कट्टा नगरेपछि शिक्षकहरूले आफ्नै इच्छाले सहयोग गर्ने निर्णय गरेका हुन्।

अध्यक्ष अर्यालले भने, “नेपाल सरकारले पेन्सनबाट रकम नकाटेपछि हामीले सेवा निवृत्त शिक्षकहरूबीच स्वस्फूर्त रूपमा रकम संकलन गरेका हौँ। विपद्मा परेका नागरिकलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने हाम्रो उद्देश्य हो।”

उनले सेवा निवृत्त शिक्षकहरू शिक्षण सेवाबाट अवकाश पाए पनि सामाजिक उत्तरदायित्वप्रति आफ्नो भूमिका निरन्तर रहेको बताए। प्राकृतिक विपद्का समयमा पीडितको दुःखमा साथ दिनु सबै नागरिकको साझा दायित्व भएको उनको भनाइ छ।

बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न व्यक्ति तथा संघसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्दै आएका छन्। सेवा निवृत्त शिक्षकहरूको यो सहयोगले पनि विपद्का बेला सामाजिक एकता, मानवीय भावना र सहयोगको संस्कारलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्