नेभिगेशन
स्वास्थ्य

२० वर्षदेखि निरन्तर सरसफाइ कार्यक्रम

सन्त निरंकारी मन्डल भीरकोट नेपाल, बयरघारी शाखाले बयरघारी बजार क्षेत्रको सरसफाई गरेको छ । विश्व मानव एकता दिवसको पूर्वसन्ध्यामा निरंकारी मण्डलले दहथुम देखि ओडारेसम्मको सिद्धार्थ राजमार्गको दायाँबायाँ सरसफाई गरेको हो । “हाम्रो रहर सफा भीरकोट सहर, स्टप पोलुसन बिफोर इट स्टाप्स यु , सफा मन र स्वस्थ मनका लागी स्वच्छ वातारण”  लेखिएका चेतनामूलक व्यानर र प्लेकार्ड सहित बालबालिकाहरूले पनि सरसफाइमा सक्रिय सहभागिता जनाएका थिए ।

सरसफाई कार्यक्रममा सन्त निरंकारी मण्डलका सदस्यहरू , भीरकोट नगरपालिकाका प्रमुख गोबिन्द कुमार कर्माचार्य, प्रवक्ता दिपेन्द्र के.सी., नेपाल रेडक्रस सोसाइटी, दहथुम, भीरकोट उद्योग वाणिज्य संघ, दहथुम प्रहरी चौकीका प्रहरी र स्थानीयहरूको सहभागिता रहेको थियो ।

सन्त निरंकारी मण्डल बयरघारी शाखाका इन्चार्ज कुल बहादुर के.सी. ले संस्थाले विगत २० वर्षदेखि बजार क्षेत्रको सरसफाई गर्दै आएको बताउनुभयो ।

भीरकोट नगरपालिका नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले सन्त निरंकारी मण्डलले उदाहरणीय कार्य गरेको भन्दै प्रसंशा गर्नुभयो । सुन्दर, सफा र प्लास्टिकमुक्त भीरकोट बनाउन नगरपालिकाले  सपिङ ब्याग वितरण गरेको स्मरण गराउँदै व्यापारी र उपभोक्तालाई सपिङ ब्याग प्रयोग गरेर नगरपालिकाको सफा र सुन्दर भीरकोट बनाउने अभियानमा सहयोग गर्न अनुरोध गर्नुभयो । नगर प्रमुख कर्माचार्यले सन्त निरंकारी मण्डलको आयोजनामा यही वैशाख १३ गते शनिबार हुने रक्तदान कार्यक्रमलाई सफल बनाउन भीरकोटबासी नागरिकलाई अनुरोध समेत गर्नुभएको छ ।

नगर प्रवक्ता दिपेन्द्र के.सी. ले सन्त निरंकारीको सरसफाई कार्यक्रम चेतनामूलक कार्यक्रम भएको बताउँदै उहाँले बजारबासीले फोहरमैला बर्गीकरण नगर्दा फोहरमैला व्यवस्थापनमा कठिनाइ भएको बताउनुभयो । उहाँले बजारबासीलाई फोहरमैला वर्गीकरण गरेर नगरपालिकालाई सहयोग गर्न आग्रह गर्नुभएको थियो।

उठाईएको फोहोर भीरकोट नगरपालिकाको फोहरमैला बोक्ने सवारीमा संकलन गरी फोहरमैला व्यवस्थापन केंन्द्रमा लागि व्यवथापन गरिएको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्