नेभिगेशन
धर्म संस्कृति

सफल भयो नौमती बाजा तालिम : संस्कृति संरक्षण र आय आर्जनमा जुट्दै महिला

स्याङ्जाको भीरकोट नगरपालिकाले वडा नं ६ एकुवारका मगर समुदायका  महिलाहरूलाई दिएको नौमती बाजा तालिम फलदायी बनेको बनेको छ। वडा र नगरको संयुक्त प्रयासबाट दिइएको नौमती बाजा तालिमबाट २२ जना महिलाहरूले  सीप मात्रै सिकेका छैनन् , आय आर्जन गर्न समेत सफल भएका छन्।

तालिम लिएका महिलाहरूले पञ्चेबाजा आमा समूह गठन गरेका छन्। गत आर्थिक वर्षमा वडाले    महिलाहरूलाई तालिम दिन २ लाख   बजेट छुट्याएको थियो। तालिम पश्चात् समुदायका विभिन्न चाडपर्वमा बाजा बजाएर  समुहमार्फत २ लाख रूपैयाँ कमाउन सफल भएको आमा समुहका अध्यक्ष धनमाया थापा मगरले बताउनुभयो। "कमाइको केही अंश बाजा मर्मत संभारका लागि छुट्याएका छौं। अरू रकम समुहका सदस्यलाई दामासायी रूपमा बांँड्दै आएका छौं।" थापाले भन्नुभयो।

नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले मगर  आमा समुहले संस्कृतिको संरक्षणमा देखाएको चासो र प्रयासप्रती सम्मान व्यक्त गर्नुभयो। जनताको जीवनस्तर उकास्न नगरपालिकाले सीप विकास र कृषि क्षेत्रमा जनताको माग र आवश्यकता अनुसार विभिन्न कार्यक्रमहरू संचालन गरिरहेको बताउनुभयो। 

नगर उपप्रमुख भगवती रेग्मी अर्यालले कला, संस्कृति र परम्पराको संरक्षणका लागि महिला दिदिबहिनीको हिम्मतको प्रशंसा गर्दै उहाँहरूको माग अनुसारको लागि नै पुनर्ताजगी तालिम दिएको बताउनुभयो। "महिलासँग उपमेयर कार्यक्रम" मार्फत पुनर्ताजगी तालिम दिइएको बताउँदै उहाँले महिलाहरू सक्षम र उद्यमशील भएकोमा खुशी ब्यक्त गर्नुभयो। 

बाजा बजाउने तालिमको पुनर्ताजगी गर्न र थप सक्षम एवं सिर्जनसिल बनाउन नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सिन्धुली कलाघरका कलाकार मार्फत थप प्रशिक्षण दिएको छ।सिन्धुली कला घरका उपाध्यक्ष पवित्रा रम्तेल र रिता थिङले समुहका सदस्यलाई पुनर्ताजगी तालिम दिनुभएको हो। उपाध्यक्ष रम्तेलले भीरकोट नगरपालिकाले संस्कृति संरक्षण र महिला सशक्तीकरणका लागि गरेको प्रयासको खुलेर प्रशंसा गर्नुभएको थियो।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले मौलिक संस्कृतिको संरक्षणमा आमा समूह र समुदायले देखाएको तत्परताको प्रशंसा गर्नुभयो। सिमित स्रोतको उच्चतम सदुपयोग गरेर आमा समुहले मौलिक संस्कृतिको संरक्षण र आय आर्जनमा जुटेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो।

ब्राह्मण समाज नेपाल, भीरकोटका अध्यक्ष लिलाप्रसाद रेग्मीले तालिम सफल भएर महिलाहरू आय आर्जन गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप धर्म संस्कृति