नेभिगेशन
अर्थ/वाणिज्य

माछापुच्छ्रे सहकारीको अध्यक्षमा केसी

माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भीरकोट नगरपालिका–१, बयरघारीको १९औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ । भीरकोट नगरपालिका–२ स्थित सिटी हलमा सम्पन्न सभाले कृष्णकाजी केसीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।

कार्यक्रममा सञ्चालक समितिको तर्फबाट कार्यवाहक अध्यक्ष कृष्णकाजी केसीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका  थिए। त्यसैगरी, लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक ताराबहादुर बस्नेत र संस्थाका व्यवस्थापक सुन्दर कोइरालाले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए। सभाले प्रस्तुत गरिएका सम्पूर्ण प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको थियो।

सभामा प्रस्तुत विवरणअनुसार संस्थामा हाल १ हजार ४७७ जना शेयर सदस्य रहेका छन्। संस्थाको कुल शेयर पुँजी रु. १ करोड २३ लाख ६३ हजार ३००, कुल सम्पत्ति रु. २० करोड २२ लाख ६८ हजार ७२१ रुपैयाँ ८ पैसा, कुल निक्षेप रु. १५ करोड ६१ लाख ३९ हजार ११२ र कुल कर्जा लगानी रु. १४ करोड १३ लाख ८८ हजार ८६७ रहेको छ।

सभाले सदस्यहरूलाई ८ प्रतिशत लाभांश वितरण गर्ने तथा थप ३ प्रतिशत संरक्षित पुँजी फिर्ता कोष वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ।

यसै अवसरमा संस्थाका शेयर सदस्यका परिवारका विद्यार्थीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो। कक्षा ५ देखि ९ सम्मको शैक्षिक तहबाट संरचना श्रेष्ठ र दिप्सन पराजुली तथा एसईई तहबाट चाहना केसी र सोनम खत्री सम्मानित भएका थिए।संस्थाले विद्यार्थीहरूको शैक्षिक उपलब्धिको कदर गर्दै प्रोत्साहन गर्ने उद्देश्यले सम्मान  गरेको हो।

अधिवेशनबाट निर्वाचित नयाँ सञ्चालक समितिको  उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा हरिप्रसाद काफ्ले, कोषाध्यक्षमा मेघनारायण ढुङ्गाना तथा सदस्यहरूमा देवीप्रसाद चापागाईं, हरि ढुङ्गाना, इन्द्रजङ्ग अधिकारी, खेमबहादुर केसी र सलिना अर्याल सर्वसम्मत निर्वाचित भएका छन्।

त्यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा ताराबहादुर बस्नेत तथा सदस्यहरूमा चन्द्रकान्त ढुङ्गाना र हरिप्रसाद पौडेल निर्वाचित भएका छन्।

संस्थाले सदस्यहरूको आर्थिक तथा सामाजिक समृद्धिमा योगदान पुर्‍याउँदै सहकारीका मूल्य, मान्यता र सिद्धान्तअनुसार संस्थागत सुशासन, पारदर्शिता र वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्