खिलुङकालिका मन्दिर

खिलुङकालिका मन्दिर भीरकोट नगरपालिकाअन्तर्गत वडा नं. ७ खिलुङमा अवस्थित छ । यहाँ पुग्न सिद्धार्थ राजमार्गको बयरघारी बजारबाट ९ कि.मी. दूरीको यात्रा गर्नुपर्दछ । हालसम्मको प्रमाणित आधारमा भीरकोट नगरपालिकाभित्रका मन्दिरहरूमध्ये सबैभन्दा पुरानो मन्दिर यसैलाई मानिँदै आएको छ ।
यो मन्दिर शाहवंशीय राजाहरूका पुर्खा तथा तत्कालीन राजा खान्चा खानले निर्माण गर्न लगाएको विश्वास गरिन्छ । मन्दिर नजिकै तत्कालीन राजाको ग्रीष्मकालीन दरबार थियो । राजाले यही टाकुरामा मन्दिर बनाउन लगाए र सोही बेलादेखि दैनिक रूपमा पूजाअर्चना गरिँदै आएको हो ।
पहिले यो मन्दिर ढुङ्गा, माटो र काठद्वारा निर्मित थियो । तर हाल आएर ती परम्परागत निर्माण सामग्रीका सट्टामा आधुनिक निर्माण सामग्रीहरू प्रयोग गरेर बनाइएको छ ।
यो मन्दिरमा बडादसैँ र चैतेदसैँमा भव्य रूपमा पूजाआजा गरिन्छ । यसका साथै अन्य विभिन्न समयमा भक्तजनहरू पूजा गर्न आउने गर्दछन् । यस मन्दिरमा सारु मगर, सिँजाली मगर र ब्राह्मण पुजारी रहने व्यवस्था गरिएको छ । यहाँ पशुबलि दिने प्रचलन रहेको छ ।
खिलुङकालिका ऐतिहासिक मन्दिर हो । झन्डै छ सय वर्ष पुरानो यस मन्दिरको संरक्षण र संवर्द्धन गरी यसको प्रचारप्रसार गर्नुपर्ने देखिन्छ । नेपालको इतिहाससँग सम्बन्धित यो मन्दिरका बारेमा सबैले जानकारी राख्नु जरुरी छ ।
केघादेवी देउराली मन्दिर

केघादेवी देउराली मन्दिर भीरकोट नगरपालिकाको वडा नं. २ मा अवस्थित छ । यो मन्दिर बयरघारी बजारबाट ७.५ किलोमिटरको दूरीमा पर्दछ । सामुद्रिक सतहबाट यसको उचाइ १६०० मिटर रहेको छ ।
यो मन्दिर वि.सं. १९९० सालमा स्थानीय गाउँलेको पहलमा निर्माण गरिएको थियो । यसको पुनर्निर्माण वि.सं. २०६५ सालमा भएको हो । यो मन्दिर घना जङ्गलको बीचमा रहेको छ । मन्दिरको उत्तरतर्फको भागबाट मनोरम हिमशृङ्खलाहरूको दृश्य निकै आकर्षक देख्न सकिन्छ । यसका साथै आँधीखोला र यसको आसपासका बस्तीहरू पनि निकै स्पष्टसँग देखिन्छन् ।
मन्दिरको आडमा ढुङ्गाको बीचमा एउटा ओखलजस्तो खाल्डो देखिन्छ । त्यहाँ पानी कहिल्यै पनि सुक्दैन । अग्लो ठाउँमा रहेको र पानी भरिइरहने हुँदा यो निकै रहस्यमय देखिन्छ । यो मन्दिरमा बाख्राको पाठीको मात्र पूजा हुन्छ । यहाँ चैते दसैँको पूर्णिमाका दिन मेला लाग्दछ । केघादेवी देउराली मन्दिर जङ्गलभित्र अति मनोरम स्थलमा भएकाले पर्यटकीय दृष्टिले यसको निकै महत्त्व रहेको छ ।
छाङछाङदी: धार्मिक क्षेत्र

छाङ्छाङ्दी धाम नेपालको पवित्र तीर्थस्थलमध्ये एक हो । यो स्थान गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं. ३ मा अवस्थित छ । यो धाम सिद्धार्थ राजमार्गको स्याङ्जाबाट २१ किलोमिटर दक्षिणपश्चिम तथा वालिङबाट ५ किलोमिटर उत्तरपूर्वमा रहेको छ ।
