नेभिगेशन
Dashain Banner
Dashain Banner
Dashain Banner
समाज

तालिमले बढायो आत्मनिर्भर बन्ने आत्मविश्वास

सधैं जसो गाउँका पाखापखेरामा बाँदर धपाएर खेतीकिसानी गर्ने सीता सार्कीका मनमा आजभोलि  आफूले सिकेको सीप सदुपयोग के कसरी गर्ने भन्ने योजना बन्न थालेका छन्। भीरकोट नगरपालिका वडा नं ५ तोरीडाँडा निवासी ३७ वर्षीय सार्की   सिमेन्टको पर्खाल लगाउन, सोलिङ , ढलान र प्लास्टर गर्न सक्ने हुनुभएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यस्थलमा आधारित ५० दिनको सडक मर्मत संभार तालिम लिएपछि उहाँका मनमा सिपको सदुपयोग गरेर आत्मनिर्भर बन्ने हुटहुटी जागेको छ। तालिम पश्चात काम गर्न सक्ने क्षमता र आत्मविश्वास दुबै बढेको उहाँको अनुभव छ। अहिले खेतीपातीको समय भएपनि खेतिपातीको समय बाहेक अन्य समयमा निर्माणको  काम गरेर आत्मनिर्भर बन्न सकिने विश्वास उहाँको छ।IMG-20250617-WA0002-1750989755.jpg

वडा नं ४  छाङ्छाङ्दीका प्रकाश नेपालीले पोलिथिन र जिआइ पाइप जोड्ने, काट्ने , मर्मत गर्ने, धारा जोड्ने  प्लम्बिङको सीप सिक्नुभयो। अहिले उहाँलाई  पनि जीवनमा पहिलोपटक एकदमै उपयोगी तालिम लिएको अनुभूति भएको छ। तालिम उपयोगी भएकाले स्वरोजगार प्राप्त गरेर आत्मनिर्भर बन्न वा रोजगारी प्राप्त गर्न सहज हुने उहाँको विश्वास छ।

वडा नं ६ का  बेग बहादुर थापाले प्लम्बिङको तालिम लिनुभयो। अब ग्रामीण भेगका खानेपानी योजनाको मर्मत संभार, नयाँ तथा पुराना  घरहरूमा प्लम्बिङको काम गर्न सक्ने भएको उहाँ बताउनुहुन्छ। तालिम प्रदायक संस्था गण्डकी पोलिटेक्निकल संस्थाले लिने सीप परीक्षा कक्षामा सहभागी हुने इच्छा व्यक्त गर्नुभएका उहाँमा अब  प्लम्बिङ पेशा अपनाएर नै आत्मनिर्भर बन्न सकिने विश्वास छ।

IMG-20250617-WA0008-1750989757.jpg
सीता, प्रकाश र बेग बहादुर जस्तै  भीरकोट नगरपालिकाका ४० जना युवाहरूले प्रधानमन्त्री रोजगार कार्यक्रम, “युवा रोजगारीका लागि रुपान्तरण आयोजना” अन्तर्गत कार्यस्थलमा आधारित सीप तथा क्षमता विकास तालिम लिएका छन्। तालिम लिएका युवाहरूलाई  तालिम उपयोगी मात्रै  लागेको छैन , स्वदेशमै रोजगारी गरेर  आत्मनिर्भर बन्न सकिने आत्मविश्वास पनि भरिएको छ।

स्थानीय माग र आवश्यकतालाई ध्यानमा राखेर प्लम्बिङ र सडक मर्मत तथा सम्भार गरी २ वटा तालिम संचालन गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमक संयोजक वसन्त बस्नेत बताउनुहुन्छ। स्थानीय स्तरमा खानेपानी  र सडक योजना संचालन एवं मर्मत संभार गर्न आवश्यक पर्ने दक्ष  जनशक्ति  अभाव भएकाले प्लम्बिङ र सडक मर्मत संभार तालिम संचालन गरिएको उहाँले जानकारी  दिनुभयो। उहाँका अनुसार १९ जना युवाले प्लम्बिङ र २१ जना युवाले सडक मर्मत संभार अन्तर्गत सिमेन्टको गाह्रो लगाउने, सोलिङ, ढलान र प्लास्टर गर्ने सीप सिकेका छन्।

IMG-20250617-WA0001-1750989754.jpg
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरपालिकाका ९ वटै वडाका सीप सिक्ने चाहना भएका बेरोजगार युवा युवतीलाई तालिम दिइएको संयोजक बस्नेतले बताउनुभयो। दैनिक जीवनमा प्रयोग गर्न सकिने सिपहरू सिकाइएकाले रोजगारी प्राप्त गर्न सहज हुने उहाँको विश्वास छ।

तालिम प्राप्त जनशक्तिलाई नगरपालिकाले नै नगरपालिका भित्र संचालन हुने सरकारी योजना प्रयोग गर्न सक्ने कामको गुणस्तर वृद्धि र रोजगारीको अवसर समेत प्राप्त हुने सीता सार्कीको विश्वास छ। सीप सिकेका सबै युवाहरूलाई रोजगारीमा जोड्न नगरपालिकाले समेत योजना बनाए आफ्नै गाउँठाउँंमा रोजगारी गर्न सकिने सार्कीले बताउनुभयो।



 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्