स्याङ्जा जिल्ला भीरकोट नगरपालिका-७ मा प्रधान कार्यालय रहेको खुमा अर्याल फाउन्डेसन  २०७५ साल मंसिर ५ गतेको दिन स्थापना भएको थियो।   सफल व्यवसायी एवं समाजसेवी व्यक्तित्व  खुमा प्रसाद अर्यालको नाममा स्थापित यो संस्थाले मुलतः शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा काम गरिरहेको छ। स्याङ्जा जिल्लालाई मुख्य कार्यक्षेत्र बनाएर काम गरिरहेको यो संस्थाले स्थापनाको ७ औं वर्ष पार गरिसकेको छ। 
बिहिबार स्याङ्जा सदरमुकाम पुतलीबजारमा ७ औं साधारणसभा सम्पन्न गरेको फाउण्डेसनले संस्थागत प्रतिवेदन पुस्तिका मार्फत हालसम्मका महत्त्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ।  
संस्थाले सार्वजनिक गरेको प्रतिवेदनका आधारमा संस्थाले हालसम्म गरेका ७ महत्त्वपूर्ण कार्यहरू:
१)पुतलीबजार नगरपालिकाका शिशु निकेतन मा.वि, काजिमान हरिटिका मा.वि.,शितला मा.वि.,सरस्वती मा.वि., कालिका मा.वि. लगायतका विद्यालयमा डेङ्गु ज्वरो सम्बन्धि सचेतना कार्यक्रम संचालन। (२०७६)
२) नेपाल रेडक्रस सोसाइटी स्याङ्जासँगको सहकार्यमा पुतलीबजार नगरपालिका वडा नं १३ मा विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर संचालन, ५ सय २४ बिरामी लाभान्वित । (२०७६)
३)कोभिड १९ को समय देखिएको खाद्यान्न अभावको समस्या समाधानका लागि स्याङ्जाको वालिङ, चापाकोट, भीरकोट नगरपालिकामा ४.५ टनका दरले कोभिड राहत कोषमा करिब  ७ लाख ४३ हजार मूल्य बराबरको १४ टन सावा मनसुली चामल हस्तान्तरण (२०७७)
४) कोभिड १९ संक्रमणको समयमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र प्रहरीलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई ७० थान पिपिइ, १०० थान के.एन ९५ मास्क, २५ लिटर हाइपोकोरोराइड सोलुसन गरी ३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण । (२०७७)
५) कोभिड १९ बाट प्रभावित डडेल्धुराबासीको उपचारका लागि डडेल्धुरा अस्पताललाई १३ लाख ४० हजार मूल्य बराबरको ५० थान अक्सिजन ग्यास सहितका सिलिन्डर हस्तान्तरण । (२०७८)
६) संस्था स्थापना दिवसको अवसरमा भीरकोट नगरपालिका वडा नं ७ मा खुल्ला रक्तदान, विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविर र स्याङ्जाका कृकेट खेलाडीलाई सम्मान गरिएको थियो। जसबाट ४१ पोइन्ट रगत संकलन, ६ सय ६६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो।  कार्यक्रममा यु १९ टी २० विश्वकप प्रतियोगिताका विजेता खेलाडी कुसुम गोदार, ज्योत्सिका मरासिनी र सिमाना के.सी. लाई  प्रतिव्यक्ति १ लाख नगद पुरस्कार सहित सम्मान गरिएको । (२०८१)
७)अन्तर्राष्ट्रिय अण्डा दिवसको अवसरमा जिल्लाका ७ वटा पालिकाका ६३ सामुदायिक विद्यालयमा ३ लाख मूल्य बराबरको १६ हजार अण्डा वितरण । (२०८२)
कार्यक्रममा फाउण्डेसनका संस्थापक परिवारका  खुमा अर्याल, डा. लुना अर्याल, फाउण्डेसनका पदाधिकारी, पुतलीबजार, वालिङ, चापाकोट र अर्जुनचौपारी गाउँपालिकाका जनप्रतिनिधि र जिल्लामा क्रियाशिल पत्रकारहरूको सहभागिता रहेको थियो। चाडपर्वको शुभकामना आदानप्रदान एवं अन्तरक्रिया समेत गरिएको कार्यक्रममा प्रमुख अतिथी एवं व्यवसायी  खुमा अर्याल र फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माले संस्थाको नारा अनुरूप शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर संस्थाका गतिविधि ११ वटै पालिकामा विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।