छाङछाङ्दी दक्षिणपश्चिमको भिरालो पाखामा अवस्थित छ । राजमार्गको आडैमा विशाल द्वार निर्माण गरिएको छ । त्यहाँ गौमुखे धाराहरू, यज्ञशाला, शिवलिङ्ग, सन्तोषी माता, राधाकृष्ण र गणेशका मन्दिरहरू निर्माण गरिएका छन् । मन्दिर परिसरमै १०८ वटा पिपलका बोटहरू लगाइएका छन् । विशाल पहराको तल ओडारभित्रबाट छङछङ गर्दै मुहानबाट अविरल जल प्रस्फुटित भइरहेको दृश्यले मनलाई तरङ्गित बनाउँछ ।
यहाँको प्राकृतिक शिलामा गौथुनहरू, गणेशका मूर्तिहरू र नागहरूका आकृतिहरू देखिन्छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा यहाँ भगवान् शिव विभिन्न स्वरूपहरूमा विराजमान भएको र आफूले साक्षात्कार गरेको भक्तजनहरू बताउँछन् ।
छाङ्छाङ्दी नेपालकै प्रसिद्ध धार्मिक क्षेत्रअन्तर्गत पर्दछ । यहाँको सबैभन्दा ठूलो मेला महाशिवरात्रि हो । यस दिन स्वदेश र विदेशका हजारौँ श्रद्धालु दर्शनार्थीहरूको भीड लाग्दछ । मानिसहरू भगवान् शिवको पूजाआराधना गर्छन् । यसरी पूजा गर्दा उनीहरू आफ्नो मनोकाङ्क्षा पूरा हुने विश्वास गर्छन् ।
यो स्थानमा आएर आफूले आँटेको कुरा भाकल गरेमा भगवान् शिवले पूरा गरिदिने जनविश्वास छ । यसैका कारण तीर्थालुहरू महाशिवरात्रिमा यहाँ आएर व्रत बसी आत्मैदेखि आफूलाई भगवान् शिवप्रति समर्पित गर्दछन् । महाशिवरात्रि प्रायः फागुन महिनामा पर्दछ ।
दैनिक पूजाआराधनाबाहेक यहाँ हरेक महिनाजसो मेला लाग्दछ । यहाँ वैशाखे सङ्क्रान्तिका दिन धूमधामसँग पूजाआजा गरिन्छ । यो दिन विक्रम संवत्को नयाँ वर्षको आरम्भ हुने दिन पनि हो । यसैगरी वैशाख महिनामै पर्ने मातातीर्थ औँसीका दिन विशेषगरी आफ्ना आमा बितिसकेका सन्तानहरूले यहाँ आएर माताको स्मरणमा भगवान् शिवलाई पूजा गर्दछन् । प्रायः असार महिनामा पर्ने हरिशयनी एकादशीका दिन श्रद्धालुहरू आएर भगवान् शिवप्रति आफ्नो आस्था प्रकट गर्दछन् ।
साउन महिना आरम्भ भएपछि छाङछाङदीमा थप रौनक बढ्दै जान्छ । साउनलाई भगवान् शिवको पवित्र महिना मानिन्छ । साउने सङ्क्रान्तिका दिनबाटै यहाँ हजारौँ भक्तहरू पूजाका निम्ति आउँछन् । यस महिनाका हरेक सोमबारका दिनलाई विशेष मानिन्छ । कुनै वर्षहरूमा पाँचवटासम्म सोमबारहरू पर्दछन् । साउनका यी सोमबारका दिनहरूमा मानिसहरू व्रत बस्नुका साथै १०८ पिपलमा जलधारा गर्दै स्नान गरी आफूलाई पवित्र, शान्त र सद्गुणी अनुभव गर्दछन् ।
भदौ महिनामा पर्ने कृष्णजन्माष्टमीका दिन यहाँ मेला लाग्दछ । यहाँको मन्दिर परिसरमा अवस्थित राधाकृष्णको मन्दिरमा घुइँचो लाग्दछ । भदौ महिनामै पर्ने तीजलाई विशेष दिनका रूपमा लिइन्छ । यो दिन हजारौँ सङ्ख्यामा नारीहरू निराहार व्रत बसी आफ्नो आकाङ्क्षा पूरा गर्न यहाँ आउँछन् । धेरैजसो कात्तिक महिनामा पर्ने हरिबोधिनी एकादशीमा यहाँ भव्य मेला लाग्दछ, यो दिन श्रद्धालु भक्तजनहरूले यहाँ पूजाआजा गर्दछन् ।
