स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा वैघा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण भएको छ। गाउँपालिकाको वडा नं ३ वैघा भञ्ज्याङमा संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा आधुनिक आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण गरिएको हो।
संघीय विशेष अनुदान १ करोड ,गण्डकी प्रदेश सरकारको ४० लाख र कालिगण्डकी गाउँपालिकाको ३४ लाख ५४ हजार ३ सय ७३ रूपैयाँको लागतमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिनुभयो।

वि.सं. २०७९ फागुन १४ गते निर्माण सम्झौता भएको भवन १ करोड ७४ लाख ५४ हजार ३ सय ७३ रूपैयाँ २२ पैसाको लागतमा सम्पन्न भएको हो। ८ कोठा , ३ वटा शौचालय सहितको आधुनिक पक्की भवनमा एसी,खानेपानी, अग्नि नियन्त्रक, सिसि क्यामराको व्यवस्था गरिएको छ।
वडा नं ३ का वडा अध्यक्ष देवेन्द्र कुमार थापाले लामो समयसम्म भाडाको घरबाट एवं साँगुरो ठाउँबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता अन्त्य भएकोमा खुशी व्यक्त गर्नुभयो।
एउटा सँगुरो कोठामा सिमित स्वास्थ्य सेवा केन्द्र आधुनिक र फराकिलो भवनमा सरेपछि स्वास्थ्य सेवा प्रदान गर्न सहज भएकोमा सेवा केन्द्र प्रमुख उमा सोमैले खुशी व्यक्त गर्नुभयो। उहाँका अनुसार करिब २ हजार २ सय वडाबासीले नवनिर्मित स्वास्थ्य सेवा केन्द्रबाट निशुल्क आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने छन्।
नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्रको, वडा नं ३ को कार्यालय र वैघा रिडि सडकको शनिबार एक औपचारिक कार्यक्रममा समुद्घाटन भएको छ। नवनिर्मित ३ वटै पूर्वाधारको समुद्घाटन नेपाल सरकारका अर्थमन्त्री विष्णु प्रसाद पौडेले गर्नुभएको गर्नुभएको हो।