नेभिगेशन
अर्थ/वाणिज्य

अझ गुलाबी बन्दै वालिङ: वालिङमा नगर बसको सपना 

वालिङ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १८ औं नगर सभा मार्फत नगर प्रमुख कृष्ण खाँणले नीति तथा कार्यक्रम र नगर उपप्रमुख कविता तिवारी गैह्रेले बजेट सार्वजनिक गर्नुभएको हो । नगर प्रमुख खाँणले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा वालिङको पहिचानको रुपमा रहेको गुलाबी शहरलाई प्राथमिकतामा राखिएको छ । 

ग्रामीण भेगबाट प्रशासनिक काम गर्न वालिङ बजार आउने सेवाग्राहीलाई लक्षित गर्दै नगरबस संचालन गर्ने योजना अघि सारिएको छ । विद्यार्थी कम भएको विद्यालयहरुलाई मर्ज गर्ने , कम्तीमा एउटा सामुदायिक विद्यालयलाई आवासीय बनाउने र गाउँ गाउँबाट नगर बस चढाएर सामुदायिक विद्यालय विद्यार्थीको आकर्षण बढाउने नगरको लक्ष्य रहेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत बाल विकास देखि कक्षा १० सम्म पढ्ने विद्यार्थीलाई एउटै रङको पोशाक वितरण गर्ने योजना अघि सारेको छ । 

एक विद्यालय एक करेसाबारी , बुक फ्रि फ्राइडे , विज्ञान विषयमा अध्ययन गर्ने विद्यार्थीको लागि छात्रवृत्ति  लगायतको कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 

म स्वास्थ्य मेरो नगर स्वस्थ्य कार्यक्रम अन्तर्गत समुदायको घरदैलोमा स्वास्थ्य सेवा तथा विद्यालयमा विद्यालय नर्स कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । 

यस्तै किसान लक्षित कार्यक्रम अन्तर्गत किसानको खेतबारीमै प्राविधिक सेवा र टेवा , उत्पादनमा आधारित प्रोत्साहन अनुदान , कृषि उपज संकलन केन्द स्थापना र रैथाने बालीको संरक्षण जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । 

कुल बजेट १ अर्ब ५ करोड

वालिङ नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ लागि अनुमानित आय व्यय विवरण नगर सभा मार्फत प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न नगर उपप्रमुख कविता तिवारी गैह्रेले कुल १अर्ब  ५ करोड ७६ लाख ९ हजार बजेट प्रस्तुत गर्नुभएको हो  । 

जसमा अनुमानित आन्तरिक आय ६ करोड ५० लाख रहेको छ । प्रस्तुत बजेटमा दायित्व रकम कट्टा गरी बाँडफाड हुन आउने रकम २२ करोड ४८ लाख २३ हजार सात सय चौसट्ठी रहेको छ ।

जस मध्ये आर्थिक विकासमा ३०% अर्थात ६ करोड ७४ लाख ४७ हजार १२९ , सामाजिक विकासमा २५% अर्थात ५ करोड ६२ लाख ५ हजार  ९४१, पूर्वाधार विकासमा ३०% अर्थात ६ करोड ७४लाख ४७ हजार १२९, सुशासन तथा अन्तर सम्वन्धित क्षेत्रमा १०% अर्थात २करोड २४ लाख ८२ हजार ३७६ र प्रशासकिय सुशासनमा ५% अर्थात १ करोड १२ लाख ४१ हजार १८८ रहेको छ ।

नगरसभाले  पास गर्यो ४ विधेयक

 वालिङ नगरपालिकाले १८ औँ नगरसभा मार्फत ४ वटा विद्येयक सर्वसम्मत पास गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक , नगर प्रहरी विधेयक , विज्ञापन विधेयक र स्थानीय पशु बधशाला तथा मासु जाँच विधेयक पास गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्