छाङछाङदीमा लाग्ने मेलाहरूमध्ये शिवरात्रिपछिको दोस्रो महत्त्वपूर्ण मेला बालाचतुर्दशी हो । यो धार्मिक उत्सवको दिन प्रायः मङ्सिर महिनामा पर्दछ । यो दिन स्वदेश र विदेशबाट भक्तजनहरूको ओइरो लाग्दछ । आफ्ना पितृहरूको उद्धारका निम्ति सत्बीज छर्ने परम्परा रहेको छ । मानिसहरूले यहाँको मन्दिर क्षेत्रभित्र सत्बीज छरी पितृ उद्धार गर्दछन् ।
माघ महिनाको पहिलो दिन लाग्ने माघे सङ्क्रान्ति मेला यस धामको अर्को विशेषता हो । यो दिन यहाँ भव्य रूपमा मेला लाग्दछ । टाढा टाढाबाट मानिसहरू आएर भजनकीर्तन, पूजाआजा गर्दछन् ।
छाङ्छाङ्दीमा हरेक एकादशीका दिन श्रद्धालुभक्तजनहरू आएर पूजाआराधना गर्दछन् । यसैगरी ग्रहण लागेको बेला यहाँ आएर नुहाउने, दान गर्ने तथा आफूलाई पवित्र र पुण्य बनाउने चलन छ । विवाह तथा व्रतबन्धजस्ता संस्कारहरू पनि यहाँ गरिन्छन् ।
छाङछाङदी एक पवित्र तीर्थस्थल हो, जहाँ भगवान् शिवका अनेक स्वरूपहरूमध्ये शान्त स्वरूप विराजमान भएको विश्वास गरिन्छ । नेपालका धार्मिक क्षेत्रहरूमध्ये यो पनि एउटा मुख्य स्थलका रूपमा पर्दछ । मन्दिरक्षेत्रको विकास र संवर्द्धनका निम्ति भीरकोट नगरपालिका र स्थानीय व्यक्तिहरूको सहकार्य आवश्यक रहन्छ । यसका निम्ति गुरुयोजना बनाएर एकीकृत रूपमा कार्य गर्ने लक्ष्य लिइएको छ ।
रहस्यमय मन्दिर: नारायण गिरी मण्डली बाबा

आत्मैदेखि कुनै पवित्र विचार धारण गर्नु वा अपनाउनुलाई धर्म भनिन्छ भने धर्मसँग सम्बन्धित विषय नै धार्मिक हो ।छाङ्छाङ्दी धाम नेपालको पवित्र तीर्थस्थलमध्ये एक हो । यो स्थान गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका वडा नं. ३ मा अवस्थित छ । यो धाम सिद्धार्थ राजमार्गको स्याङ्जाबाट २१ किलोमिटर दक्षिणपश्चिम तथा वालिङबाट ५ किलोमिटर उत्तरपूर्वमा रहेको छ ।
छाङछाङ्दी दक्षिणपश्चिमको भिरालो पाखामा अवस्थित छ । राजमार्गको आडैमा विशाल द्वार निर्माण गरिएको छ । त्यहाँ गौमुखे धाराहरू, यज्ञशाला, शिवलिङ्ग, सन्तोषी माता, राधाकृष्ण र गणेशका मन्दिरहरू निर्माण गरिएका छन् । मन्दिर परिसरमै १०८ वटा पिपलका बोटहरू लगाइएका छन् । विशाल पहराको तल ओडारभित्रबाट छङछङ गर्दै मुहानबाट अविरल जल प्रस्फुटित भइरहेको दृश्यले मनलाई तरङ्गित बनाउँछ ।
यहाँको प्राकृतिक शिलामा गौथुनहरू, गणेशका मूर्तिहरू र नागहरूका आकृतिहरू देखिन्छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा यहाँ भगवान् शिव विभिन्न स्वरूपहरूमा विराजमान भएको र आफूले साक्षात्कार गरेको भक्तजनहरू बताउँछन् ।
छाङ्छाङ्दी नेपालकै प्रसिद्ध धार्मिक क्षेत्रअन्तर्गत पर्दछ । यहाँको सबैभन्दा ठूलो मेला महाशिवरात्रि हो । यस दिन स्वदेश र विदेशका हजारौँ श्रद्धालु दर्शनार्थीहरूको भीड लाग्दछ । मानिसहरू भगवान् शिवको पूजाआराधना गर्छन् । यसरी पूजा गर्दा उनीहरू आफ्नो मनोकाङ्क्षा पूरा हुने विश्वास गर्छन् ।
