नेभिगेशन
समाज

युगमाया : समावेशी समाजको आवाज

हँसिलो चेहरा, फरासिलो बोली वचन अनि समय सापेक्ष राजनितीक र सामाजिक चेतनाले भरिनु भएकी युगमाया पङ्गेनी अर्थात् जनप्रतिनिधिहरूकी माइली दिदी। वालिङ नगरपालिकालाई देशकै नमुना नगरपालिका बनाउनुपर्छ अर्थात् वाहा वालिङ! बनाउनुपर्छ भन्ने सपना बोक्नुभएका निवर्तमान नगर प्रमुख दिलिपप्रताप खाँणको नेतृत्वको स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिको रूपमा २०७४ मा  जिम्मेवारी सम्हाल्दा सुरू सुरूमा  उहाँलाई जनप्रतिनिधिको भूमिका खासै थाह नै थिएन। तर अहिले उहाँले स्थानीय जनप्रतिनिधिका मात्रै नभएर सरकारका जिम्मेवारी र योजना निर्माणका बारेमा समेत पर्याप्त जानकारी हाँसिल गरिसक्नुभएको छ। दोस्रो पटक २०७९ मा निर्वाचित भएपछि उहाँ एउटा परिपक्व जनप्रतिनिधि बन्नुभएको छ।

गुलाबी शहर र स्मार्ट सिटीको पहिचान बनाउँदै गरेको वालिङमा करिब ३० जना महिला जनप्रतिनिधिहरू हुनुहुन्छ। वडा नं ८ को वडा सदस्य, कार्यापालिका सदस्य र सामाजिक विकास समितिको संयोजकको जिम्मेवारी सम्हालिरहनु भएकी  उहाँ आफ्नो अनुभव र आत्मविश्वासका कारण   जनप्रतिनिधिहरूको भिडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भैसक्नुभएको छ।

विद्यार्थी जीवनमै  २०४५/४६ सालमै नेपाल विद्यार्थी संघको राजनीति गर्नुभएकी  उहाँ पारिवारिक समस्या र जिम्मेवारीका कारण २०६२ साल सम्म खुलेर सक्रिय राजनीति गर्न पाउनु भएन । २०६२/६३ को जन आन्दोलन पश्चात् उहाँको राजनीतिक यात्रा अविराम तरिकाले अगाडि बढीरहेको छ। २०४६ सालमै एसएलसी पास गर्नुभएकी उहाँ केही समय तत्कालिन सनराइज अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा शिक्षिकाको रूपमा समेत काम गर्नुभएको थियो।

वालिङको प्रतिष्ठित सहकारी उपकार सहकारीमा ९ वर्षसम्म संचालक समितिमा रहेर काम गर्नुभयो।  वालिङ उद्योग वाणिज्य संघमा महिला उद्यमीको सचिवको रूपमा प्रवेश गर्नुभएकी उहाँ उपाध्यक्ष पदमा  निर्वाचित हुनुभयो। दुइवटा प्रतिष्ठित संस्थासँगको आवद्धताले उहाँलाई समाजमा अझै परिचित र आत्मविश्वासी बनायो। जनताले पत्याउने गरि काम गर्नुभयो। २०७४  र २०७९ मा दुई पटक वडा सदस्यको रूपमा  निर्वाचित हुनुभयो । सुरूमा जनप्रतिनिधि हुँदा निवर्तमान नगर प्रमुख खाँणको राजनितीक , व्यवस्थापकीय र प्रशासकीय क्षमताबाट प्रभावित उहाँमा पनि त्यस्तै शैली र आत्मविश्वास भरिएको छ। 

२०७४ मा निर्वाचित हुँदा उहाँलाई सुरूमा  स्थानीय सरकारमा जनप्रतिनिधिको जिम्मेवारी र नेतृत्व विकासका के कस्ता  अवसरहरू हुन्छ्न् भन्ने केही थाह थिएन। वालिङले उहाँलाई अवसरै अवसर दियो। सामाजिक विकास समितिको संयोजकको जिम्मेवारी पाउनुभयो। त्यसपछि सरकारका काम, कर्तव्य अधिकार, योजना तर्जुमा  र स्थानीय सरकार संचालन ऐनको बारेमा जानकार बन्नुभयो। पहिलो कार्यकालमै द यसिया फाउन्डेसनको प्राविधिक सहयोगमा दलित महिला केन्द्र नेपालले दलित महिलाहरूको उत्थानका लागि अझ धेरै तालिम र अवसरहरू सहित वालिङ नगरपालिकासँग सहकार्य गर्न थाल्यो। तर युग अनुसार परिवर्तन , महिला शसक्तिकरण र विभेद अन्त्य हुन सबै जातजातिका महिलाहरूलाई सचेत र जिम्मेवार बनाइनुपर्छ भन्ने लाग्यो उहाँलाई। यो आवाज उहाँले यति बुलन्द तरिकाले राख्नुभयो कि  द यसिया फाउन्डेसन अन्तर्गत काम गरिरहेको दलित महिला केन्द्र नेपाल (CDWN) ले कार्यक्रमको मोडालिटी नै परिवर्तन गरि सबै महिला जनप्रतिनिधिलाई समावेश गरेर महिला शसक्तिकरण र नेतृत्व विकासका कार्यक्रमहरू संचालन गर्न थाल्यो।

