स्याङ्जाको भीरकोट नगरपालिका वडा ३ रोजीखोलामा जलदेवी मन्दिर निर्माण भएको छ।वि.सं. १८६३ देखि शिलामा मात्रै पूजा हुँदै आएको यस स्थानमा स्वर्गीय शिव बहादुर खड्काको पहलमा सामान्य मन्दिर बनेको थियो।
रोजीखोलामा किनारमा रहेको यस स्थानमा खोलामा ठूलो बाढी पहिरो आउँदा पनि शिलामा कुनै असर र प्रभाव नपरेको किम्बदन्ती रहेको छ। विपद्को कुनै प्रभाव नपरेपछि स्थानीयहरूले १८६३ देखि नै पूजाआजा गर्न थालेका थिए।पूजा गर्न थालेपछि शिलामा विभिन्न आकृतिका धर्साहरू प्राकृतिक रूपमै कोरिन थाले। सुरूमा समान्य फूलपाती चढाएर मात्रै पूजा गर्ने चलन थियो।

दैवी शक्तिलाई मध्यनजर गरेर परम्परागत रूपमा लामाधामी गर्दा जलदेवी भएको पत्ता लाग्यो। जलदेवी भएको एकिन भएपछि २००९ सालदेखी नियमित पूजाआजा हुँदै आएको छ। जनविश्वास बढ्दै गएपपछि गाउँलेहरू एउटा व्यवस्थित मन्दिर र भौतिक संरचना निर्माणमा लागे। नगरपालिकाको २ लाख, वडाको १ लाख र जनस्तरबाट संकलित करिब २२ लाख गरि कुल २५ लाखको बजेटमा मन्दिर र अन्य पूर्वाधार निर्माणको काम भैरहेको छ। प्रायजसो मन्दिरहरू झ्याल, ढोका सहितको बन्द संरचनामा बनाइने भएपनि यो मन्दिरको शिला भएको स्थानमा कुनै बार बन्देज गरिएको छैन। खुला तरिकाले चारै तिरबाट पूजाआजा गर्न सकिने संरचना निर्माण गरिएको छ।
वडा अध्यक्ष केशर बहादुर खड्काले हालसम्म मन्दिर निर्माण लगायतका कार्यमा २३ लाख खर्च भैसकेको बताउनुभयो। मन्दिरको प्रवेशद्वार, मन्दिर, पूजा सामाग्री घर र शौचालय निर्माणमा उक्त रकम खर्च भएको र असार मसान्तसम्म सबै निर्माण कार्य सकिने उहाँको भनाई छ।
जुनसुकै भाकल गरेपनि पूरा हुने जनविश्वास रहेको यस मन्दिरमा स्थानीयहरूले विशेष गरि भारतीय सेनामा भर्ती हुन भाकल गर्ने गरेको र भाकल गरेका सबैजना भर्ती भएको वडा अध्यक्ष खड्काले बताउनुभयो। पूजाआजा र भाकल गर्न पोखरा, बाग्लुङ , पर्वत, पाल्पा , बुटबल लगायत नेपालका विभिन्न जिल्ला र भारतको सिक्किम , हैदरबादबाट समेत भक्तजनहरू आउने गरेको उहाँको भनाई छ।
माघ र साउन महिना र औशीं र एकादशी तिथि बाहेक अन्य सबै महिना र तिथीमा पूजाआजा र भाकल गर्न सकिने खड्काले बताउनुभयो ।
भीरकोट नगरपालिकाको केन्द्रबाट करिब २१ कि.मि र त्रियासीबाट करिब १७ किमि दुरीमा पर्ने यो मन्दिरको उचित प्रचारप्रसार हुन सकेको खण्डमा भीरकोटको मात्र नभएर जिल्लाकै आकर्षक धार्मिक पर्यटनको गन्तव्य बन्न सक्छ।