यो स्थानमा आएर आफूले आँटेको कुरा भाकल गरेमा भगवान् शिवले पूरा गरिदिने जनविश्वास छ । यसैका कारण तीर्थालुहरू महाशिवरात्रिमा यहाँ आएर व्रत बसी आत्मैदेखि आफूलाई भगवान् शिवप्रति समर्पित गर्दछन् । महाशिवरात्रि प्रायः फागुन महिनामा पर्दछ ।
दैनिक पूजाआराधनाबाहेक यहाँ हरेक महिनाजसो मेला लाग्दछ । यहाँ वैशाखे सङ्क्रान्तिका दिन धूमधामसँग पूजाआजा गरिन्छ । यो दिन विक्रम संवत्को नयाँ वर्षको आरम्भ हुने दिन पनि हो । यसैगरी वैशाख महिनामै पर्ने मातातीर्थ औँसीका दिन विशेषगरी आफ्ना आमा बितिसकेका सन्तानहरूले यहाँ आएर माताको स्मरणमा भगवान् शिवलाई पूजा गर्दछन् । प्रायः असार महिनामा पर्ने हरिशयनी एकादशीका दिन श्रद्धालुहरू आएर भगवान् शिवप्रति आफ्नो आस्था प्रकट गर्दछन् ।
साउन महिना आरम्भ भएपछि छाङछाङदीमा थप रौनक बढ्दै जान्छ । साउनलाई भगवान् शिवको पवित्र महिना मानिन्छ । साउने सङ्क्रान्तिका दिनबाटै यहाँ हजारौँ भक्तहरू पूजाका निम्ति आउँछन् । यस महिनाका हरेक सोमबारका दिनलाई विशेष मानिन्छ । कुनै वर्षहरूमा पाँचवटासम्म सोमबारहरू पर्दछन् । साउनका यी सोमबारका दिनहरूमा मानिसहरू व्रत बस्नुका साथै १०८ पिपलमा जलधारा गर्दै स्नान गरी आफूलाई पवित्र, शान्त र सद्गुणी अनुभव गर्दछन् ।
भदौ महिनामा पर्ने कृष्णजन्माष्टमीका दिन यहाँ मेला लाग्दछ । यहाँको मन्दिर परिसरमा अवस्थित राधाकृष्णको मन्दिरमा घुइँचो लाग्दछ । भदौ महिनामै पर्ने तीजलाई विशेष दिनका रूपमा लिइन्छ । यो दिन हजारौँ सङ्ख्यामा नारीहरू निराहार व्रत बसी आफ्नो आकाङ्क्षा पूरा गर्न यहाँ आउँछन् । धेरैजसो कात्तिक महिनामा पर्ने हरिबोधिनी एकादशीमा यहाँ भव्य मेला लाग्दछ, यो दिन श्रद्धालु भक्तजनहरूले यहाँ पूजाआजा गर्दछन् ।
छाङछाङदीमा लाग्ने मेलाहरूमध्ये शिवरात्रिपछिको दोस्रो महत्त्वपूर्ण मेला बालाचतुर्दशी हो । यो धार्मिक उत्सवको दिन प्रायः मङ्सिर महिनामा पर्दछ । यो दिन स्वदेश र विदेशबाट भक्तजनहरूको ओइरो लाग्दछ । आफ्ना पितृहरूको उद्धारका निम्ति सत्बीज छर्ने परम्परा रहेको छ । मानिसहरूले यहाँको मन्दिर क्षेत्रभित्र सत्बीज छरी पितृ उद्धार गर्दछन् ।
माघ महिनाको पहिलो दिन लाग्ने माघे सङ्क्रान्ति मेला यस धामको अर्को विशेषता हो । यो दिन यहाँ भव्य रूपमा मेला लाग्दछ । टाढा टाढाबाट मानिसहरू आएर भजनकीर्तन, पूजाआजा गर्दछन् ।
छाङ्छाङ्दीमा हरेक एकादशीका दिन श्रद्धालुभक्तजनहरू आएर पूजाआराधना गर्दछन् । यसैगरी ग्रहण लागेको बेला यहाँ आएर नुहाउने, दान गर्ने तथा आफूलाई पवित्र र पुण्य बनाउने चलन छ । विवाह तथा व्रतबन्धजस्ता संस्कारहरू पनि यहाँ गरिन्छन् ।
