गण्डक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। पोखरा १७ बिरौटामा प्रधान कार्यालय रहेको सहकारीले वार्षिक साधारंसभाको अवसरमा विभिन्न विधामा १२ जनालाई सम्मान गरेको छ । साधारणसभाको अवसरमा संस्थाले शैक्षिक उपलब्धि, बचत तथा कर्जा कारोबार र ज्येष्ठ नागरिक सम्मानअन्तर्गत विभिन्न विधामा १२ जनालाई सम्मान गरेको हो । सम्मानित हुनेहरूमा एसईईतर्फ सामुदायिक विद्यालयबाट स्मृति कुँवर र अनिष ढुङ्गाना, एसईईतर्फ निजी विद्यालयबाट सुलभ पनेरू र परिषा अर्याल रहेका छन् । यस्तै, कक्षा १०+२ तर्फ सझनी लामिछाने र प्रदीप पौडेल रहेका छन् । नियमित बचततर्फ शोभा ढुङ्गाना, अन्य बचततर्फ मुक्तिराम बराल, धितो कर्जातर्फ रीता पनेरू , विनाधितो कर्जातर्फ सावित्री आले सम्मानित भएका छन् । ज्येष्ठ नागरिक सम्मानतर्फ लिलाराज ढकाल र पार्वती काफ्ले सम्मानित भएका छन् ।
सहकारीका अध्यक्ष दिपेन्द्र पौडेलले सहकारी संस्थाको वास्तविक मेरुदण्ड शेयर सदस्यहरू नै भएको उल्लेख गर्दै संस्थालाई बलियो, व्यवस्थित र दिगो बनाउन प्रत्येक सदस्यको सक्रिय भूमिका आवश्यक रहेको बताए । उनले संस्थाबाट कर्जा लिएका सम्पूर्ण ऋणी सदस्यहरूलाई निर्धारित समयमा नियमित किस्ता भुक्तानी गर्न आग्रह गर्दै समयमै कर्जा असुली हुन सकेमा संस्थाको आर्थिक अवस्था सुदृढ हुने र अन्य सदस्यहरूलाई समेत आवश्यकताअनुसार कर्जा प्रवाह गर्न सहज हुने धारणा व्यक्त गरे। साथै, शेयर सदस्यहरूले संस्थाका दैनिक सूचना, गतिविधि, नीति तथा कार्यक्रमबारे नियमित जानकारी लिने, साधारणसभामा सक्रिय सहभागिता जनाउने, नियमित बचत गर्ने बानीको विकास गर्ने र संस्थाका नीति तथा नियमहरूको पालना गर्ने कुरामा विशेष जोड दिए । अध्यक्ष पौडेलले सहकारी संस्था सञ्चालक समिति र कर्मचारीहरूको मात्र नभई सम्पूर्ण शेयर सदस्यहरूको साझा सम्पत्ति भएको उल्लेख गर्दै संस्थाको प्रगति, पारदर्शिता र आर्थिक अनुशासन कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । उनले भने, “संस्थाको मेरुदण्ड शेयर सदस्यहरू हुन्। सदस्यहरूको नियमित बचत, समयमै कर्जा भुक्तानी, संस्थाका गतिविधिप्रतिको चासो र सक्रिय सहभागिताले नै सहकारी बलियो बन्छ। त्यसैले संस्था हाम्रो हो भन्ने भावनाका साथ यसको संरक्षण, विकास र समृद्धिमा सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ।”
कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य डिल्लीराम पनेरू, निवर्तमान अध्यक्ष दिपेन्द्रराज ढकाल तथा प्रमुख अतिथि एवं संस्थापक अध्यक्ष ध्रुवराज पौडेलले शुभकामना मन्तव्य राख्दै सहकारीको संस्थागत विकास, आर्थिक अनुशासन, पारदर्शिता र सदस्यहरूको हितलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए । साधारणसभाले कोषाध्यक्ष मातृका सुवेदीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका तर्फबाट मधु पौडेलले प्रस्तुत गरेको लेखा सुपरिवेक्षण प्रतिवेदन सर्वसम्मत पारित भएको छ । सभामा संस्थाको आर्थिक अवस्था, वार्षिक प्रगति, भावी योजना तथा संस्थालाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउने विषयमा छलफल गरिएको थियो। साथै, शिक्षा उपसमिति सदस्य प्रकाश अधिकारीले सदस्यहरूलाई सहकारीका सात सिद्धान्तका विषयमा जानकारीमूलक प्रस्तुति दिएका थिए ।