भीरकोट नगरपालिकामा नदिजन्य सामाग्रीको चोरी निकासी उच्च भएको स्थानीय नागरिकहरूले गुनासो गरेका छन् l नगरपालिकाको आयोजना र छायाक्षेत्र मिडिया प्रा. लि . को सहजीकरणमा सिटी हलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय सरकारलाई गुनासो पोख्दै स्थानीय डोलराज ढुंगानाले रातीको समयमा चोरी हुने गरेको र रातभर ट्याक्टर आवाजका कारण आँधिखोला नदी किनार आसपासका बासिन्दा राम्ररी सुत्न समेत नपाएको बताउनुभयो l स्थानीय भक्त बहादुर के.सी. ले वडा नं ४ को छाङ्छाङ्दी आसपासका क्षेत्रमा नियमित चोरी निकासी भैरहेकाले जनप्रतिनिधि, निर्माण व्यवसायी र प्रहरीको मिलोमतोमा चोरी भएको दाबी गर्नुभयो l सुनुवाइमा भीरकोटका वडा अध्यक्ष तर्फ इङ्कित गर्दै उहाँले कानुन विपरित जनप्रतिनिधि नै ठेकेदार बनेको हुँदा त्यस्ता वडाहरूमा भ्रष्ट्राचार भएको हुनसक्ने र निर्माण समेत गुणस्तरीय नभएकाले सबैकुरा कानुनसम्मत हुनुपर्ने आवश्यकता औल्याउनुभयो l छाङ्छाङ्दी आसपासका निर्माण व्यवसायीले नगरपालिकाबाट खरिद नगरिकन चोरी गरेको नदिजन्य सामाग्रीको प्रयोग गरेर लाखौँ बजेटका निर्माण कार्यमा सहभागी भएकाले त्यस्ता व्यवसायीको भुक्तानी रोक्नुपर्ने उहाँको माग थियो l

सार्वजनिक सुनुवाइमा जनताले व्यापक गुनासो व्यक्त गरेका थिए l स्थानीय लोकनारायण श्रेष्ठले अपांगको लागि छुट्याएको बजेटमा समेत भ्रष्ट्राचार भएको दाबी गर्नुभएको थियो l अपांगहरूलाई बाख्राको पाठी वितरण र मौरीको घार वितरण गर्दा विल मिलाएर भ्रष्ट्राचार गरिएको दावी गर्नुभएको थियो l
नेकपा माओवादीका कार्यवहाक अध्यक्ष भुवन मल्लले भीरकोट नगर अस्पतालले प्रदान गर्ने सेवा गुणस्तरीय नभएको गुनासो गर्नुभयो l अस्पतालले रित्तो अक्सिजन सिलिन्डर दिएकाले विरामीको अकालमै मृत्यु भएको उहाँले गुनासो गर्नुभयो l आपतकालीन सेवा लिन अस्पताल जाँदा कर्मचारी र डाक्टर फेला नपर्ने गरेको र एम्बुलेन्स समेत समयमा नपाएको दुखेसो पोख्नुभयो l उहाँले दहथुम सहकारीले संचालन गरेको सहकारी पसलमा नियमित सामान नकिन्ने कृषकहरूलाई रासायानिक मल नदिएको समेत गुनासो गर्नुभयो l
सार्वजनिक सुनुवाइमा स्थानीयहरूले नगरपालिकाले वितरण गर्ने विउबिजन गुणस्तरीय नभएको, सार्वजनिक जग्गाको पहिचान र सदुपयोग नभएको, बजार अनुगमन नभएको, सिंचाइको समस्या समाधान गर्न जनप्रतिनिधिले आवश्यक मात्रामा बजेट विनियोजन नगरेको, तटबन्धन बयरघारी बजार केन्दित भएको, वार्षिक बन्ने शिक्षा निती अनुसार काम नहुँदा विद्यार्थी पलायन बढेको, बिपिसीद्वारा वितरित बिजुली गुणस्तरहीन भएकाले भात पाक्न समेत समस्या भएको, बयरघारी बजारको करोडौंको खानेपानी योजना पानीको शुद्धतामा ध्यान नदिदा असफल भएको, दिगो विकासको मापदण्ड अनुसार सडक निर्माण नहुँदा दमकल नछिर्ने साँगुरा सडक बनेको, बाँदर आतंक बढेको , जनप्रतिनिधि र कर्मचारीले सरकारी सवारी साधनको दुरूपयोग गरेको, लाभग्राही एवम जनशक्ति भर्ना पारदर्शी नभएको लगायतका दर्जनौं गुनासो र प्रश्न गरेका थिए l

जनताका सवाल, प्रश्न र गुनासोको सम्बोधन गर्दै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले नागरिकहरूले दिएका सल्लाह सुझाव र गुनासोलाई नगरपालिकाले आत्मसात गर्ने र सुशासन कायम गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो l सार्वजनिक सुनुवाइमा सहभागी र प्रश्नकर्ता नागरिकलाई धन्यवाद दिदै प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीले जनताका प्रश्न र गुनासोलाई सुझाव र पृष्ठपोषणका रूपमा ग्रहण गरी पारदर्शीता र सुशासन कायम गर्न नगर प्रशासन लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो l नगर उपप्रमुख भगवती रेग्मी अर्यालको स्वागत सँगै सुरू भएको सुनुवाई कार्यक्रमको सहजीकरण पब्लिक आवाज साप्ताहिकका सम्पादक अमृत अर्यालले गर्नुभएको थियो भने योजना अधिकृत यामप्रसाद रेग्मीले नगरपालिकाको भौतिक तथा वित्तीय प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो l कार्यक्रममा वडा अध्यक्षहरूले आ आफ्नो वडाको असल अभ्यास र भौतिक प्रगति संक्षिप्त रूपमा प्रस्तुत गरेका थिए l