छाङछाङदी एक पवित्र तीर्थस्थल हो, जहाँ भगवान् शिवका अनेक स्वरूपहरूमध्ये शान्त स्वरूप विराजमान भएको विश्वास गरिन्छ । नेपालका धार्मिक क्षेत्रहरूमध्ये यो पनि एउटा मुख्य स्थलका रूपमा पर्दछ । मन्दिरक्षेत्रको विकास र संवर्द्धनका निम्ति भीरकोट नगरपालिका र स्थानीय व्यक्तिहरूको सहकार्य आवश्यक रहन्छ । यसका निम्ति गुरुयोजना बनाएर एकीकृत रूपमा कार्य गर्ने लक्ष्य लिइएको छ ।
भीरकोट बडामौलाकालिका

कुनै समयमा भीरकोट बडामौलाकालिका समस्त भीरकोटकै ऐतिहासिक तथा राजनीतिक र सामरिक दृष्टिले महत्त्वपूर्ण मन्दिर थियो ।
भीरकोट बडामौलाकालिका मन्दिर सिद्धार्थ राजमार्गको बयरघारी बजारदेखि ९ किलोमिटर दूरीमा पूर्वतर्फको डाँडामा अवस्थित छ । सामुद्रिक सतहदेखि ११०० मिटरको उचाइमा रहेको यो मन्दिरक्षेत्र प्राकृतिक हिसाबले पनि अत्यन्त रमणीय छ । यहाँबाट उत्तरतिरका अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका मनोरम हिमशृङ्खलाहरू देख्न सकिन्छ । साथै आँधीखोला उपत्यकासहित पर परसम्म पहाडी शृङ्खलाहरू पनि यस क्षेत्रबाट देख्न सकिन्छ ।
नेपालका शाहवंशीय राजाका पुर्खा सूर्यखानले यो मन्दिरको स्थापना गरेका हुन् । वि.सं. १४७५ सालतिर यो मन्दिरको स्थापना गरिएको हो । यस बडामौलाकालिका मन्दिरको पूर्वतर्फ तत्कालीन भीरकोटे राजाको राजदरबारको भग्नावशेष अद्यापि छँदै छ । मन्दिरको पश्चिमतर्फ बटुक भैरवको मन्दिर रहेको छ ।
यो मन्दिर भीरकोटका अन्य मन्दिरहरूको तुलनामा पृथक् शैलीमा निर्माण गरिएको छ । पहिले ढुङ्गा, माटो र काठद्वारा निर्मित मन्दिरको पुनर्निर्माण गर्दा आधुनिक निर्माण सामग्रीको प्रयोग गरिएको छ ।
यो मन्दिर दक्षिणतर्फ फर्किएको छ । दक्षिणतिरकै दोस्रो खण्डमा मौलो गाडिएको छ । तत्कालीन भीरकोटका अन्य मौजाहरूमध्ये यो मौजा सबैभन्दा मुख्य भएकाले यसलाई बडामौजा पनि भनिन्छ । त्यतिबेलाका भीरकोट राज्यभित्र पर्ने विभिन्न मौजाहरू यहाँबाट शासित थिए ।
यो मन्दिरभित्र विभिन्न अस्त्रशस्त्रहरू भण्डारण गरिन्थ्यो । अहिले पनि केही अस्त्रहरू देख्न सकिन्छ, तीमध्ये त्यहाँ एउटा तरबार छ । त्यो तरबार निकै पहिलेदेखि रहँदै आएको विश्वास गरिन्छ ।
यस मन्दिरमा बडादसैँको नवमी तिथिमा निकै भव्यताका साथ पूजाआजा गरिन्छ । प्रायः शक्तिपीठहरूमा नवमीका दिन पूजा गरिँदैन । तर यसअन्तर्गतका समस्त मौजाहरूमा पूजा गरिनुको मुख्य कारण ऐतिहासिक सन्दर्भ जोडिन आउँछ ।
पहिले पहिले साना साना राज्यहरूबीच बारम्बार लडाइँ भइरहन्थ्यो । एउटा बलियो राज्यले अर्को कमजोर राज्यसँग साना साना विषयलाई निहुँ बनाएर झगडा गरिरहन्थे । लडाइँ हुन्थ्यो । यसै क्रममा भीरकोटको पनि आसपासका राज्यसँग झगडा पर्यो र लडाइँ भइरह्यो । दसैँ सुरु भइसक्यो तर लडाइँ सकिएन । अन्ततः अष्टमीका दिन बल्ल लडाइँ सकियो । त्यही बेलादेखि नै राजाले नवमीका दिन पनि पूजाआजा गर्ने प्रचलन ल्याएका हुन् भन्ने ऐतिहासिक किंवदन्ती रहेको छ ।