दलित महिला केन्द्र नेपालले उहाँहरूको  क्षमता र नेतृत्व विकासका कार्यक्रमहरू  निरन्तर संचालन गरिरहेको छ। अहिले वालिङ नगरपालिकाका महिला जनप्रतिनिधिहरूको आत्मविश्वास र कार्यक्षमता प्रसंशायोग्य छ। उहाँहरू आफ्ना विचार , योजना र समस्या समाधानका विकल्पहरूलाई ढुक्कसँग प्रस्तुत गर्न सक्नुहुन्छ। स्थानीय सरकार र दलित महिला केन्द्र नेपालले दिएका तालिम र  अवसरले युगमायालाई यति धेरै आत्मविश्वास बढेको छ कि अवसर पाउने हो भने वडा र नगर चलाउन सक्छु भन्ने विश्वास छ।

समावेशीकरण र सामाजिक न्यायको विषयलाई सदैव आत्मसाथ गर्ने उहाँ अहिले पनि सामाजिक विकास समितिको संयोजक हुनुहुन्छ। शिक्षा, स्वास्थ्य, खानेपानी , तालिम, प्रशिक्षण, महिला शसक्तिकरण जस्ता विषयमा उहाँको समितिले काम गर्छ। उहाँले महिलाका लागि मात्रै दिइने नेतृत्व एवं क्षमता  विकासका तालिममा समेत पुरूष जनप्रतिनिधिहरूलाई समावेश गरेर अगाडि बढ्नुभएको छ। महिला र पुरूष दुवै शसक्त र जिम्मेवार नभएसम्म राजनीति र समाज दुवै परिवर्तन हुँदैन भन्ने उहाँको बुझाई छ। 

परिवारका अभिभावकहरूमा राजनीतिक चेतना भएकै कारण उहाँ चुलोचौकोमा मात्रै सिमित हुनुपरेन। परिवारले राजनीति गतिविधिमा सहभागी हुन हौसला र साथ दिएपछि समाजले पनि २ पटकसम्म उहाँलाई विश्वास गर्‍यो। पुरूष प्रधान समाज र चेतना कारण  जनप्रतिनिधि महिला जनप्रतिनिधि आरक्षणबाट आएका हुन केही गर्न सक्दैनन् भनेर हेप्ने पुरूष जनप्रतिनिधिहरूका अगाडि अहिले वालिङका महिला जनप्रतिनिधि के चाहिँ गर्न सक्दैनन् भनेर  प्रश्न गर्न सक्ने भएका छन् भन्ने लाग्छ उहाँलाई। 

धेरै जसो पालिकामा महिलाहरू कार्यपालिका  बैठक र निर्णयका साक्षी मात्रै बन्छन् । न सहमति जनाउँछ्न न त विरोध नै । तर वालिङमा भने फरक छ। युगमायाले जस्तै सबै कार्यापालिका सदस्य र वडा सदस्यहरूले समेत निर्धक्क भएर बहस र छ्लफल गर्नुहुन्छ। कार्यपालिका सदस्य समेत रहनुभएकी युगमायाले कार्यपालिका बैठकमा आफ्ना विचार, योजना र कार्यक्रम ढुक्कका साथ राख्नुहुन्छ। उहाँ भन्नुहुन्छ ,"नगर कार्यपालिकाको बैठकमा आफ्ना कुराहरू निर्धक्कका साथ राख्न सक्छु।अनुभव र परिपक्वताले गर्दा मलाई आफ्ना विषयवस्तु राख्न कुनै हिचकिचावट छैन।"

राजनीतिक र सामाजिक जीवनमा सक्रिय हुन आँट, धैर्य, इमान्दारिता  आत्मविश्वास र परिवारको साथ चाहिन्छ भन्ने कुरा उहाँले राम्रोसँग बुझ्नुभएको छ। राजनीति गर्न चाहने वा जनप्रतिनिधि बन्न चाहने महिलाहरूले समाजसँगसँगै प्रचलित ऐन, नियम कानुन अध्ययन गर्नुपर्ने उहाँको बुझाई छ। स्थानीय सरकारमा जनप्रतिनिधि बन्न चाहनेहरूलाई उहाँले सबैभन्दा पहिला स्थानीय सरकार संचालन ऐन २०७४ पढ्न सुझाउनुहुन्छ। अग्रज जनप्रतिनिधिसँग अनुभव आदानप्रदान  र अध्ययन हुने हो स्थानीय सरकार र महिला जनप्रतिनिधि सफल हुने उहाँको विश्वास छ। स्थानीय सरकारले बनाएका ऐन, नियम र कार्यविधिको समेत  निरन्तर अध्ययन गर्ने उहाँले पटकपटक वडा नं ८ को कार्यबहाक वडा अध्यक्षको जिम्मेवारी समेत पाउनुभएको छ।

५२ वर्षीय युगमायाको जोस, जाँगर र आत्मविश्वास हेर्दा अरू महिलाहरूलाई समेत जनप्रतिनिधि बन्दा साच्चिकै क्षमता र नेतृत्व विकास हुँदो रैछ भन्ने लाग्छ। घर, परिवारको विश्वास जितेर अधिकारका लागि महिलाहरू अगाडि बढ्ने हो भने समाजले पनि साथ दिने उहाँको बुझाई छ। महिला, पुरूष, दलित गैरदलित भनेर विभेद नगरिकन समावेशी तरिकाले समाज र राजनीति अगाडि बढाउनु पर्छ भन्ने उहाँको सोचाइ र व्यवहारले उहाँलाई र समाजलाई समेत सफल बनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्