नेभिगेशन
समाज

परिवर्तनका लागि सक्रिय हुँदै  चेन्ज मेकर्स क्लब

विद्यालयमा अध्ययनरत बालबालिकाहरूको सर्वाङ्गीण विकास,  र  समाजको हितका लागि अर्जुनचौपारी गाउँपालिकाले पालिका अन्तर्गतका सबै विद्यालयमा चेन्ज मेकर्स क्लब गठन गरेको छ। उक्त क्लबहरूले विद्यालय स्तरीय र पालिकास्तरीय गतिविधि सक्रिय रूपमा  गर्न  थालेका छन्।

गाउँपालिकामा रहेका विभिन्न विद्यालयका चेन्ज मेकर क्लबहरूले कार्तिक २१ गते  शुक्रवार सामूहिक रूपमा विभिन्न सार्वजनिक  स्थानहरूको  सरसफाइ तथा व्यवहारिक सिकाइ कार्यक्रम सम्पन्न गरेका छन्। गाउँपालिकाका ६ वटा वडामा रहेका २ आधारभूत, ६ माध्यमिक सामुदायिक तथा १ माध्यमिक संस्थागत विद्यालयका क्लबहरूले एकैदिन आ–आफ्नो विद्यालय र समुदायमा सकारात्मक गतिविधि सञ्चालन गरेका हुन्।

वडा नं. १ अन्तर्गत रहेको पञ्चकन्या माध्यमिक विद्यालयको चेन्ज मेकर क्लबले विद्यालय परिसर, पालिकाको खेलमैदान, र अर्जुनचौपारी स्वास्थ्यचौकीमा विज्ञान विषयसँग सम्बन्धित ब्लड ग्रुप परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। त्यस्तै, सोही वडामा रहेको संस्थागत विद्यालय अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीको क्लबले विद्यालय परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ।

वडा नं. २ मा अवस्थित अमर ज्योति माध्यमिक विद्यालयको चेन्ज मेकर क्लबले बालबालिकाको व्यवहारकुशल सीप विकास तथा व्यक्तिगत सरसफाइमा आधारित व्यवहारिक सिकाइ कार्यक्रम सम्पन्न गरेको छ।

वडा नं. ३ मा रहेको श्री सरस्वती आधारभूत विद्यालयको क्लबले विद्यालय परिसर, ट्यांकी तथा नजिकैको मन्दिर क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरेको छ।

वडा नं. ४ अन्तर्गत जन माध्यमिक विद्यालयले एकानन्द गुफा जाने गोरेटो बाटो र गुफा परिसरमा सरसफाइ अभियान सञ्चालन गरेको छ।

वडा नं. ५ मा रहेका सर्वोदय माध्यमिक विद्यालय, श्री घण्टे माध्यमिक विद्यालय, र  बुद्ध आधारभूत विद्यालयका चेन्ज मेकर क्लबहरूले क्रमशः डहरे देउराली मन्दिर जाने बाटो, विद्यालय परिसर, घण्टे बजार र विद्यालयको खानेपानी मुहान, तथा विद्यालय परिसर सरसफाइ कार्य सम्पन्न गरेका छन्।

वडा नं. ६ अन्तर्गतको दरौं माध्यमिक विद्यालयको चेन्ज मेकर क्लबले नेपालकै पहिलो नवग्रह मन्दिर परिसरमा सरसफाइ गर्दै मन्दिरभित्र रहेका पिपलका बिरुवाहरूमा गोडमेल गर्ने कार्य सम्पन्न गरेको छ।

विद्यार्थीहरूमा  सामाजिक उत्तरदायित्व भावना जागृत गराउँदै सामुदायिक सहयोग, र व्यवहारिक सीप विकासमा गराउन चेन्ज मेकर क्लबहरूलाई सक्रिय बनाइएको  अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्