यस मन्दिरमा घटस्थापनाको दिनदेखि दशमीका दिनसम्म भव्य रूपमा पूजाआजा गरिन्छ ।
यस मन्दिरमा तीन प्रकारका पुजारीहरू रहेका छन् । यहाँ बाहुनले सङ्कल्प भन्दछन् । अधिकारी क्षत्रीले पूजाआजाका सामानहरू समाउने गर्दछन् । पूजाआजामा सघाउने र पूजा गर्ने काम त्यहाँका सारु मगरहरूले गर्दछन् ।
मन्दिर तीनतले छ । यसको सबैभन्दा माथिल्लो तलाको उत्तरतर्फको कोठामा घटस्थापनाको दिन एउटा घडालाई विभिन्न रङहरूले सिँगारिन्छ । उक्त घडाको मुखमा तामाको पालामा बत्ती बालेर राखिन्छ । यो बत्ती दशमीका दिनसम्म अर्थात् फूलपाती विसर्जन नहुँदासम्म दिनरात बालेर राख्ने चलन छ । यो बत्तीको रेखदेख मगर पुजारीहरूले गर्दछन् ।
बडादसैँका अतिरिक्त यो मन्दिरमा चैतेदसैँको नवमी तिथिमा पनि विशेष पूजाआजा गरिन्छ । यहाँ औँसी, एकादशी र चौथी तिथिबाहेक अन्य दिनहरूमा नित्य पूजाआजा गरिन्छ । भीरकोट बडामौलाकालिका मन्दिरमा गरिने यस प्रकारका सम्पूर्ण पूजाविधिहरू यसअन्तर्गत मौजामा रहेका मौलाकालिकाका मन्दिरहरूमा पनि गरिन्छ । भीरकोटे राजाका पालादेखि गरिँदै आएको पूजा अद्यापि जस्ताको तस्तै तरिकाबाट सञ्चालन हुँदै आएको छ ।
मन्दिर सञ्चालनका लागि तत्कालीन राजाहरूले गुठीको व्यवस्था गरेका थिए, जसअन्तर्गत ठाउँ ठाउँमा मुरीका मुरी आउने धानखेत हुन्थ्यो । हाल ती खेतहरू व्यक्तिले कब्जा गरिसकेका छन् । राज्यले त्यस्ता परम्परागत गुठीहरूको सोधखोज गरी उचित व्यवस्थापन गर्नुपर्छ ।
मुल्काबाराही देवी

मुल्काबाराही मन्दिर भीरकोट नगरपालिका वडा नं. ३ बानेथोक देउरालीअन्तर्गत वास्तारामा पर्दछ । यो मन्दिर सिद्धार्थ राजमार्गको बयरघारी बजारबाट पूर्वतर्फ १४ किलोमिटरको दूरीमा अवस्थित छ । समुद्र सतहदेखि यो मन्दिरको उचाइ ८५० मिटर रहेको छ ।
‘मूलका" र "बाराही" शब्दको शाब्दिक अर्थ पानीको मुहान वा उत्पत्तिस्थानमा विराजमान देवी भन्ने हुन्छ । यसरी "मूलका" "बाराही" शब्द अपभ्रंश भएर मुल्काबाराही बनेको हो । यहाँ अटुट रूपमा बगिरहने पानीको विशाल मूल रहेको छ । यही "मूल"बाटै मुल्काबाराही नामकरण गरिएको हो । स्थानीयहरू यही मूललाई ज्याग्दीखोलाको मुहान पनि मान्दछन् ।
यो मन्दिरको स्थापना वि.सं. १९६० सालतिर प्युठानबाट बसाइँ सरी आएका खत्रीहरूले गरेका हुन् । पछिल्लो समयमा भने त्यस क्षेत्रमा बसोबास गर्ने स्थानीयहरूकै पहलमा भव्य मन्दिर निर्माण गरिएको छ । यस मन्दिर परिसरमा दुईओटा आकर्षक तलाउहरू निर्माण गरिएका छन् । यसैगरी एक सय आठओटा गौमुखे धारा, दुईओटा गेट र प्रतीक्षालय पनि निर्माण गरी मन्दिरलाई भव्य रूपमा सजाइएको छ ।
‘मुल्काबाराही’ मन्दिरमा चैतेदसैँका अष्टमीका दिन भव्य मेला लाग्दछ । यस समयमा निकै टाढा टाढाका श्रद्धालु भक्तजनहरू आफ्नो आस्था प्रकट गर्न मन्दिरमा आउने गर्छन् । विशेषगरी यहाँ बोली नफुटेका र भकभकाउने साना बालबालिकाहरूको बोली स्पष्ट होस् भनेर भाकल गर्ने चलन छ ।
यस देवीको भाकल गरेमा ती बालबालिकाहरूको वाक्य फुट्ने र भकभकाउन छोड्ने आम जनमानसको विश्वास रहँदै आएको छ । कहिलेकाहीँका वर्षहरूमा खडेरी लागेका बेला मुल्काबाराही देवीसँग पानी माग्न आउने प्रचलन रहेको छ । यहाँ श्रावण एकादशी र औँसी तिथिमा पशुबलि दिइँदैन । यसबाहेकका अन्य जुनसुकै तिथिहरूमा पशुबलिसहित पूजाआजा गरिन्छ । बलिका रूपमा यहाँ बाख्राका पाठा र पाठी देवीलाई चढाइन्छ । यहाँ परेवा पनि उडाइन्छ ।
मन्दिरको भित्री भागमा ठूलो ताल रहेको विश्वास गरिन्छ । यस मन्दिर रहेको ठीक तल सानो तलाउ निर्माण गरिएको छ । यहाँ बाराहीका दुईओटा मुखहरू छन् । तिनै मुखहरूबाट तलाउमा पानी बगिरहन्छ । यो मन्दिरको मुख्य विशेषता भनेकै तलाउमा देखिने विभिन्न थरीका वाम माछाहरू हुन् । यहाँ रजवाम र तारेवामजस्ता वाम माछाहरू देखिन्छन् । जब पूजा सुरु हुन्छ, तब भित्रपट्टि रहेका ती वामहरू तलाउमा देखिन थाल्छन् ।
यो मन्दिर मानव आस्थाको धरोहर हो । प्रचारप्रसार र उचित संरक्षणको अभावका कारण यो मन्दिर ओझेलमा परेको छ । यस्ता धार्मिक सम्पदाहरूको संरक्षण र संवर्द्धन गर्नु हामी सबैको दायित्व हो ।
स्वरेक भैरवकालिका मन्दिर

हामीलाई हाम्रा प्रधानाध्यापकज्यूले स्वरेकस्थित भैरवकालिका र त्यहाँ रहेका अन्य देवीदेवताहरूको अवलोकन भ्रमणमा लिएर जाने योजना बनाउनुभयो । हामी असाध्यै खुसी भयौँ । हाम्रो कक्षाका पच्चिस जना छात्रछात्राहरू त्यहाँ पुग्ने दिन कहिले आउला भनेर तीव्र प्रतीक्षामा रह्यौँ ।
नभन्दै त्यो दिन आयो । हामीलाई मोटरको व्यवस्था गरियो । हामी मोटरमा चढेर भैरवकालिका मन्दिरको प्राङ्गणमा पुग्यौँ ।
मन्दिरको अग्र भागमा ठूलो द्वार बनाइएको रहेछ । हामी त्यहाँबाट भित्र पस्यौँ । आहा ! कति राम्रा चिटिक्क परेका स–साना मन्दिरहरू । त्यहाँ कालिका, भैरव, देवी, चण्डीथान र बज्जरे गरी पाँच प्रकारका मन्दिरहरू रहेछन् ।
त्यहाँ भएकामध्ये चारओटा मन्दिरहरू जमिनमाथि थिए तर भैरवको स्थान भने जमिनमुनि थियो । त्यहाँ कुनै छत थिएन । खुला थियो । चारैतिर खाडल खनिएको र ओर्लनका लागि केही सिँढीहरू थिए । यो स्थानमा रहेको भैरवलाई देखेर हामी आश्चर्यचकित भयौँ । त्यतिमात्र होइन, भैरवको एक छेउमा चर्किएको अवस्थामा देख्न सकिन्थ्यो । हामीले प्रधानाध्यापकज्यूसँग जिज्ञासा राख्यौँ । उहाँले हाम्रो जिज्ञासालाई शान्त पार्न त्यहाँका ‘सेन’ थरका पुजारीलाई अनुरोध गर्नुभयो । पुजारीले यसका बारेमा वर्णन गर्न थाल्नुभयो–
बाबुनानीहरू हो ! चौबिसे राजाका पालामा भीरकोट आफैमा एउटा स्वतन्त्र राज्य थियो । भीरकोटभित्र आफ्ना प्रजाहरूको हितमा यहाँका राजाहरू समर्पित भएर शासन गर्दथे ।
चौबिसे राजाको पालामा पेखुबाट काला भैरव उडेर यो स्थानमा आएछन् । गह्रौँसुरका राजाले यो कुरा थाहा पाएपछि काला भैरवलाई लिन भनी आएछन् । भैरवले भनेछन्, “म यति रमाइलो र अग्लो डाँडाको थुम्कोलाई रोजेर आएको छु । म अब त्यहाँ जान्नँ ।”
मन्दिरको तल पश्चिम दिशामा धारापानी नामको पानीको धारो छ । भैरवलाई प्रसन्न बनाउन राजाले सुनको करुवामा धारापानीको पानी लगेर भैरवको शिर नुहाइदिएछन् । फूलपाती, अक्षता चढाई धूपधुँवार गरेछन् । राजाले आफ्ना भारदारहरूलाई भनेछन्, “यी भैरवलाई हामीले जसरी पनि लैजानैपर्छ । कुनै युक्ति निकाल्नुपर्यो ।”
भारदारहरूले मानिसहरू लगाएर खन्न थालेछन् । तर कस्तो अचम्म ! जति जति खन्दै गयो, उति उति भैरव झन् झन् भासिँदै गएछन् । यो देखेर राजा आफैले भैरव रहेको वरिपरि खन्न थालेछन् ।
खन्दा खन्दा राजा पसिनाले निथ्रुक्क भिजेछन् । जति प्रयास गरे पनि भैरव बसेको पिँध भेटाउन सकेनछन् रे ! त्यो दिन राजा आफ्नो दरबार फर्केछन् ।
भोलिपल्ट केही भारदारहरूका साथ घोडा चढेर राजा उक्त भैरव रहेको स्थानमा पुगेछन् । कस्तो अचम्म ! हिजो खनिएको खाल्डो पुरिएको थियो । त्यहाँ खनेको जस्तो डोबसम्म मात्र पनि थिएन । भैरव हिजोजस्तै गजधुम्म परेर हाँसिरहेका थिए ।
यो दृश्यले राजालाई चकित बनाएछ । राजाले आफूलाई भैरवले चुनौती दिएको ठानेछन् र पुनः आफैले धमाधम खन्न थालेछन् ।
राजाले जति जति खन्दै जान्थे, उति उति भैरव भासिँदै जान थालेछन् । केही सिप नलागेर असिनपसिन भएका राजाले भनेछन् “ए वीरे, त्यो घन ल्याऊ त ।”
वीरेले राजालाई घन दिएछ । एकातिर रिस र अर्कोतिर पसिनाले निथ्रुक्क भिजेका राजाले घनले भैरवलाई ड्यामड्याम्ती पिट्न थालेछन् ।
राजाले भैरवलाई घनले जति नै पिटे पनि भैरव टसको मस गरेनछन् । अन्त्यमा राजाले न्वारानदेखिको बल लगाएर भैरवलाई प्रहार गरेछन् । राजाको त्यो प्रहारले भने भैरवको पूर्वपट्टिको भागमा चोट पुगेछ ।
त्यसपछि राजाले रिसाएर भैरवलाई साक्षी राख्दै उर्दी जारी गरेछन्, “हे भैरव ! मैले तिमीलाई मेरो नजिकै राख्न खोजेँ । मेरै शिरमा राखेर पुज्न खोजेँ । तिमीलाई इष्टदेव मानेर आफ्नो आस्था प्रकट गरेँ । तर तिमी मेरो नजिक जान मानेनौ । म बाँचुन्जेल अबदेखि यहाँ कहिल्यै आउने छैन । यहीँमुनि रहेको धारापानीको पानी पनि कहिल्यै खाने छैन ।”
राजा त्यहाँबाट हिँडेछन् । त्यसपछि उनी त्यहाँ कहिल्यै गएनछन् ।
त्यस दिनपछि हालसम्म पनि गह्रौँसुरका राजाका सन्तानले धारापानीको पानी खाँदैनन् भन्ने जनश्रुति कायमै छ ।
(‘‘हाम्रो भीरकोट" स्थानीय पाठ्यपुस्तकबाट)